Breaking

देउवा पेल्न प्रचण्डको ओली अस्त्र, माधवको छटपटी, महागठबन्धनमा कसको स्वार्थ के ? जित्ने को ?


काठमाडौँ – राष्ट्रिय सभामा एमालेलाई भाग दिने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावले सत्ता गठबन्धनमा प्रवेश पाउँदा यसका विभिन्न कोणबाट चर्चा सुरु भएको छ ।

कतिपयले यसलाई कम्युनिस्ट एकताको पूर्वतयारीका रुपमा हेरको छन् भने कांग्रेसले फेर्न लागेको बाटोसम्म यसलाई जोडर टिप्पणी भइरहेको छ । जसलाई माओवादीले देशमा विकसित प्रतिकुल अवस्थामा राष्ट्रिय शक्ति एकजुट हुनुपर्ने आवश्यकतासंग जोड्दा आखिर भित्रभित्र भने के पाक्दै छ त ?

व्यक्तिगत नभए पनि राजनीतिक रुपमा जानी दुश्मन केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सुटुक्क बालुवाटार बोलाएर गोप्य वार्ता गरे । द्वन्द्वकालीन मुद्दादेखि वर्तमान राजनीतिक परिस्थितिमा सत्ता र प्रतिपक्षको भेटलाई स्वभाविक मानिएको थियो । हुन त उनीहरु बाहिर भिड्ने र भित्र मिल्ने उत्कृष्ट राजनीतिक आचरण भएकै नेताहरु हुन् । तर आफ्नै गठबन्धनलाई मिलाउन नसकिरहेको अवस्थामा एमालेलाई पनि राष्ट्रिय सभाको केही हिस्सा दान दिने विषयले भने फरक बाटो समात्ने चर्चाले अहिले बजार तातिएको छ ।

ओलीसँग यो विषयमा कुराकानी भएपछि वर्तमान राजनीतिक परिस्थितिमा सबै एक ठाँउमा उभिनु पर्ने प्रचण्डले सत्ता गठबन्धनलाई बताएका थिए । जसलाई एमालेकै केही नेताले सत्ता गठबन्धनभित्र प्रचण्डले खेलेको एमाले कार्डसमेत भनेका छन् । तर मनमा लड्डु फुटेको एमालेले यो बिचमा कांग्रेसलाई नै अफर गर्न भ्यायो भने राष्ट्रिय सभामा ६ सिट माग गर्न थालिसकेको छ ।

यसरी एमालेमा बढेको आत्मविश्वास, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाकै बिच बढ्न थालेको नोकझोक अनि विदेशीहरुको भ्रमणले महागठबन्धन बन्न लागेको यो परिस्थिति रोचक ढंगले अघि बढेको छ । तर यसको आधार टीआरसीलगायत भनेको कांग्रेसले लगायत भित्र के पर्छ भन्ने प्रष्ट पार्न सकेको छैन ।

कतिपयले व्यवस्थाको हिमायती ठान्नेहरु नै सत्तामा रहेका बेला राष्ट्रिय सभा दलीय सिण्डिकेट बन्न दिन नहुने बाध्यताका रुपमासमेत यसलाई व्याख्या गरेका छन् । केहीले कोशीमा हुन सक्ने बागी रोक्न तथा दबाब देखाएर प्रचण्डलाई घेराबन्दी गर्न कांग्रेसकै रणनीतिका रुपमासमेत यसलाई बुझेका छन् । तर के माओवादीको स्वार्थ भने टीआरसी टुङग्याउनु मात्र हो त ? वा कांग्रेसले हिन्दुसापेक्ष भन्दै अंगाल्न लागेको बाटोसम्म यसले छुन्छ ? कांग्रेसले सरकारलाई अपनत्व नदिएकै कारण आफू सकसमा पर्ने गरेको त प्रचण्डले सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

हुन त माओवादी भन्दा तल्लो हैसियतमा पुग्न लागेको एमालेलाई पनि गठबन्धनमा घुस्नु पर्ने बाध्यता छ । यसले गठबन्धनमा अविश्वासको पैदा गर्न पाउने सुविधामा रहेको एमालेसमेत एक्लै सत्तामा जान सक्दैन । कहिकतै कसैलाई बोक्नै पर्ने बाध्यतामा एमालेसमेत रहँदा राजनीतिक विश्लेषकहरुसमेत महागठबन्धन बन्नै नसक्ने बताउँछन् । कि कांग्रेस, एमाले कि माओवादी र एमाले एक ठाँउमा उभिने अवस्था रहदाँ एउटा पार्टी बाहिर आउनुको विकल्प नभएको उनीहरुको तर्क छ । यो अवस्थामा महासमिति बैठकबाट हिन्दु धर्मका बाटो अंगाल्ने कांग्रेसको संकेत, सडकमा बढेको व्यवस्था विरोधी आवाजले प्रचण्ड अतालिएका नै छन् । फलत : ओलीको हात समाउनु कांग्रेस भन्दा यही उत्तम विकल्प भएको प्रचण्डको आत्मअनुभवका रुपमासमेत हेरिएको छ ।

राजनीतिक विश्लेषक प्रा.डा.धनबहादुर कुँवर पनि यसलाई विश्वास अभावको खेलका रुपमा अथ्र्याउछन् । यद्यपि तत्कालका लागि यही गठबन्धन नै अघि बढ्ने पक्का हुदाँ एमालेको प्रवेश दुवै पक्षले विकल्प तयारी भएको उनी तर्क गर्छन् ।

आगामी निर्वाचनबाट गठबन्धन गर्न नहुने भन्दै कांग्रेसभित्रको बहस, कम्यनिस्ट फुटाएर उसैले गरिरहेको मोज लगायतका विषयले पनि प्रचण्ड–ओली नै नयाँ ढंगबाट सोच्नुपर्ने बाध्यतामा छन् । मुख्य कुरा त सत्ता पक्षले यस्ता अवसरहरू प्रमुख प्रतिपक्षीलाई पनि बाँड्ने प्रचलन सत्ता राजनीतिको विशेषता होइन । जसले महागठबन्धनको प्रयास या एमालेलाई जिरो नबनाउने प्रचण्डको प्रस्ताव ससर्त रहेको बुझ्न गाह्रो छैन । जो देउवाको दबाबबाट बच्न र प्रतिकुल अवस्थामा साथ खोज्दै प्रचण्डले प्रयोग गर्ने पक्का छ । यता लाजै पचाएर गाह्रोसाह्रोमा काँध थाप्ने त एमालेको विशेषता नै हो ।