काठमाडौँ — सानेपामा जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक रस्साकस्सीका साथ चलिरहेको छ । धर्मनिरपेक्षतादेखि मन्त्री परिवर्तनसम्मको विषयमा चर्को आवाज उठिरहँदा केही फरक दृश्यहरुसमेत देखिए । राष्ट्रिय सभालाई ‘डम्पिङ साइड’ बनाउन हुने नहुने बहससमेत बैठकमा उठ्दा इतर गुटका नेताको मनमौजी चाला पनि चर्चामा छ ।
मन्त्रीहरुका कामकारबाहीलाई लिएर आलोचनाको आधार नै बनेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शुक्रबार बालकृष्ण खाण पनि सहभागी भए । ६ महिने जेलयात्राबाट फर्किएका उनी पुरानै शैलीमा प्रस्तुत भए । सहकर्मीसँग कुनै शंकोच नमानी कुरा गरेका उनले सन्चो बिसन्चो सोध्न भ्याए । तर खाणलाई पार्टीको चिन्ता लाग्दा इतर पक्षका नेता डा.शेखर कोइराला भने तेह्रथुम सयरमा थिए ।
सहमहामन्त्री भीष्मराज आङ्देम्बे र अर्का नेता प्रदीप पौडेललाई संगै लिएर हिँडेका उनी पार्टीको बैठकमा भन्दा उत्रै मस्त देखिन्थे । अर्को विषय धर्म निरपेक्षताले पनि वैठकमा प्रवेश पाएको छ । शंकर भण्डारी जस्ता नेताहरुले चैतमा संविधान खारेज हुने भविष्यवाणी गर्दा यसअघिबाटै सभापति शेरबहादुर देउवाले पनि हिन्दु धर्मको विषयलाई बहसमा ल्याएका छन् । भारतमा बढ्दो हिन्दुत्वको मुद्दा र यसलाई नबोके आगामी सत्ता यात्रामा संकट देखेका उनले पार्टीबाटै निर्णय गराउन सक्ने चर्चा छ । तर यही बिचमा केन्द्रीय समिति बैठकमा धर्मको विषय फरक ढंगबाट उठेको हो ।
अर्थात पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालाले धर्म निरपेक्षता हटाएर ‘धर्म राष्ट्र’ राख्नुपर्ने प्रस्ताव राखेका हुन् । नेपाली जनताको बहुधार्मिक चरित्रलाई हिन्दु राष्ट्र र धर्म निरपेक्षताले प्रतिनिधित्व गर्न नसक्ने तर्क गरेका उनले त्यसलाई धर्मनिरपेक्षताले समेत बोक्न नसकेको दाबी गरेका छन् । जसलाई कांग्रेसभित्र धर्मको राजनीतिले प्रवेश पाइसकेको ठहर गरेको छ ।
राजनीतिक विश्लेषकहरु भने देउवा हिन्दुधर्म सापेक्ष राज्यकै पक्षमा रहेको बताउँछन् । तर पश्चिमा राष्ट्रहरुले बढाएको दवावले हच्किएका कारण देउवाले यसलाइ एजेण्डाका रुपमा स्थापित गराउने महासमिति बैठक नै सार्दै आएको उनीहरुको तर्क छ ।
हुन त विदेशी शक्तिको साथ र पार्टीभित्रको अंक गणितले समेत बलियो रहेका देउवालाई प्रहार नै गर्न सक्ने हैसियतमा इतर पक्ष छैन । फलत ः केन्द्रीय समिति बैठक नै कर्मकाण्डीका रुपमा धेरैले व्याख्या गर्न थालेका छन् । योसँगै लाइभको व्यवस्थालाई नै हटाउने निर्णयमा पुग्नलाई भने मन माझामाझ गर्ने अवसरका रुपमा कांग्रेसले यो प्लटफर्मलाई प्रयोग गर्न खोजेको उनीहरु बताउँछन् ।
त्यस्तै राष्ट्रिय सभा ‘सजिलो जागिर’ बनाउन नहुने विषयसमेत बैठकमा उठेको छ । केन्द्रीय सदस्य रामहरि खतिवडाले राष्ट्रिय सभा उम्मेदवार छनोटको मापदण्ड स्पष्ट हुनुपर्ने बताँउदै संसदको माथिल्लो सदन डम्पिङ साइट हुन नहुने बताएका थिए । जसले चुनाव हारेर पनि संसदमा पुग्ने धेरैको सपनामा ब्रेक लाग्ला त भन्ने चासो पनि बेढेको छ ।
लामो समयदेखि विवादमा रहेको मर्यादाक्रमको विवादले पनि बैठकमा प्रवेश पाएको छ । यही विवादले उपसभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालामध्ये एक जना उपस्थित भएको कार्यक्रममा अर्को नेता नजाने अवस्था बन्दा त्यसको निकास खोज्न मधु आचार्यले माग गरिन् । बालकुमारीको घटनाको विषयलेसमेत शुक्रबारको बैठकमा स्थान पायो । बालकुमारी घटनामा २ जनाको मृत्यु भएकोप्रति कांग्रेसले दुःख ब्यक्त गरेको छ । सो घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको कांग्रेसले छानबिन गरेर सत्यतत्थ्य बाहिर ल्याउनसमेत माग गरेको छ ।
दिलेन्द्रप्रसाद बडु लगायतकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाँउदा प्रधानमन्त्री आफैं छटपटीमा रहेकाले सरकारको डिफेन्स हुन नसकेको तर्कसमेत बैठकमा उठेका छन् । त्यस्तै ठूलो हिस्सा लिएको बिर्सिएर प्रचण्डले काम गर्न नसक्दा कांग्रेस पनि अपजसको भागिदार भएको बुझाईमा नेताहरु देखिएका छन् । तर आफ्ना मन्त्रीहरु पनि गुटकै भएको भन्दै तुष पोखेका उनीहरु यो पल्ट प्रचण्डले चाहेकै सेट निर्माण होस् र उनलाई प्रश्न गर्ने अवस्था सिर्जना नहोस भन्नेमै देखिएका छन् ।


प्रतिक्रिया