समाचार

प्रचण्डको प्रचार मोह, बन्यो डिजिटल विज्ञापन, सुशासनको गीत–बालकृष्ण थुनेको उपलब्धि (भिडियोसहित)


काठमाडौँ— दोस्रो कार्यकालमा सुशासनको स्वर्ण युग देखाउने भनेका प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन दिनमै सीमित बन्न थालेका छन् । बुधबार मात्रै प्रचण्डले तीन फरक–फरक निर्देशन दिए । सरकारका काम जनताले नपत्याएर भिडियो विज्ञापन तयार पार्नु पर्ने अवस्थामा पुगेका प्रधानमन्त्रीले निर्देशन दिएर मात्रै पार लाग्छ त ?

गत पुष ७ गते प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– अरूले पिठो बेचे, माओवादीले राम्रो चामल पनि बेच्न सकेन । अर्थात… अरु पार्टीहरूले नगरेका कामलाई पनि गरेँ भनेर प्रचार गर्दा माओवादीले गरेका कामलाई पनि प्रभावकारी रूपमा प्रचार गर्न नसकेको उनको दुखेसो थियो । लगत्तै चतुर कार्यकर्ताले विज्ञापन बनाइदिए–अरु जस्तो माओवादी होइन । यो दृश्यमा चिया पसलमा जनता महंगी र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको बताइरहेका हुन्छन् । त्यत्तिकैमा स्वयंसेविका जस्तै देखिने एक पात्रले बखान गर्छिन्– ‘माओवादी अरु जस्तो होइन ।

राम्रोलाई त राम्रो भन्न सिक्नुस् न ।’ यसले माओवादीको पिठो बेच्ने जुक्ति बिल्कुलै फरक देखियो । प्रचण्ड नेतृत्वको सरकारले सुरुवातीमा गरेका कामको ब्रान्डिङ जनताले नगरेका पनि होइनन् । तर काण्डको फाइल खोल्दा आफ्नै छायाँ देखिन थालेपछि जनता विज्ञापन पनि नपत्याउने अवस्थामा पुगिसकेका छन् । सरकारले केही गर्न नसक्ने निश्कर्षमा पुगेका जनता चित्त बुझाउनका लागि भन्दैछन्– ‘प्रचण्ड सरकार एउटै मन त छ त्यो पनि कति पटक जित्छौ ?’ माओवादी नेताहरुले भने सरकारले उत्कृष्ट काम गरेको दाबी गर्न छाडेका छैनन् ।

गठबन्धन नगरी चुनावमा होमिए टर्च बाल्दासमेत खोज्न नसकिने अवस्थामा माओवादीको धरातल पुगेको छ । आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा मध्यपहाडी लोकमार्ग निर्माण, ३० हजार जनाको ऋण मिनाहा, १ लाखभन्दा बढीको ब्याज मिनाहा, दोस्रो कार्यकालमा लोडसेटिङ अन्त्य गर्नुलाई महत्वपूर्ण उपलब्धि मानेका प्रचण्डले तेस्रो कार्यकाललाई सुशासन र समृद्धिको युग भनेका थिए । तर न त सुशासनको युग सुरु भयो न त समृद्धिको युग नै । प्रचण्ड नेतृत्वको मन्त्रिमण्डमा रहेको मन्त्रीहरु नै सरकारले देखिने गरी काम गर्न नसकेको स्वीकार गर्छन् ।


उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काकै भनाइ मान्ने हो भने पनि सरकारले सुनाएको सफलताको गाथा आत्मरतीमा केन्द्रित छ । माओवादीले नै हालै जारी गरेको सर्कुलर अनुसार माओवादी नेतृत्वको सरकारले चालेका भ्रष्टाचार, भू–माफिया, तस्कर, मिटरब्याजीलगायतलाई गरिएका धक्कामुलक कारबाहीले आमजनतामा सकारात्मक प्रभाव बढेको निष्कर्ष निकालेको छ । यद्यपि गठबन्धनको सीमा र अवस्थाका कारणले जनअपेक्षा र चाहनाअनुसार काम गर्न नसकेको अर्को दोधारे बुझाइ पनि पार्टीमा छ । यसले पनि सरकार आफैँ के गरिरहेको छु भन्नेमा ढुुक्क छैन ।

एक वर्षमा गर्नुपर्ने काम पनि गर्न नसकेको अत्मालोचना गरेका प्रचण्डले दोस्रो वर्ष उपलब्धिमुलक बनाउने बताएका थिए । तर व्यवहारमा ठिक उल्टो छ । सचिवालयको हेरफेर गरे तर प्रश्न उठेका गंगा दालाल लगायतका पात्र टांसिएर बसेकै छन् । अरु मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा नजान निर्देशन दिए तर प्रधानमन्त्री आफैँ विदेश भ्रमणमा रमाउन छाडेनन् ।

कामभन्दा निर्देशन केन्द्रित मात्रै बढी बनिरहेका छन् । बुधबार मात्रै प्रचण्डले एकैदिन तीन निर्देशन दिए । बिहानै प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका उनले लगत्तै सहकारी समस्या समाधान गर्न र भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न अर्को निर्देशन दिए । निर्देशन दिएकोमा आलोचना होइन तर निर्देशन नमान्ने निकायलाई के गर्ने भन्ने योजना प्रधानमन्त्रीसँग छैन । यी विषयमा प्रधानमन्त्रीले ध्यान दिए सरकारले गरेका कामको प्रचार गर्न कुनै कलाकार राखेर प्रचार सामग्री बनाउनु पर्र्ने दुःख गरिरहनु पर्दैन थियो कि ?