Breaking

राष्ट्रिय सभामा एमालेलाई सिट दिन माधव नेपाल असहमत, बैठक निष्कर्षविहीन


काठमाडौं — राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

बिहान कुनै सहमति नजुटेपछि आजै बेलुका फेरि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने एक नेताले बताए ।

बुधबारको बैठकमा नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रिय सभामा केही सिटमा भाग खोजेका थिए । प्रधानमन्त्री प्रचण्डले, ओलीले आफूहरुलाई राष्ट्रिय सभामा शून्य नबनाउन भनेको बैठकका सहभागीहरुलाई सुनाएका थिए । एमालेले प्रस्ताव ल्याएपछि त्यसमा छलफल गर्ने र सिट बाँडफाँटको टुंगो लगाउने भन्दै बैठक बिहीबार बिहानसम्मका लागि स्थगित भएको थियो ।

यद्यपि आज बिहानको बैठकमा शीर्ष नेताहरुले कुन-कुन दललाई कति-कति सिट भाग लगाउने भन्ने विषय सार्वजनिक गरेनन् ।