काठमाडौँ— गणतन्त्र पक्षधर राजनीतिक दलहरुमाथि विभिन्न प्रश्नहरु उठिरहेको अवस्थामा देशमा राजावादीहरुको विज्ञापन बढ्दो छ । राजतन्त्र फर्किने सम्भावना शून्य नै भए पनि परिपक्व बन्दै गएको गणतन्त्रले नै नेताका शैली र देखिएका विकृतिको विकल्प खोज्न थालेका विषय सत्य हो । तर किन राजनीतिक दलकै नेताहरु यो विषयलाई अनावश्यक चर्चामा ल्याइरहेका छन् ? के उनीहरु सुध्रिनुभन्दा नकारात्मक नै सही राजावादीको ब्राण्डिङमा लागेका हुन्?
राजदरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले बोलको विषयमा राजनीतिक दलहरु भिडिरहेका छन् । सके चुपचाप कारबाही गर्ने नसके अनावश्यक चर्चा नगर्ने बाटो उनीहरुका लागि सह्य छैन । यहि व्यवस्था विरोधी आवाज नै बढेको भए शैली र व्यवहार सुधार्नुपर्ने उनीहरु उल्टै राजावादीको विज्ञापन गरिरहेका छन् । तत्कालको अवस्था हेर्दा राजावादीको एकपटकको शक्ति प्रर्दशन फेल खाइसकेको छ । राप्रपा जस्ता शक्ति आफैँमा विभाजित छ भने उनीहरुले ल्याउने राजा कस्तो हो ? राजावादीमै मतएैक्यता छैन । अभियन्ताका नाममा आएकीमनिषा कोइराला, दुर्गा प्रसाईं र रमा सिंह जस्ता व्यक्तिहरुमध्ये कसैमा विगतको धङधङीछ भने कोही वर्तमान अवस्थामा अल्झिने मेलो मात्रै खोजिरहेका छन् । जसमध्ये प्रसाईंको बोलीको ओज र उनले चाहेको स्वार्थलाई आम नागरिकले बुझिसकेका छन् । संगठितशक्ति रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी न त ठूलो हुन सकेको छ न एक हुन सकेको छ ।
उनीहरुको मत सधँै १५ प्रतिशत कै हाराहारी रहँदा संसदमा उनीहरुको उपस्थिति व्यवस्था नै पल्टाउने हैसियतको भने हुन सकेको छैन । केही सिट घटबढ हुने नेपाली मतको प्रवृत्ति नै हुँदा अहिले आएको सिटसमेत गणतन्त्रवादीले बोक्दिएर आएका हुन् । जसलाई जनमत बढेको रुपमा चर्चा गर्नु राजावादीको आत्मरतीभन्दा माथि केही देखिँदैन । अर्कातर्फ पूर्वराजा ज्ञानेन्द्र सक्रिय देखिए पनि उनले गरिहाल्न सक्ने अवस्था केही पनि छैन । राजतन्त्र भनेको विगतको इतिहास सम्झिदै भविष्य देखाएर अघि बढ्नु बाहेक अन्य अर्थमा बुझ्न सक्ने अवस्था छैन । न ज्ञानेन्द्रको विगत राम्रो न पारसको भविष्य नै राम्रो छ ।सिधैँ नाती हृदयेन्द्रमा जाने स्थिति छैन भने वीरेन्द्रकोव्यक्तिगत स्वभावको बखानले राजतन्त्रप्रति केहि सकारात्मकता देखिएपनि उनको हत्यापछि रसातलमा पुगेको राजतन्त्रबारे ज्ञानेन्द्रले त्यहि अवस्था ल्याउन सक्ने देखिँदैन ।
राप्रपाले केही आशा देखेको पृथ्वीनारायण शाह र महेन्द्रप्रतिको सर्वस्वीकार्यता बढ्दो छ । यद्यपि यो उसका लागि च्याँखे थाप्ने दाउका रुपमा काम गर्ने विषय होइन । अर्कातर्फ जो कांग्रेसमा राजतन्त्र बोक्छन् उनीहरु विस्थापित शक्ति हुन् भने प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डलाई लाज नै बोक्न दिँदैन । कांग्रेस सभापति शेरबहादुर देउवा जस्ता शक्तिलाई पश्चिमा शक्तिले रोक्दा त्यो पार्टीको उद्यमान शक्ति गगन थापा लगायतका व्यक्ति गणतन्त्रवादी नै हुन् । विकल्प भनिएकाहरु राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता शक्तिले राजा बोक्दैनन् भने उनीहरुको उपस्थितिले निराशा कम गराउँदै व्यवस्था बलियो बनाउने मै भूमिका खेल्नेमा दुईमत छैन । जहाँ शैली र संरचना फेरेपनि व्यवस्था फेर्ने हैन भन्नेमा उनीहरु स्पष्टछन् । देशी शक्तिले मात्रै नेपालमा व्यवस्था परिवर्तन गरेको इतिहास नहुँदा विदेशी शक्तिलाई अहिलेकै अवस्था राम्रो छ । उसका लागि कम्युनिष्ट, कांग्रेस र नयाँ शक्तिहरु त्रिशक्तिका रुपमा गोटी बन्ने फाइदा नै छ । मुख्य कुरा त पूर्वराजा ज्ञानेन्द्रको दमन देख्ने पुस्ता अझै शक्तिमै छन् उनीहरु सकिन केहि समय लाग्छ नै । यो अवस्थामा किन गणतन्त्रवादीहरु डराए जस्तो गर्दै उल्टै राजावादीको विज्ञापन गरिहेका छन् त ?
हुन त राजा भनेकै राष्ट्रियता र राष्ट्रियताका लागि राजतन्त्रचाहिने भाष्य नै गलत छ । किन कि ज्ञानेन्द्रले समेत विदेशी शक्ति कै इसारामा सत्तामा फर्किन आशा देखेको धेरैको विश्लेषण छ । भारतले चाहेकोे हिन्दुधर्मसम्म हो तर राजा हैन । त्यस्तै बालेन, हर्क जस्ता व्यक्ति पश्चगामी हुन सक्दैनन् भने यी नेता नसुध्रिए निर्वाचनले नै विकल्प खोज्नेमा दुईमत छैन । जसले अहिले भईरहेको बहस वास्तविकता भन्दा पर रहेको प्रष्ट हुँदा डराए जस्तो गर्ने गणतन्त्रवादीको संकेतले राजावादीलाई हौसला भने मिलेको छ । तर त्यो व्यवस्था नै परिवर्तनका खातिर पर्याप्त नहुने पक्का हुँदा उनीहरुको विज्ञापन गर्न भन्दा व्यवस्था बलियो बनाउन दल र नेता लाग्नु आजको आवश्यकता हो ।


प्रतिक्रिया