Breaking

एमाले धादिङ अधिवेशन अनिश्चितकालका लागि स्थगित


काठमाडौं — नेकपा एमाले धादिङको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले आज विज्ञप्ति जारी गरी धादिङ अधिवेशन स्थगित भएको जानकारी गराएका हुन् ।

अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित भएको विज्ञप्तिमा उल्लेख छ ।

यही माघ १९ गते साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गर्ने दस्ताबेज, नीतिगत निर्णय, बन्दसत्र सन्चालनका लागि आवश्यक अध्यक्ष मण्डल, विभिन्न समितिमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिको विषयमा विवाद बढ्दा हात हालाहाल भएको थियो । यसै क्रममा भिडन्त हुँदा पार्टी कार्यकर्ता सन्तोष खनालले हात भाँचिएको छ ।

‘बैठकमा सहभागीहरुको असहमतिका बाबजुद जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति सिर्जना भएको,’ एमाले बागमती प्रदेश अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ नेतृत्वका लागि हाल अध्यक्ष रहेका भूमिप्रसाद त्रिपाठी र बागमती प्रदेशसभा सदस्य डा। रामकुमार अधिकारी आकांक्षी देखिएका छन् । त्रिपाठीको प्यानलबाट उपाध्यक्षमा अर्जुन गोर्खाली र सचिवमा राधिका सापकोटा आकां‌क्षा देखिएका छन् भने अधिकारीको तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य र सचिवमा हरिराम लोहनी सचिवका आकांक्षा रहेका छन् ।


एमाले जिल्ला नेता गोकर्ण रुपाखेतीले भने पार्टी अध्यक्ष केपी ओलीको निर्देशन अनुसार अध्यक्ष मण्डलले अधिवेशन अगाडि बढाउने बताएका छन् । आज बिहान सामाजिक सञ्जालमा नेता रूपाखेतीले शनिबार बेलुका अधिवेशन अगाडि बढाउने सहमति भए पनि चुनाव हार्ने भयले एउटा समूहले अधिवेशन स्थगित गरेको लेखेका छन् ।