आईसीसी यू–१९ विश्वकपमा नेपालले भारतसँग १ सय ३२ रनको फराकिलो हार ब्यहोरेको छ । सुपर सिक्समा पुगेको नेपालले दोस्रो खेलमा भारतसँग फराकिलो हार ब्यहोरेको हो ।
२ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर मात्र १ सय ६५ रन बनाउन सक्यो ।कप्तान देव खनालले ३३ रन बनाएको इनिङ्समा पुछारका ब्याट्सम्यान दुर्गेश गुप्ताले नटआउट २९ रन बनाए । अर्जुन कुमालले २६ र दिपक बोहोराले २२ रन बनाए । आकाश चन्दले नटआउट १८ रन बनाएका थिए । भारतका सौम्य पाण्डेले सर्वाधिक ४ विकेट लिए ।पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनायो ।
भारतका लागि सचिन दाश र कप्तान उदय शरणले शतकीय पारी खेले । सचिनले ११६ रनको शतकीय पारी खेले । १०१ बल खेलेका ११ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै उदयले १०० रनको शतकीय पारी खेले । १०७ बल खेलेका उनले ९ चौका प्रहार गरे । भारतका लागि अर्शद सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ रनको योगदान गरे । नेपालका लागि गुलशन झाले तीन विकेट लिँदा आकाश चन्दले एक विकेट लिए ।
नेपाल समूह डीबाट तेस्रो स्थानमा रहँदै सुपर सिक्स खेलेको थियो । नेपाल समूह चरणमा पाकिस्तानसँग ५ विकेट र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अव नेपालको समूहबाट सेमिफाइनलमा पाकिस्तान र बंगलादेश मध्य एक टोली पुग्नेछन् । यी दुई टोलीबीचको खेल आज हुनेछ ।
पाकिस्तान विजयी भएमा सोझै सेमिफाइनल खेल्नेछ । तर बंगलादेश विजयी भएमा दुबै टोलीको ६–६ अंक हुने हुँदा नेटरनरेटमा भर पर्नेछ । अर्को सुपर सिक्सबाट अष्ट्रेलिया शीर्ष र दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।
प्रतिक्रिया