Breaking

ओली हारुन्जेल माधवको जित, झलनाथ र रामकुमारी नै बाधक


काठमाडौँ – नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद् बैठक आजदेखि काठमाडौंमा सुरू भएको छ । आगामी महाधिवेशनका लागि आवश्यक विधानमा छलफल गर्न बस्ने बैठक दुई दिनसम्म चल्ने छ । तर, अहिलेसम्म पनि एकीकृत समाजवादीले फुटको औचित्य पुष्टि गर्नै नसकेको आरोप लागिरहँदा संघीयता जोगाउनुले नै पार्टी फुटको औचित्य पुष्टि गरेको एकीकृत समाजवादीको दाबी छ ।


पार्टी फुटको दुई वर्ष भइसक्दा पनि अहिलेसम्म औचित्य पुष्टि गर्न नसकेको आरोप खेप्दै आएको नेकपा एकीकृत समाजवादीको संघीय राजधानीमा केन्द्रीय परिषद्को दोस्रो बैठक चलिरहेको छ । दुई दिनसम्म चल्ने बैठकमा आन्तरिक विधानमा रहेका कमिकमजोरीलाई सुधार्ने, कमिटिको संरचना कस्तो र संख्या कति राख्ने, आगामी जेठमा हुने महाधिवेशनमा नेतृत्व चयन गर्ने लगायतका आवश्यक काम गर्न सहज बनाउनका लागि पार्टी परिषद्को छलफल जुटेको हो । राष्ट्रिय दलको हैसियत बनाउन नसकेर छटपटीमा रहेका पार्टी अध्यक्ष माधवकुमार नेपालले लिखित दस्तावेज पेस गर्दै गर्दा अझै पनि सत्ता नै उनको प्राथमिकतामा रहेको देखिन्छ । २०७९ को निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरूमा केही फेरबदल आए पनि राजनीतिक अस्थिरता कायमै रहेको बताएका नेपालले मुलुकको वर्तमान राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेको भन्दै गठबन्धन फुट्नु नहुने पक्षमा उभिएका छन् ।

तर, एमाले गठबन्धन तोड्न उत्दत रहेको नेपालको तर्क छ । विधान मस्यौदाको छलफलमा पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्न नछुटाएका उनले जनताको निराशा उपयोग गरेर प्रतिगमनकारीले अस्थिरता पैदा गराउन खोजेको आरोप लगाएका छन् । ओलीको असफलतालाई नै आफ्नो सफलताका रुपमा व्याख्या गरेका नेपालले राष्ट्रिय सभामा ओलीको हारलाई एकीकृत समाजवादीको उपलब्धि रहेको जिकिर गरेका छन् ।

एकीकृत समाजवादी पार्टीको प्राणमा सास हाल्दिने काम नै प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले गर्दै आएको सर्वविदितै छ । प्रचण्डकै पुच्छर भएर स्थानीयदेखि प्रदेश हुँदै प्रतिनिधि र राष्ट्रिय सभामा पनि पार्टीको उपस्थिति गराएको एकीकृत समाजवादी पार्टी भित्रबाट भने खोक्रो अवस्थामा छ । पार्टीको सचिव रामकुमारी झाँक्रीदेखि सम्मानित नेता झलनाथ खनालले एकपटक होइन, बारम्बार माधवको कार्यशैली र निर्णयको खण्डन गरिरहेका हुन्छन् ।

कार्यकर्ताहरू पनि जिल्ला नै खाली हुने गरि पुरानै घर एमाले फर्किरहेका छन् । पार्टीलाई प्रचण्डले बोकिरहेको र कुनै दिन प्रचण्डले माओवादीमा नै विलय गराउने चर्चा चलिरहँदा कसैलाई कसैले बोक्न आवश्यकता नै नरहेको एकीकृत समाजवादीका नेताको भनाइ छ ।
एकीकृत समाजवादीले माओवादीसँग सहकार्य गर्न आवश्यकता नै छैन भनिरहँदा, त्यही माआवादीकै फेरो समातेर दुई वर्षमा दुई महिनामात्रै सत्ता बाहिर बसिरहेको छ । प्रचण्डको सरकारमा सामेल भइरहँदा गर्नै पर्ने कामको सम्बोधन हुन नसकेको समीक्षाको विषय भएको पार्टीका नेताहरू स्वीकार्छन् । तर, सत्ता र शक्तिबाट विमुख हुन नसकेर एमालेबाट फुटेको औचित्य पुष्टि हुन नसकेको कुरालाई भने एकीकृत समाजवादी पार्टीका नेताहरु स्वीकार्न चाहँदैनन् । पार्टी फुटकै कारण धरापमा रहेको संघीयता बचेको एकीकृत समाजवादीको ठम्याई छ । पश्चगामी र पुनरुत्थानवादी शक्तिको हातबाट बचाउनुले नै पार्टी फुटको औचित्य पुष्टि हुने उनीहरूको दाबी छ ।

ओलीको रिसकै कारण पार्टी फुट्दा सुरुवाती दिनहरूमा नेता र कार्यकर्ता व्यवस्थापनमा सहज भए पनि अहिले त्यही नै गलपासो भएको छ । गुटको व्यवस्थापन नहुँदा पार्टी फुटाएका माधवलाई अहिले नेता र मन्त्रीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । जसका कारण कार्यकर्तासमेतको उच्च महत्वाकांक्षाले तीव्र असन्तुष्टि बढ्दा उनकै विकल्प खोज्ने आवाजसमेत दुई वर्षको अवधिमै उठेको छ । फलतः विधान मस्यौदामै उमेर हदको एजेण्डालाई प्राथमिकतामा राखिएको छ ।

ओलीलाई गाली र गठबन्धनको साहरामै राजनीति गरिरहेका माधव न त वैकल्पिक भएर उदाउन सक्छन् न त पुरानै विरासत फर्काउन सक्ने अवस्थामा छन् । प्रचण्डको साथ छ भनेर आत्मरतिमा रमाइरहेका माधव राजनीतिक धरापमा हुँदा उनको छटपटी झन् महाधिवेशन नजिकिँदै गर्दा झन बढेको छ ।