Breaking

ओली–प्रचण्ड मिल्दा पनि प्रदेश तगारो, तीन प्रदेशमा सङ्कट, राजावादी बिना बन्दैन सरकार


काठमाडौँ – केन्द्रमा सहज रुपमा भागबण्डा टुंग्याएको सत्ता गठबन्धनले प्रदेशको सरकार निर्माणमा भने सकस व्योहोरेको छ । चार प्रदेशमा सरकार निश्चित जस्तै भए पनि बाँकीका तीन प्रदेशको सन्दर्भमा भने पेचिलो बनेको छ ।

नयाँ समीकरण बनेपछि केन्द्रको सत्ता भागबण्डा र निर्माणमा सफल भएको नेकपा एमाले र नेकपा माओवादी केन्द्र प्रदेशको किचलोमा रुमल्लिएको छ । प्रदेशको भागबण्डा टुङ्ग्याए पनि प्रदेशमा भएको अङ्क गणितका कारण टुङ्गिएकै दलले सरकार निर्माण गर्न भने पेचिलो बनेको छ ।
मधेश प्रदेशमा जनता समाजवादी पार्टीले निरन्तरता पाए पनि माओवादीको भागमा परेको बाग्मतीमा लौरोको साहाराले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सङ्कट टारेका छन् । त्यस्तै कर्णालीमा माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले बुधबार नै प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको राजीनमा स्वीकृत भएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेश गरेकाछन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ मतको आवश्यक पर्ने हुँदा एमालेको २९, माओवादीको १०, जसपाको तीन र एकीकृत समाजवादी र स्वतन्त्रको एक÷एक गरि ओली–प्रचण्डको गठबन्धनले बहुमत जुटाएको छ ।
नवलपरासी पश्चिमबाट निर्वाचित स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतको समर्थन लिएर चार दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनाउन समर्थन गर्ने निर्णय गरेको छ । यसअघि लुम्बिनीमा पनि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत नलिई राजीनामा दिएका थिए । तर, बाँकीका तीन प्रदेशमा भने ओली–प्रचण्डको डुङ्गा लरखराएको छ । कोशी सरकारलाई विघटन हुनबाट जोगाएको दाबी गर्ने एमालेले पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्ने दाबी गरिरहँदा काङ्गे्रसले कोशीमा सरकार निर्माणको सबै कानुनी पाटो बन्द भईसकेको भन्दै अड्चन थापेको छ । प्रदेशको सन्र्दभमा निर्णायक जस्तै देखिएको राप्रपा कुनै पनि हालतमा नयाँ गठबन्धनलाई सहयोग गर्नेे मनस्थितिमा छैन ।
त्यस्तै, ६१ सांसद् रहेको गण्डकीमा पनि एमालेलाई ठूलै धक्का लागेको छ । राप्रपाले नयाँ सत्तागठबन्धनलाई समर्थन नगर्ने निर्णयपछि एमालेलाई आवश्यक ३१ मत पु¥याउन असम्भव बनेको छ । जसले गर्दा अहिलेकै सुरेन्द्र पाण्डे मुख्यमन्त्री हुने सङ्केत देखापरेको छ । दोहो¥याएरै मुख्यमन्त्री हुने दाउँमा रहेका पाण्डेले विश्वासको मत लिन एक दिन बाँकी छदैँ प्रदेश प्रमुखलाई राजीनामा बुझाएर पासा पल्टाउन खोजेका छन् । २७ सीट रहेको कांग्रेसले राप्रपाको दुई र माओवादीको चुनाव चिह्नबाट सांसदको हैसियतमा रहेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र हैसियतमा रहेका दीपक मनाङे भनेर चिनिने राजीव गुरूङ सहित कांग्रेसले आफ्नै नेतृत्वमा सरकारमा जाने कसरत गरेको छ । तर, २२ सीट रहेको एमाले र सभामुखसहित आठ सीटको माओवादीले देवकोटालाई क्रस भोट गर्दा कारबाही गर्ने सम्भावना छ । राप्रपाबिना गण्डकीमा सम्भव नदेखिएको सरकार निर्माणमा एमालेलाई संकट परेको छ ।

नेकपा एककीकृत समाजवादीले पाएको सुदूरपश्चिममा नागरिक उन्मुक्तिको रोइलो छुट्टै छ । राजनीतिक रुपमा दुईधुव्रमा उभिएका पति–पत्नि संरक्षक रेशम र अध्यक्ष रञ्जिताको जुहारीमा सांसद बाडिदा प्रधानमन्त्री बालुवाटारमा घरझगडा मिलाउन व्यस्त छन् ।
नागरिक उन्मुक्तिका सांसद्को भरमा विश्वासको मत लिन उत्रेका कमलबहादुर शाहको सरकार ढल्ने निश्चित देखिएको छ। अब उनले विश्वासको मत लिने भन्दा पनि राजीनामा दिएर मार्ग प्रसस्त गर्ने संकेत गरेकाछन् । तर, नयाँ सत्ता गठबन्धनको सरकार बत्र पनि सहज भने छैन । ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन चाहिने भए पनि गठबन्धनले एमाले, माओवादी र एकीकृत समाजवादी मिल्दा २५ मतमात्र हुने अङ्क गणित छ । राप्रपा र स्वतन्त्रको एक÷एक सीट भए पनि राप्रपाले असहयोग गर्ने हुँदा सुदूर पश्चिमको सरकार निर्माण पनि गठबन्धनलाई फलामको चिउरा चलाउनु सरह छ ।