समाचार

सूर्यदर्शन सहकारीका थप दुई पदाधिकारीविरुद्ध डिफ्यूजन नोटिस


काठमाडौं । सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आज सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो । सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले दुई साताअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।

त्यसको आधारमा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुुरोध गरेको थियो । सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।