Breaking

डर लाग्दो बन्दै क्यान्सर, तथ्यांक भन्छ– २०५० सम्म नेपालमा ९१ प्रतिशत नेपाली क्यान्सरको सिकार बन्ने


काठमाडौँ – नेपालमा हुने सबै मृत्युहरूमध्ये झण्डै दुईतिहाइ मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । जसमा नेपालको कुल मुत्युदरको ११ प्रतिशत भन्दा बढीले क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन् । नसर्ने रोगमध्येको एक क्यान्सरको प्रकोप नेपाललगायत विकासोन्मुख देशमा बढ्दै जाँदा चिन्ताको विषय बनेको छ ।

फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवसको अवसर पारेर संसारभर क्यान्सरविरुद्धको विभित्र सचेतनामूलक कार्यक्रम गरि मनाइएको छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइयो । शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धिका कारण हुने क्यान्सरलाई नेपालीमा अर्बुद रोग पनि भनिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा सार्वजनिक गरिएको रिपोर्ट अनुसार विश्वभर दुई करोड क्यान्सरका नयाँ बिरामी पत्ता लागेका थिए भने करिब एक करोड व्यक्तिले क्यान्सरका कारण ज्यान गुमाएका थिए ।

त्यसमध्ये करिब एकतिहाईको सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण भएको तथ्यांक छ । डब्लुएचओले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वर्षेनि ३६ हजार व्यक्ति क्यान्सर रोगबाट पीडित हुँदै आएका छन् । नेपालमा पनि क्यान्सरको प्रकोप बढ्दो छ । यो एउटा नसर्ने रोग भए पनि नेपालमा वर्षेनि ३० हजार क्यान्सरका नयाँ बिरामी थपिँदा करिब २० हजारको क्यान्सरकै कारण ज्यान जाने गरेको छ । नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने क्यान्सरका कारण धेरै महिलाको मृत्यु हुने गरेको छ भने पुरुषमा फोक्सो, पेट र कलेजोमा यो रोग बढी हुने गर्छ । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत क्यान्सरले नै हुने गरेको छ ।

क्यान्सर लाग्ने मुख्य कारण भनेकै हामीले अपनाउने जीवनशैली र खानपिन हो । ५–१० प्रतिशत वंशाणुगत भए पनि मानव शरीरमा लाग्ने हरेक अङ्गको क्यान्सरको पहिलो कारक तत्व भनेको सुर्तीजन्य पदार्थ नै हो । नेपालमा हाल करिब ७५ लाख व्यक्ति प्रत्यक्षरूपमा पान, बिँडी, खैनी, सुर्ती, पराग, हुक्का जस्ता सुर्ती जन्यपदार्थको सेवन गर्दछन् । यही अवस्था रहेमा त्यसको असरबाट प्रभावित भई क्यान्सरका रोगीहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । डब्लुएचओले सन् २०५० सम्म नेपालमा ९१ प्रतिशतले क्यान्सर रोगी बढ्ने प्रक्षेपण गरेको छ ।

हालको तथ्याङ्कानुसार नेपालमा प्रमुख दश क्यान्सरमा फोक्सोको क्यान्सर १२.२ प्रतिशत, पाठेघरको मुखको क्यान्सर १०.९, स्तन क्यान्सर ९.६, आमाशयको क्यान्सर ७.६, पित्तथैलीको क्यान्सर ४.९, मुख तथा ओठको क्यान्सर ४.१, थाइरायडको क्यान्सर ३.४, ठूलो आन्द्राको क्यान्सर ३, रगतको क्यान्सर २.९ र डिम्बाशयको क्यान्सर २.९ प्रतिशत रहेको छ । नेपालमा क्यान्सरको यति डर लाग्दो अवस्था तथ्यांकले देखाई रहेको छ , तर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत भने क्यान्सर रोग न्यूनीकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै दन्त बजानमा नै रमाइरहेका छन् ।

क्यान्सर रोग जुनसुकै उमेर, लिङ्ग, जाति, वर्गलाई पनि हुनसक्ने भएकाले ४० वर्ष कटेकाहरुमा यसको जोखिम उच्च हुने गर्दछ । प्रायः क्यान्सर सुरु–सुरुको अवस्थामा पहिचान गर्न सक्यो भने नेपालमा नै निको पार्न सकिन्छ । शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै पद्धति एक साथ प्रयोग गरेर सुरुवाती चरणमा नै क्यान्सर रोगको उपचार गर्न सकिन्छ । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । तर, नेपालमा बिारामीहरू अन्तिम चरणमा पुगेपछि मात्रै अस्पताल जाने परिपाटीले यो रोग थप भयावह रुपमा फैलिँदै गएको चिकित्सकहरुको भनाइ छ ।

क्यान्सरले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व जगतलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पु¥याएको क्षति र भविष्यमा अझ पु¥याउन सक्ने हानीलाई रोक्न सन् २००० फेब्रुअरी ४ का दिन फ्रान्सको पेरिसमा शिखर सम्मेलन सम्पन्न भएको थियो । नयाँ सहश्राब्दीमा क्यान्सर सम्बन्धी अनुसन्धान, रोकथाम, सेवा सुविधा विस्तार र जनचेतना मूलक कार्यक्रम सञ्चालन गरी विश्व समुदाय एकजुट भएर क्यान्सरविरुद्ध लड्ने प्रतिबद्धताका साथ उक्त शिखर सम्मेलन समापन भएको थियो । त्यसपछि फेब्रुअरी ४ का दिनलाई विभिन्न नाराका साथ विश्व क्यान्सर दिवस मनाउँदै आइएको छ ।