Breaking

नेता भेट्न जयशंकरलाई भ्याईनभ्याइ, प्रचण्ड र रामचन्द्रसँग खुला, ओली–देउवासँग गोप्य

कोकोसँग भेटे जयशंकरले


काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणमा छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार काठमाडौं ओर्लिएका उनी दिनभर आयोगको बैठक र उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहे ।
कुटनीतिज्ञबाट राजनीतिज्ञ बनेका भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार काठमाडौ ओर्लिए । बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका जयशंकर नेतृत्वको भारतीय प्रतिनिधिमण्डललाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका लागि काठमाडौं आएका उनी सिधैँ राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्न शितल निवास पुगेका थिए ।

राष्ट्रपतिसँगको शिष्टाचार भेटमा नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तनले पारेको असरको न्यूनीकरण, जलविद्युत विकासको सहकार्यमा जोड दिइयो । राष्ट्रपति पौडेललाई भेटे लगत्तै विदेशमन्त्री जयशंकर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारस्थित निवासमै भेट्ने कार्यतालिका रहे पनि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । उनले उच्चस्तरीय राजनीतिक भेटघाटपछि नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भए ।

बैकठ अघि नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भयो । सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पंकज अग्रवालले सम्झौतामा हस्ताक्षर गरे । लगत्तै भएको एक घण्टा लामो नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा दुईपक्षीय विषयमा छलफल भयो ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री जयशंकरको संयुक्त अध्यक्षतामा बसेको सातौँ परराष्ट्रमन्त्रीस्तरीय बैठकमा दुई देशबीच विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर भएको छ । आगामी १० वर्षभित्र नेपालबाट भारतमा १० हजार मेगावाट बिजुली निर्यातसहित चारवटा सम्झौतामा हस्ताक्षर भएको हो । ‘कनेक्टिभिटी, ट्रेड, वाटर एसोसियट र पावर ट्रेडसँग सम्बन्धित रहेका छन् । क्रस बोर्डर ट्रान्समिसन लाइन १३२ केभीको उद्घाटनसमेत गरिएको छ ।

परराष्ट्रमन्त्रीस्तरीय बैठकमा दुई पक्षीय सम्बन्ध, व्यापार, आर्थिक र हवाई तथा रेल सम्पर्क परियोजना, कृषि, उर्जा, जलस्रोत, पर्यटन, विपद् व्यवस्थापन, जनस्तरको सम्बन्ध र साँस्कृतिक आदानप्रदानका साथै विकास साझेदारीका विभिन्न पक्षमा सहमति भएको भारतीय विदेशमन्त्री जयशंकर आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

विदेशमन्त्री जयशंकरले बिहीबारै नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् । साँझ परराष्ट्रमन्त्री एजपी साउदले आयोजना गरेको रात्रीभोजमा सहभागी हुँदै छन् । शुक्रबार पशुपतिनाथ मन्दिरको दर्शन पश्चात उनी स्वदेश फर्किनेछन् ।