Breaking

मुग्लिन–नारायणगढ खण्ड २१ माघदेखि तीन साता दैनिक ४ घण्टा बन्द हुने


काठमाडौँ – चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुलको फाउण्डेशन बनाउन सडक बन्द गरेर भित्तो काट्ने कामका लागि अन्तिमपटक २१ दिनको म्याद थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले माघ २१ गतेदेखि २१ दिनसम्म सडक दैनिक ४ घण्टा बन्द गरेर भित्तो काट्ने कामलाई निरन्तरता दिने निर्णय गरेको आयोजनाका इन्जिनियर सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । तुइन खोला पुलको जग हाल्न मुग्लिनतर्फको भित्तो काट्ने काम भैरहेको छ । त्यसका लागि हाल दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ ।

पहिलोपटक आयोजनाले गत पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेको थियो भने, दोस्रोपटक पुनः पुस २८ गतेदेखि माघ २० गतेसम्म दैनिक ४ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको थियो । यसपटक थपिएको २१ दिन भित्र भित्तो काट्न बाँकी १३ मिटर काटिसक्ने लक्ष्य राखिएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

६० मिटर अग्लो पहरो काट्ने काम गत वर्षबाट सुरु गरिएको थियो । २५ मिटर तलसम्म काटिसकेपछि कडा चट्टान भेटिएको आयोजनाले जनाएको छ । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि विष्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष आयोजनाले निकालेको थियो ।