Breaking

कांग्रेसका नेतालाई महामन्त्री थापाको निर्देशन : माघ १६ मा वडामा हुने कार्यक्रममा अनिवार्य उपस्थित हुनुस्


काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेताहरुलाई १६ माघमा अनिवार्य आ–आफ्नो वडामा पुग्न निर्देशन दिएका छन् ।

सहिद दिवसको अवसर पारेर १६ माघमा कांग्रेस ६ हजार ७४३ वडामा कार्यक्रम गर्र्र्दैछ । उक्त दिन क्रियाशील सदस्यता भएको आफ्नो वडामा अनिवार्य पुग्न थापाले निर्देशन दिएका छन् ।

७८औं पार्टी स्थापना दिवसका अवसरमा प्रमुख अतिथि सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रम उनले देउवालाई पनि वडामा जान आग्रह गरे । ‘चाहे सांसद, मन्त्री हुनुहोस्, चाहे सभापति हुनुहोस्, चाहे भातृ संस्थाको प्रमुख हुनुहोस् । त्यो दिन सहिदलाई सम्झनको निम्ति जहाँको क्रियाशील सदस्य हो, त्यही पुग्नुपर्दछ,’ थापाले भने । सहिद दिवसको दिनमा काठमाडौंमा देखिए कार्यक्रममा नपुगेको मानिने उनले बताए ।

भाषण र औपचारिकताको कार्यक्रम उक्त दिन नहुने उनले जानकारी गराए । वडा तहका कार्यक्रममा अनिवार्य सहभागी हुन निर्देशन दिँदै उनले जिल्ला र केन्द्रमा नेता बस्न नपाउने बताए ।

कांग्रेसले १६ माघबाट समुदायमा कांग्रेसको औपचारिक सुरुवात गर्ने भएको छ । अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । जनताका सुझाव, गुनासा सुन्ने गरी कार्यक्रमको प्रारुप बनाइएको छ । अभियान २६ माघमा सकिने छ ।