Breaking

हरूवा नेता राष्ट्रिय सभा छिर्दै, हार्ने चुनावमा एमालेका अपरिचित अनुहार, माओवादीको नयाँमा विश्वास


काठमाडौँ – राष्ट्रिय सभा निर्वाचनमा पनि आम निर्वाचनकै झल्को दिने गरी तयारी गरेका दलहरुले अन्ततः उम्मेदवारको टुंगो लगाएका छन् । यसपटक अधिकांश नयाँ उम्मेदवार देखिएका छन् । यद्यपि, कांग्रेसबाट भने देउवाको अभिष्ट अर्कै देखिन्छ । सामान्यतः निर्वाचन भनेपछि केन्द्रीय पदाधिकारीकै लाम लाग्ने एमालेले पनि हार्ने निर्वाचन भएका कारण चर्चित नेताहरुलाई उम्मेदवार बनाएन ।

नेताले भोट हाल्ने राष्ट्रिय सभा निर्वाचनमा पनि आम निर्वाचनकै झल्को दिने गरी कसरत गरेका राजनीतिक दलहरुले अन्ततः उम्मेदवारहरुको टुंगो लगाएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले १९ वटै सिटमा उम्मेदवार उठाएको छ भने सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिटमा उम्मेदवार उठाएका छन् । यस पटक सबैजसो दलहरुले पार्टीमा योगदान गरेका तथा कानुन निर्माणमा भूमिका खेल्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउने बताएका थिए ।

जस अन्र्तगत नेकपा माओवादीले नयाँ उम्मेदवार उठाएको छ । माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी उम्मेदवार बनेका छन् । झक्कु सुवेदी तीनै हुन् जसले २०६४ चैत २८ को पहिलो संविधानसभाको चुनावमा तत्कालीन नेकपा ९एमाले० का तत्कालीन महासचिव माधव नेपाललाई हराएर ‘जाइन्ट किलर’ को उपमा पाएका थिए । यस्तै कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने भएको छ ।

माओवादीले पदाधिकारी बैठक बसेको एक घण्टामै उम्मेदवारको टुगो लगाएको थियो । यसको सोझो अर्थ उम्मेदवारको सूची पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिल्यै तयार पारेका थिए भनेर बुझ्न समस्या छैन । टिकट वितरणमा नेताहरु हाबी भएपनि नयाँ अनुहारलाई भने स्थान दिएको छ । हरुवाहरुको कवाडीखानाका रुपमा राष्ट्रिय सभालाई चित्रण गर्न थालिएका बेला माओवादीले नयाँ अनुहार अघि सार्नुले सकारात्मक सन्देश गएको छ ।
यता नेपाली कांग्रेस भने दिनभर भागबन्डाको सकसमा रह्यो ।

गठबन्धनको गाँठो फुकेपनि पार्टीको गुटमा कुरा मिलेन । संस्थापन पक्षले बढीभन्दा बढी सिट आफूले लिने रणनीतिकाबीच इतर पक्षले पनि ४ सिटको दाबी गरिरहेको छ । देउवा भने तीन सिट दिन तयार थिए । त्यसक्रममा शेखर कोइरालाले देउवालाई हरुवा नेताहरुलाई राष्ट्रिय सभामा पठाउन नहुने बताएका थिए । तर देउवाले आफूले पाएको चार सिटमा विधि विधान लागु गर्न आफ्नो ६ सिट आफैँले बाँड्ने जवाफ फर्काएका थिए । आम निर्वाचनमासमेत उम्मेदवारी मनोनयनको एक घण्टा अघि मात्रै टुंगो लगाउने कांग्रेसले सोमबारसम्म टुंगो लगाउने आशा गर्न सकिन्छ । यद्यपि, गत महाधिवेशनमा आफूलाई सहयोग गरेका कृष्ण सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ध्याउन्नमै रहेका देउवाले कोशीमा महिला क्लस्टर माओवादीलाई दिएर अन्य क्लस्टरमा सिटौलालाई सुरक्षित गरेका छन् ।

दुई सिट मागेको जनता समाजवादी पार्टी एक सिटमै चित्त बुझाउन बाध्य बनेको छ । उसले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यता दुई सिट कम भयो भन्दै गठबन्धन बैठकबाट रन्किएका माधवकुमार नेपाल भने दुई सिटमै चित्त बुझाउन बाध्य बनेका छन् । गठबन्धन बैठकबाट असन्तुष्ट बनेका नेपाललाई घनश्याम भूषालले बैठक त छाड्नुभयो गठबन्धन के गर्ने भन्दै सोधेका थिए । लगत्तै नेपालले पार्टीको सचिवालय बैठकसमेत बोलाए । तर आफूहरूको असन्तुष्टि कायमै रहेको बताउँदै यसले कहाँ कहाँ असर पार्छ थाहा छैन भन्दै घुमाउरो पारामा पार्टीले चेतावनी दिएको छ ।

गठबन्धनले भाग दिने भनेपछि उत्साहित बनेको एमालेले भने निराशाकै माहौलमा सबै प्रदेशमा १९ सिटमै उम्मेदवार उठाएको छ । हार्ने चुनावमा किन उम्मेदवार उठाउनु भन्ने मनिस्थितिमा रहेको एमालेका १९ उम्मेदवारमध्ये कोही पनि परिचित अनुहार छैनन् । प्रतिनिधिसभाको सदस्य निर्वाचित भइसकेका तथा पार्टी केन्द्रका पदाधिकारीहरु समेत प्रदेश सांसद बन्न तछाडमाछाड गर्ने पार्टीमा हार सुनिश्चित भएको निर्वाचनमा चासो देखाएनन् । अर्थात हार्ने निश्चित भएपछि एमालेका शीर्ष नेताले जनप्रतिनिधिसँग हात जोड्नै चाहेनन् । हार्ने निर्वाचनमा हारेका नेता उठाउनु त परकै कुरा । अर्को अचम्म त के भएको छ भने कसैले कल्पनासमेत नगरेको राष्ट्रिय जनमोर्चाले पनि आफ्नो भागमा एक सिट पाएको छ । मनोनीत हुने सदस्यमा जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी दुर्गा पौडेल परेकी छन् ।

दुर्गा उनै हुन् जो गत प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापासँग पराजित भएकी थिइन् । अब हरुवा नेतालाई राष्ट्रिय सभा छिराउनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नै हस्ताक्षर गर्नुपर्नेछ । यो राष्ट्रपतिलाई विवादित बनाउन गठबन्धनले गरेको अर्को निर्णय हो ।