Breaking

नाउपाले रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउन विधान संशोधन गर्ने


काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले निर्वतमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने भएको छ ।

टीकापुरमा जारी प्रथम केन्द्रीय अधिवेशनबाट पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएपछि उनकी पत्नी रञ्जिताका लागि विधान संशोधन गरी सहअध्यक्ष रहने व्यवस्था गर्ने तयारी गरेको हो । नाउपाका नवनिर्वाचित महासचिव गंगाराम थारूले निर्वतमान अध्यक्षलाई व्यवस्थापन गर्न विधान संशोधन गरेर सहअध्यक्षको व्यवस्था गर्न लागेको बताए ।

रेशम चौधरी नाउपाको अध्यक्षमा सर्वसम्मत चयन भएपछि रञ्जिता श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको नेताहरुले बताएका छन् ।रञ्जिताले अध्यक्षमा दोहोरिने इच्छा राखे पनि रेशम चौधरीले मनोनयन दर्ता गरेपछि उनी महाधिवेशन स्थल छाडेर हिँडेकी थिइन् । नाउपाले प्रथम महाधिवेशनबाट अध्यक्षसहितका २७ पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको छ भने दुई उपाध्यक्षमा सहमतिको प्रयास जारी रहेको जनाएको छ ।