Breaking

नवप्रवर्तनमा आधारित पाठ्यक्रम आवश्यक : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम आवश्यक रहेको बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको १४औं सभा बैठकमा बोल्दै प्रचण्डले पाठ्यक्रम पुनर्संरचना र भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन् ।
विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलाप पूर्व निर्धारित शैक्षिक पात्रोअनुसार सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने र निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारको सहयोग रहन्छ ।’

उनले क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई परिमार्जन गर्न सुझाव दिए । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका विभिन्न प्रयोगशालाबाट उत्पादित वस्तु, सेवा र सूचनाको बजारीकरण तथा बिक्री वितरणमा आवश्यक पर्ने राष्ट्रिय नीति तथा कानुन निर्माणमा सरकारको पूर्ण सहयोग रहेको बताए ।

प्रचण्डले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्दै देशको समृद्धिमा टेवा पुर्‍याउन मध्यपश्चिम विश्वविद्यालयले थप सकारात्मक भूमिका खेल्नुपर्ने पनि बताए ।