काठमाडौँ— आयोजक सहारा क्लबलाई हराउँदै थ्री स्टार क्लब आहारारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २-१ ले हरायो ।
थ्री स्टारलाई जिताउन योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे । सहाराका आशिष गुरुङले १ गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
खेलको पाँचौं मिनेटमै थ्री स्टारले अग्रता लिएको थियो । थ्री स्टारका योगेश गुरुङले प्रतियोगिताका लागि पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
थ्री स्टारका कप्तानसमेत रहेका गुरुङले डिबक्स क्षेत्रभित्र विपक्षी गोल रक्षक टेकेन्द्र थापासँग ठोक्किएर आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए ।
खेलको २३ औं मिनेटमा सहाराका आशिष गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । लक्ष्मण रुचालले दायाँबाट हानेको फ्रिकिकमा उनले हेडमार्फत बललाई जाली चुमाएका हुन् ।
खेलको पहिलो हाफ दुवै टिमबीच कडा प्रतिस्पर्धा देखिएको थियो । सहाराले खेललाई बराबरीमा ल्याएसँगै विपक्षी टिमलाई दबाबमा समेत राखेको थियो ।
तर, दोस्रो हाफमा भने घरेलु टोली सहाराले लय गुमाउन पुग्यो । खेलको ५९ औं मिनेटमा थ्री स्टारका एन्जल गुरुङले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै जितको नजिक पुगेका थिए ।
खेलको दोस्रो हाफमा थ्री स्टारले सहारालाई दबाबमा राखेको थियो । खेलमा पहिलो गोल गरेका थ्री स्टारका कप्तान योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् ।
शनिबार हुने क्वार्टर फाइनलमा थ्री स्टारले भुटानको पारो एफसीसँग खेल्ने छ । दोस्रो खेल भोलि बुधबार राइजिङ स्टार एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
प्रतिक्रिया