Breaking

देश लुट्नमा कर्मचारीले नेता टपे, लोकसेवाको दम्बमा भ्रष्टाचारमा लिप्त (भिडियोसहित)


काठमाडौँ – स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रमा त्यही स्थायित्वको दम्भले सेवक कम शासक प्रवृत्ति बढी देखिने गरेको छ । फलत सेवा प्रवाह होस् वा सुशासन र प्रशासनिक सुधारका सवालमा कर्मचारी संयन्त्र सधैँ आलोचना र चौतर्फी घेराबन्दीमा पर्दै आएको छ ।

तर बिडम्वना कर्मचारी संयन्त्र सुध्रिनुको सट्टा झन दलीय संगठनमा आबद्ध कर्मचारीहरुको हैकम बढ्दो छ । सरकारी कार्यालयमा कर्मचारीबाट सेवा पाउन निक्कै सकस हुन्छ, बरु उनीहरुको दादागिरी भने ठिट लाग्दो रुपमा बढ्दै गएको छ ।
प्रधानमन्त्रीको तेस्रो इनिङ सुरु भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नजर कर्मचारी प्रशासनमा परेको थियो । प्रधानमन्त्री प्रचण्डले सरकारका सचिवहरुको कुरा सुन्दै ३० बुँदे निर्देशन मात्र दिएनन् सहयोगको अपेक्षासमेत गरेका थिए । कर्मचारीतन्त्रभित्रको अराजकता र आत्मकेन्द्रित प्रवृत्ति अन्त्य गर्न आग्रह नै गरेका थिए ।

भ्रष्टाचारीविरुद्ध आफ्नो सरकारले सबैभन्दा धेरै कारबाही गरेको भन्दै प्रधानमन्त्री दाहालले दाबी पनि गर्दै आएका छन् । तर कर्मचारी संयन्त्रको सहयोग कस्तो रह्यो प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्तिहरु नियाल्ने हो भने अनुमान लगाउन सहज छ ।

प्रधानमन्त्रीको एक वर्षे अवधिमै प्रधानमन्त्री प्रचण्ड कर्मचारी संयन्त्रसँग हैरान भएका छन् । उनी हायलकायल नै भइसकेका छन् । सरकारका मन्त्री र कर्मचारीबीचको टकरावको चर्चा गरिसाध्य छैन । कर्मचारीको पेलानमा स्थानीय तहका जनप्रतिनिधिले रुवाबासी नै मच्चाउँदै आएका छन् । कर्मचारीको हर्कत कतिसम्म हुन्छ ? केन्द्र सरकारलाई नै धक्का दिइरहेको काठमाडौ महानगरपालिकाका प्रमुख बालेन शाह र महानगरको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाबीचको टकराबलाई हेरे पुग्छ । सिंगो राज्य संयन्त्रलाई टक्कर दिने बालेनलाईसमेत उनका कर्मचारीले मात खुवाइदिए । स्पष्टीकरण नै सोध्न बाध्य बनाए । केन्द्रदेखि वडा तहसम्मै सेवा प्रवाहका सवालमा कर्मचारी प्रशासनले सेवाभन्दा सास्ती बढी दिने गरेको नजिर नौलो होइन ।

पुरातनवादी शैली र सोच भएका कर्मचारीका सामुन्ने अहिलेका बौद्धिक ठान्ने कर्मचारीहरुले आफूलाई शासक नै ठान्छन् । अपवादबाहेक सिंगो कर्मचारीतन्त्र घुषखोरी, चाप्लुसी र राजनीतिज्ञको पिछलगु हुँदै आएका छन् । प्रमाणको रुपमा सीमा नाकाबाट लागुऔषध ओसार्नेदेखि नागरिक बेच्नेसम्मका काममा कर्मचारीको संलग्नता नियाले पुग्छ । कर्मचारीहरु सेवा प्रवाहभन्दा घाम ताप्न र पैसा छाप्नमै व्यस्त हुने गरेका छन् ।

विमानस्थल भन्सार सुन तस्करीमा कर्मचारीहरुको संलग्नता र उनीहरुको दादागिरी कम छैन । अर्कोतर्फ कर्मचारीहरुको आर्थिक अनियमितता, भ्रष्टाचारसहितको अराजकता कति छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कर्मचारीमाथि परेका उजुरीको चाङ हेरे पुग्छ । तल्लो तहदेखि केन्द्रसम्म खरदार, सुब्बादेखि उच्च तहसम्मै सानादेखि ठूला भ्रष्टाचार प्रकरणमा कर्मचारीहरु मुछिनु सामान्य बन्न थालेको छ ।

नेताको चाप्लुसी गरेकै भरमा राजनीतिक दलको साहरामा स्थायी संयन्त्रको दम्भ, दादागिरीमा परिणत भइरहेको छ । विमानस्थलमा भन्सार अधिकृत र प्रहरी जवानबीच भएको कुटाकुट र संगठनको सहयोगमा आन्दोलनमा उत्रिएका कर्मचारीको रवैया अर्को उदाहरण हो । पछिल्लो समय राजनीतिक संगठनका आडमा नेताको भन्दा कर्मचारीहरुको दादागिरी बढेको छ । कर्मचारीहरु छाडेको साँढेझै भएका छन् भन्दा फरक नपर्ला ।

समग्र मुलुकको विकास, सुशासन र सेवामा निराशा बढ्नुमा पनि कमर्चारीतन्त्रमा छाएको बेथिति एउटा मुख्य कारण मान्न सकिन्छ । कर्मचारी संयन्त्रभित्र ब्याप्त बेथितिका बीच पनि केही यस्ता राष्ट्र सेवक पनि छन्, उनीहरुले इतिहाससमेत रहेका छन् । यद्यपि, सच्चा राष्ट्रसेवकहरु भने बेथिति सुधारको कार्यमा फिक्का देखिने गरेका छन् ।