Breaking

जंगियो एमाले, रामचन्द्रलाई धम्की, नारायणकाजी स्टन्टबाज, खाण छुटाएर टोपबहादुर थुन्ने ?


काठमाडौँ – प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक बसेको छ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले बोल्ने कार्यक्रम नराखिए पनि राष्ट्रिय सभामा भने संसदीय दलका नेताहरु बोलेका छन् ।

टेरामक्स प्रकरणमा जोडिएर अख्तियारले पटक–पटक ताकेता गराउँदा पनि सम्पर्कविहीन रहेका भनिएका पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार संघीय संसदमा झुल्किए । दूरसञ्चार प्राधिकरणका लागि ‘टेरामक्स’ प्रविधि खरिद गर्ने नीतिगत निर्णयका कारण अरु मन्त्री र सचिवहरुसँगै तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की पनि अनुसन्धानको दायरामा परेका थिए । तर अख्तियारले अनुसन्धान थालेपछि उनी फरार भएका खबर सार्वजनिक भएका थिए । सार्वभौम संसदमा उपस्थित कार्कीले आफू फरार नभएको बयान दिँदै स्वस्थ पत्रकारिता गर्न भन्दै पत्रकारहरुलाई मर्यादा सिकाए ।

प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समयका कार्यक्रमहरु नभए पनि राष्ट्रिय सभामा भने सांसदहरुले आफ्ना भनाइ राखेका थिए । एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले अलपत्र पारेका सुशासनका अभियानबारे सम्झाए । यस्तै नक्कली भुुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण छुट्नु र टोपबहादुर रायमाझी जेलमै बस्नु अदालतको निर्णय मात्रै नभई सत्ताको छाया रहेको उनको बुझाई छ । संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप दाहालको छ ।

राष्ट्रिय सभामै कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले आफ्नै सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहन बस्नेतमाथि स्टन्टबाँजको आरोप लगाए । सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका उनले सरकारमा बसेका मन्त्रीहरुले नयाँ राजनीतिक दलहरुको नक्कल गरिरहेको बताए ।

प्रतिनिधिसभाको बैठकपछि संसदबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै सहरी विकासमन्त्री सीता गुरुङले पार्किङका लागि धरहरा प्रयोगबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिको जवाफ फर्काइन् । बालेनले समन्वय र सम्पर्क नै नगरेको टिप्पणी उनको छ । धरहराको निर्माण नसकिँदै पार्किङका लागि प्रयोग गरिएको उनको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन २ वर्ष पहिले नै गरिसकेका थिए । उद्घाटन भइसकेको धरहरामा पार्किङ गराउँदा समस्या नभएको सामान्य बुझाई महानगरको देखिन्छ । तर सरकार भने फेरि आफ्नै कदमहरुको बचाउमा लागेको छ ।
गत कात्तिकदेखि बन्द संघीय संसद सोमबार चहलपहलमय देखिन्थ्यो । पहिलो दिन सरकारका कामकारबाही तथा एक अध्यादेश र एक विधेयक मात्रै पेस भयो । सांसदहरुको पनि उत्साहबर्धक सहभागिता थियो । तर छोरा जयवीरको धुमधाम विवाहमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र जनकपुरधाम पुगकाले एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार सदनमा उपस्थित भएनन् । यद्यपि अधिकांश मन्त्रीहरु भने उपस्थित भएका थिए । घरदैलो अभियानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने घरदैलो अभियान छाडेर र कांग्रेस महामन्त्री गगन थापा पनि मेची महाकाली संवाद यात्रा छाडेर संसदमा उपस्थित भएका थिए । यद्यपि प्रतिनिधिसभाको बैठकमा सोमबार शून्य र विषेश समयको कार्यक्रम भने भएन । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने सांसदहरुको उत्साहबर्धक सहभागिताले राम्रो वातावरणमा संसद् अधिवेशन सुरु भएको प्रतिक्रिया दिए ।

राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर सन्देशसहित आएका २ विधेयक प्रतिनिधि सभामा टेबुल भएका छन् । कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभामा पेस गरेका छन् । यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पेस गरेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश पनि प्रतिनिधि सभा बैठकमा पेस गरेका छन् ।


प्रतिनिधिसभाको अर्को बैठक माघ २४ गते बस्नेछ । उक्त बैठकदेखि शून्य समयदेखि शीर्ष नेताहरुले बोल्ने कार्यसूची राखिएको छ । बर्खे अधिवेशनमा एक मात्रै कानुन बनाएर संसदीय व्यवस्थाकै बदनामी गराउन सफल संसद, विधेयक अधिवेशनसमेत भनिने हिउँदे अधिवेशनलाई सरकार र दलहरुले कसरी उपयोग गर्छन् त्यो भने हेर्न बाँकी छ ।