Breaking

सहकारी ठगीमा जीबी र रविजस्तै १० VIP , शक्ति बस्नेतदेखि दिपेश पुनसम्म, वचतकर्ताको बिल्लीबाठ


सहकारी ठगीको मुद्दा अहिले सडकदेखि संसदसम्मै चर्किएको छ । राजनीतिक दलहरुले सहकारी समस्या समाधान र पीडितको पक्षमा नभइ व्यक्तिलक्षित राजनीतिक प्रतिसोधमा उत्रिदा यो समस्याले निकास नभइ झन जटील बन्ने देखिन्छ । किनभने यस्तो ठगीमा चर्चित भनिएकै अनुहार बढी छन् ।


‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ भनि खोलिएका सहकारी संस्थाहरु धमाधम संकटग्रस्ट घोषणा हुन थालेपछि चारखम्बे अर्थतन्त्रको महत्वपूर्ण पीलर भत्किन थालेको छ । सहकारी नेताका घरमा भकारी हुन थालेपछि अहिले वचतकर्ताको बिल्लीबाँठ भएको छ । चर्चित अनुहारदेखि नयाँ भनिएका दलहरुको दैलादैलामै सहकारी र पाइलापाइलामा ठगी देखिन थालेपछि यो विषय राष्ट्रिय मुद्दा नै बन्न पुगेको छ । संसदमा दलहरुले यसलाई सरकार ढाल्ने खेलको कवचका रुपमा प्रयोग गर्दा सडकमा वचतकर्ता भने न्यायाको भिख मागिरहेका छन् । को हुन् सहकारी ठगीमा मुछिएका चर्चित अनुहार ?
१. जीबी राई
देशभरका विभिन्न सहकारीहरू समस्याग्रस्त पारेर फरार गीतेन्द्रबाबु उर्फ जीबी राई नै अहिलेका सबै समस्याको जड देखिएका छन् । गोर्खा मिडिया प्रालिले चलाएको ग्यालेक्सी टीभीका मालिक उनले सहकारीकै रकम अचिलन गरेर टीभीको ग्राण्ड ओपनिङ गराएको खुलेको छ । नेटवर्किङ व्यवसायबाट हात धुनु परेपछि सहकारीको व्यापारमा जोडिएका उनले देशभर करिव एक दर्जन सहकारी खोलेका थिए । काठमाडौंको स्वर्ण लक्ष्मी, पोखराको सूर्य दर्शन, चितवनको सहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम र नेपालगन्जको समानता सहकारीबाट ५० हजार वचतकर्ताको १ अर्बभन्दा बढी रकम दुरुपयोग गरेर फरार छन् ।
२. शक्ति बहादुर बस्नेत
पटक–पटक सत्ताको वरिपरि रहिरहने शक्ति बनाएका शक्ति बस्नेतको पनि जीबी नेतृत्वकै एक सहकारी ठगीमा नाम जोडिएको छ । बस्नेत राई अध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन् । उनीपछि पत्नी सत्य पहाडी र साला पर्ने सूर्यबहादुर गुरुङ क्रमैसँग सहकारीका अध्यक्ष बनेका थिए । उनको नाममा पनि निक्षेपकर्ताको चार करोड रकम फिर्ता नगरेको आरोप छ ।
३. रवि लामिछाने
पुराना नेताको वितृष्णा चिर्न भन्दै विकल्प दिने भनि खोलिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अहिले सबैभन्दा बढी सताएको बिषय नै सहकारी काण्ड हो । राहदानीबारेको मुद्दा महान्यायाधीवक्ताले रोकिदिएर सन्तुष्टि मानेका रविले जीबी अध्यक्ष रहेको ग्यालेक्सी टीभीमा ‘सेकेन्ड म्यान’ भएर काम गरेका थिए । त्यहीबेला जीबीसँग मिलेर सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । जीबी र उनीसहित १८ जनाविरुद्ध गत माघ २२ मा कास्की प्रहरीमा उजुरी परेपनि रवि गृहमन्त्री बनेपछि त्यस विरुद्धको छानविन प्रभावित भएको छ ।
४. डीपी अर्याल
रास्वपाका उपसभापति समेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्याल पनि हाम्रो नयाँ कृषि सहकारी संस्थाका ३६ वचतकर्ताको ४ करोड ९२ लाख रुपैयाँ अपचलनको आरोपमा मुछिएका हुन् । यसमा डिपी मात्रै नभएर रास्वपाकै सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी समेत तानिएका छन् । उनीहरुलाई कारवाही र अनुसन्धान गर्न पीडितले सीआईबीमा उजुरी दिएपछि यो विषय बाहिर आएको हो । सो सहकारीलाई भने संकटग्रस्त घोषणा गरिसएिको छ ।
५. विपिन कुमार आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री रहेका विपिन कुमार आचार्य पनि सहकारी ठगीमा जोडिएका छन् । सुप्रिम सहकारीबाट आचार्यको नाममा एक करोड ५६ लाख र सुर्यदर्शनबाट एक करोड ऋण प्रवाह भएको देखिएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दावी गरेका छन् । उनी पनि रविसँगै ग्यालेक्सी टेलिभिजनमा कार्यरत थिए ।
६. नीकिता पौडेल
गृहमन्त्री रविकी पत्नी नीकिता पनि सहकारीको रकम अपचलनमा तानिएकी छिन् । यसअघि उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा बधबार मात्रै सहकारी विभाग र काठमाडैं महानगरले छापा मारेको छ । लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा छापा मारेको महानगरको टोलीले सफ्टवेयर सिस्टम नै नियन्त्रणमा लिएको छ । बचतकर्ताहरुले सञ्चालक समितिबाटै रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन भन्दै उजुरी दिएका थिए ।
७.इच्छाराज तामाङ
नेकपा एमालेका पूर्व सांस्द समेत रहेका इच्छाराज तामाङ सिभिल बचत तथा ऋण सहकारी संस्थाबाट ७ अर्ब बढी हिनामिना गरेका थिए । हाल भने सम्पत्ति सुद्धिकरणको मुद्दामा दोषी ठहर भइ जेलको हावा खाइरहेका छन् । माघ २१ गते विशेष अदालतले उनलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवानाको सजाय हुने फैसला सुनाएको थियो ।
८. देवकुमार नेपाली
बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका यीनले इमेज बचत तथा ऋण सहकारीको करिब २ अर्ब हिनामिना गरेको अभियोग छ । अभियोग लागेसँगै नेकपा एमालेले उनलाई नगर प्रमुखबाट निलम्बन गरिसकेको छ । पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर ठगी चलाएको प्रहरीको अनुसनधानले देखाएको छ । उनीभने सामाजिक सञ्जालबाट आफूसँग भएका बढेमानका बंगला देखाएर वचतकर्ताको ऋण तिर्ने भन्दै गत जेठदेखि फरार छन् ।
९.दिपेश पुन
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन सुन तस्करीदेखि सहकारी ठगीमै जोडिएका पात्र हुन् । दीपेशविरुद्ध जीबी समेत सामेल रहेको सूर्यदर्शन सहकारी पीडितले एक अर्ब ३५ करोड ५३ लाख ठगीगरेको आरोप लगाएका थिए । हाल उनि पक्राउ परेर थुनामा छन् ।

अहिले वचतकर्ताको ऋण खाएर सञ्चालक र पदाधिकारी भाग्न थालेपछि समस्याग्रस्त सहकारीहरुको संख्या बढ्न थालेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्यांक अनुसार सहकारी विभाग अन्र्तगत रहेका १४५ मध्ये हालसम्म २० सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ । त्यसमध्ये कुवेर सहकारी, चार्टर सहकारी र स्ट्ण्डर्ड मल्टीपर्पोज सहकारीका वचतकर्ताको हिसाव मिलान भइसकेको छ । यसबाहेक समस्याग्रस्त सहकारी घोषणामै प्रश्न उठिरहदा सहकारी नियनको मोडल समेत स्पष्ट नहुनुले झनै समस्या थोपरीदिएको छ।