Breaking

राप्रपाभन्दा माथि उठे पूर्वराजा, मनिषा र दुर्गा प्रसाईं प्यारा, लिङ्देन र मिश्र मिल्ने कि सकिने ?


काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले एक पछि अर्को गर्दै राजावादीलाई भेट्न थालेका छन् । वीरगन्जमा नागरिक अभिनन्दन लिएपश्चात सक्रिय बनेका उनले यो बिचमा कलाकारदेखि अभियन्तासम्म भेटेका छन् । आफू अनुकुल वातावरण बन्न लागेको महसुस ज्ञानेन्द्रले गरेको विश्लेषण गर्ने ठाँउ हुँदा भेटघाटलाई शक्ति सञ्चयका रुपमा हेर्न सकिन्छ । तर शक्ति एकीकृत गर्न भइरहेको उनको प्रयासविपरीत साच्चैको राजावादी भन्ने दौड सुरु भएको हो ?

नागरिक अभिनन्दन ग्रहण गर्न वीरगन्ज पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डबारे सार्वजनिक अभिव्यक्ति नै दिए । आफ्नो परिवारप्रति भ्रम फैलाएको भन्दै गुनासो गरेका उनले परिवर्तन होस् भनेर अवस्था सुधार्न दलहरुलाई देश सुम्पिएको बताए । १५ वर्ष अघिको पत्रकार सम्मलेन सम्झिदै उनले परिवर्तन पछिको व्यवस्था र राजकाजप्रति तीव्र असन्तोष प्रकट गर्दै जनतामा चरम निराशा छाएको दाबी गरे । अर्थात निकै खुलेर प्रस्तुत भएका उनी माहोल आफ्नो पक्षमा पार्न हरतरहले प्रयासरत देखिन्थे । हुन पनि उनको पक्षमा अहिले अभिनेत्री मनिषा कोइरालादेखि अभियन्ता दुर्गा प्रसाईसम्म छन् । यहि कारण यस्ता शक्तिलाई एकीकृत गर्न लागी परेका पूर्वराजाले देशको समस्या समाधानका लागि राजावादी शक्ति एकजुट हुनुपर्ने आशय भेटहरूमा व्यक्त गर्दै आएका छन् । सोहीअनुसार पूर्वराजाकै ब्याक सपोर्टमा दुर्गा प्रसाईँले अभियान सञ्चालन गर्दै आएको आरोपसमेत लाग्ने गरेको छ ।


यहीबीचमा कोइराला र प्रसाईबीच पनि भेट भएको छ भने भेटपछि प्रसाईले पूर्वराजा नै भेटिसकेका छन् । मनिषासँगको भेटले काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर सुस्ताइरहेका प्रसाईं उत्साही देखिँदा के उनीहरुबीच मोर्चाबन्दी नै हुन लागेको हो त भन्ने चर्चासमेत छ । यसअघि नै कोइराला र पूर्व युवराज्ञी हिमानी शाहसँग पनि भेटघाट भएको छ । कोइरालाले सामाजिक सञ्जालमार्फत पूर्व युवराज्ञी शाहसँग भेटघाट भएको र अर्थपूर्ण कुराकानी भएको बताएकी छन् भने उनको निरन्तरको भेटघाट अर्थपूर्ण छ । जो गत निर्वाचनमै राप्रपालाई भोट माग्दै हिडेकी थिइन् भने उनको अहिलेको कदम भित्रभित्रै राजतन्त्रको पक्षमा माहोल बनाउन उन्मुख देखिएको छ ।

यता गत महिना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेतालाई सामूहिक रुपमा भेटेका राजाले प्रसाईंसँग भने एक्लै भेटेका छन् । लिङ्देनपछि केशरबहादुर विष्टसहितका केही नेताहरुलाई पनि शाहले सामूहिक भेट गरेका थिए । जहाँ आन्दोलनलाई एकीकृत गरेर लैजाने सल्लाह भएको खबरहरु बाहिरिएका छन् । तर राप्रपाभित्र भने अहिल्यै पूर्वराजा ल्याउने कि पर्खिने भन्नेमै विवाद छ । उनीहरु केन्द्रीय समिति ठूलो कि कार्य सम्पादन समिति ? भन्नेमै विभाजित देखिँदा पार्टी अध्यक्ष र निर्देशन समूहबीच ‘शीतयुद्ध’ शुरु भएको हो । अमेरिकामा बच्चा जन्माउने र छोरी पढाउने पठाउने विषयले राजेन्द्र लिङदेन र रेखा थापा आ–आफैँ भिड्दा अर्की कलाकार मनिषा कोइराला र अभियन्ता प्रसाईले आन्दोलन हाक्ने सपना ज्ञानेन्द्रले देख्न थालेका हुन् । आफ्नो हारमा पूर्वराजामाथि रिस पोख्नु गल्ती भएको कमल थापाको आत्मसमीक्षा र ठूला पार्टीमै बढिरहेको असन्तुष्टिले उनको सक्रियता जोडिदा सडक र सदन दुवै प्रयोग गर्ने रणनीतिमा ज्ञानेन्द्र छन् भन्ने विश्लेषण सुरु भएको छ ।

हुन त लामो समय भारतीय सिने उद्योगमा बिताएर फर्किएकी मनिषाको राष्ट्रवाद कतिले पत्याउलान् प्रश्न नै छ । त्यस्तै एकचोटी धोका दिइसकेका प्रसाईंले बोलाउँदैमा नागरिक फेरि किन सडकमा उत्रिन्छन् ? अर्को प्रश्न छ । आफैँ भिडिरहेको राप्रपा जस्तो शक्तिले कसरी राजावादी शक्तिको नेतृत्व गर्न सक्छ ? आशंका त्यहाँ पनि छ । यी सबैको समाधान खोज्न भेट्ने र मिलाउने रणनीतिमा निर्मल निवास सक्रिय रहेको प्रष्ट हुँदा अधिंकाश पुराना दल र नेताको मौनतासमेत गज्जबको छ ।