काठमाडौँ – आम निर्वाचनबाट बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको दल लगातार चौथो पटक विजयी भएको छ । तर निर्वाचनपछि भारत र अमेरिकाले भने फरक– फरक टिप्पणी गरेका छन् ।
अमेरिकाले निष्पक्ष र स्वतन्त्र नभएको टिप्पणी गरेको छ भने भारतले शान्तिपूर्ण निर्वाचन भएको बताएको छ ।
बंगलादेशमा आम निर्वाचनबाट प्रधानमन्त्री एवं अवामी लिगकी अध्यक्ष शेख हसिना लतागार चौथो पटक विजयी हासिल गरेकी छन् । संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले बहुमत प्राप्त गरेको छ । जितसँगै हसिनाले पांचौ कार्यकाल सम्हाल्ने निश्चित भएको छ । हसिना पहिलो पटक सन् १९९६ मा बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि सन् २००९ मा पुनः प्रधानमन्त्री बनिन् ि। त्यसयता लगातार हसिना बंगलादेशको सत्तामा छिन् । तर हसिनाले विजयी हाँसिल गर्दैगर्दा अमेरिका र भारतले भने फरक फरक टिप्पणी गरेका छन् ।
विपक्षीको बहिस्कार भएको निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग तथा सहयोगीहरुले ३ सय सिटमा दुई तिहाईभन्दा ठूलो जित निकालेका थिए । जसलाई अमेरिकाले निष्पक्ष र स्वतन्त्र नभएको टिप्पणी गर्दै प्रश्न उठाएको छ । अमेरिकाले हजारौँ विपक्षी दलका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी निर्वाचन गराइएको र न्यून मात्रामा मत खसेका बुथहरुमा समेत धाँधली गरिएको आरोप लगाउँदै स्वतन्त्र र निष्पक्ष नभएको बताएको छ ।
साथै सत्ता गठबन्धनबाहेक कुनै पनि दल सहभागी नभएको निर्वाचन निष्पक्ष नहुने भन्दै अमेरिकाले निर्वाचनको अघिल्लो महिना भएको हिंसाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सुझाव दिएको छ । तर, छिमेकी देश भारतले भने शान्तिपूर्ण निर्वाचन भएको भन्दै सरहाना गरेको छ । भारतीय निर्वाचन आयोगको तीन सदस्यीय प्रतिनिधि मण्डलले बंगलादेशको केन्द्रीय निर्वाचन सम्बन्धी निकायले सावधानीपूर्वक योजना बनाएको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेको निष्कर्ष सार्वजनिक गरेको हो ।
भारतीय अधिकारीले बंगलादेशमा शेख हसिनाको लगातार चौथो तथा समग्रमा पाँचौ प्रधानमन्त्रीत्व कालमा सम्बन्ध थप सुधार हुने र सहकार्य बढ्ने अपेक्षा गरेका छन् ।
यसरी शक्तिशाली देश अमेरिका र भारतले बंलादेशमा भएको निर्वाचनको फरक–फरक मतको सर्वेक्षण गर्नुले दुई देशबीच टसल बड्न सक्ने संकेत गरेको छ । यद्यपि, दुवैले आफ्नो स्वार्थ केन्द्रित वक्तव्य दिएका त होइनन् भन्ने प्रश्न उठ्न थालेको छ ।


प्रतिक्रिया