काठमाडौं — नेपाल सुपर लिग (एनएसएल ) ले आज नयाँ च्याम्पियन पाउँदैछ । त्यसका लागि साविक विजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्नैदछन् । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।
पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्स यसअघि नै एलिमिनेटरमा ललितपुरसँग पराजित हुँदै बाहिरिएपछि एनएसएलले नयाँ विजेता पाउने पक्का भएको हो ।
पहिलो संस्करण फाइनल पुगेपनि पराजित भएको धनगढी एफसी लगातार दोस्रोपटक फाइनल खेल्दैछ र उसलाई फाइनलको अनुभव थाहा छ । ललितपुर भने पहिलोपटक फाइनल पुगेको हो र उसका लागि यो नयाँ अनुभव हुनेछ ।
यसपटक रमाइलो संयोग के रह्यो भने धनगढी र ललितपुर दुवैले एउटै टिम पोखरा थण्डर्सलाई हराएर फाइनल पुगेका हुन् । फ्रेन्चाइज लिगहरुमा लिग चरणको खेलपछि प्लेअफका खेलहरु हुने भएकोले शीर्ष दुईमा रहने टिमले फाइदा पाउँछन् ।
लिगमा पोखरा शीर्ष स्थानमा थियो भने धनगढी दोस्रो तथा ललितपुर चौथोमा थियो । पहिलो क्वालिफायर पोखरा र धनगढीबीच भयो । धनगढीले पोखरालाई पेनाल्टी सुटआउटमा हराएर फाइनल पुग्यो । त्यसपछि ललितपुरले एलिमिनेटरमा काठमाडौंलाई पराजित गर्यो । तर, ललितपुरले फेरि अर्को खेल खेल्नुपर्यो । त्यो खेल पोखरासँग थियो । पोखरालाई २(१ ले पराजित गर्दै ललितपुरले फाइनलमा धनगढीसँग उपाधि भेट पक्का गरेको हो ।
लिगमा शीर्ष स्थानमा रहेर दुई पटक अवसर पाउँदा पनि पोखरा भने फाइनल पुग्न सकेन ।
पहिलो संस्करणमा फाइनल पुगेर पराजित भएको धनगढी यसपटक त्यो गल्ती दोहोर्याउने पक्षमा छैन । त्यसैका उनका मुख्य प्रशिक्षक युगल किशोर राईले बारम्बार भन्दै आएका छन् यसपटक च्याम्पियन नै बन्ने हो ।
‘हामी पुरानो गल्ती दोहोर्याउन चाहँदैनौँ । फाइनलमा जसले इन्डिभिडुअल र टिम क्यारेक्टर देखाउँछ त्यो म्याटर गर्छ,’ शुक्रबार भएको फाइनल अघिको प्रि म्याचका राईले भने ।
यसपटक देवेन्द्र तामाङको कप्तानीमा खेलेको धनगढीमा आशिष चौधरी मार्की खेलाडी छन् । यस्तै घरेलु फुटबलमा चर्चित ओलावाले आफिज, फोडे फोफानादेखि अनुभवी विदेशी डियाग्ने फालोउ र रिचर्ड तथा पछिल्लो समय नेपाली लिगमा चर्चित अहमद हिजाजी र मोहमद ताहा पनि धनगढीको टिममा छन् ।
उता ललितपुरमा कप्तान अनन्त तामाङसहित राष्ट्रिय टिमकै चार खेलाडी छन् । दिनेश हेन्जन, सेसेहाङ आङदम्बे र सनिश श्रेष्ठ राष्ट्रिय टिमका खेलाडी हुन् । यस्तै गोलकिपरमा फ्रान्सका जेफ्री बाल्टुस तथा फरवार्डमा फ्रान्सकै पापा इबकोउ केबे र नाइजेरियाका इमोह इजेकेल छन् । घरेलु फुटबलमा अनुभवी नाइजेरियाका डिफेण्डर ओमाला करिमब पनि ललितपुरमा छन् ।
यस बाहेक डिफेण्डर सन्जित राईले राम्रो प्रदर्शन गरिरहेका छन् । तर क्वालिफायर टु मा पोखराविरुद्ध रातो कार्ड पाएका भारतीय खेलाडी निखिल कदम ललितपुरको टिममा हुने छैनन् । यस्तै विवेक पौडेल र रोशन पहारी जस्ता खेलाडी चोटका कारण नखेल्न सक्छन् ।
त्यसैले फाइनलमा ललितपुरले केही खेलाडीलाई गुमाउने प्रशिक्षक इयान आन्द्रे गिलानले पनि स्वीकार गरेका छन् ।
उनले फाइनल यात्रालाई रोलर कोस्टर जर्नी मानेका छन् र फाइनल कठिन हुने बताए । ‘फाइनल कठिन हुनेछ । किनकि यो प्रतियोगिताको क्लाइमेक्स हो,’ गिलानले प्रि म्याचमा भने । उनले फाइनलमा रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने बताए ।
यसपटक दुवै टिमका कप्तान डिफेण्डर छन् र राम्रो प्रदर्शन गरिरहेका छन् । पहिलो सिजनमा फाइनल पुग्ने दुवै टिमका कप्तान गोलकिपर थिए । काठमाडौंका कप्तान र मार्की दुवै विकेश कुथु थिए । धनगढीको मार्की विशाल राई हुँदा कप्तान गोलकिपर किरणकुमार लिम्बु थिए ।
यसपटक पनि फाइनल खेल्ने एक टिम ललितपुरको मार्की र कप्तान अनन्त तामाङ छन् । तर धनगढीको भने पहिले जस्तै मार्की र कप्तान फरक छन् । मार्कीमा आशिष चौधरी हुँदा कप्तान देवेन्द्र तामाङ छन् । देवेन्द्रले यस सिजन सबै ९ खेल पूरा खेलेका छन् र उनले कुनै कार्डको सामना गर्नुपरेको छैन । दुवै कप्तानले फाइनलमा बेस्ट प्रदर्शन गर्ने बताएका छन् ।
दोस्रो संस्करणको च्याम्पियनले नगद ७० लाख प्राप्त गर्नेछ र एनएसएल २०२३ को नयाँ आकर्षक ट्रफी पनि प्राप्त गर्नेछ । उपविजेताले २० लाख पाउनेछन् । यो पुरस्कार राशि पहिलो सिजनको भन्दा दोब्बर हो ।
प्रतिक्रिया