Breaking

एमाले धादिङ विवाद मिलाउने प्रयास, भोलिदेखि अधिवेशन सञ्चालन गर्ने तयारी


काठमाडौँ – नेकपा (एमाले)को धादिङ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विवाद मिलाउने प्रयास गरिएको छ । विवाद मिलाउन केन्द्रबाटै पहलकदमी लिइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशनसँग सम्बन्धित दुवै पक्षलाई बालकोटमा बोलाएर छलफल गरेका थिए । छलफलपछि विवाद समाधानका निम्ति उनले संगठन विभागलाई निर्देशन दिएको एमाले वाग्मती प्रदेश कमिटीका सचिव नवराज सिलवालले जानकारी दिए ।
प्रदेश इन्चार्ज गुरु बराल, वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, सचिव सिलवाल, धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठी, धादिङ अधिवेशनका अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटालगायत नेता बालकोट पुगेका थिए । त्यसक्रममा अधिवेशन पुनः सञ्चालन गर्न पार्टीको केन्द्रीय संगठन विभागबाट दुई प्रतिनिधि धादिङमा पठाउने निर्णय भएको छ । केन्द्रबाट दुई प्रतिनिधि गई वस्तुस्थिति बुझेर विवाद समाधान गर्दै भोलि (मंगलबार)अधिवेशनको बन्दसत्र अगाडि बढाउने तयारी छ ।

अध्यक्ष ओलीको सो निर्देशनपछि संगठन विभागका पदाधिकारीसित आफूहरूको छलफल हुन लागेको सिलवालले जानकारी दिए । छलफलबाट धादिङमा जाने दुई प्रतिनिधिको नाम टुंगो लगाइने उनले बताए ।