Breaking

प्रचण्डसँग हायलकायल देउवा–ओली, पाँचै वर्ष प्रधानमन्त्री, एक वर्षमा सबै स्वाहा (भिडियोसहित)

सरकार गफमा सीमित


काठमाडौँ – तेस्रो पटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डको एक वर्ष सत्ता गठबन्धन रिझाउन र सत्ता टिकाउनमात्रै केन्द्रित बन्यो । सत्ता टिकाउन उनले लगाएको जोड सरकारले दिने सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका काममा लगाएको भए परिणाम नै छुट्टै आउँथ्यो । तर उनले सधैं भनिरहे, ‘सरकारले राम्रो गरेको छ ।’ जसको अनुभूति जनताले भने गर्न पाएका छैनन् ।

संसदका दुई ठूला शक्तिलाई खेलाई खेलाई सत्तामा तेस्रो शक्तिका ३२ सिटे कमाण्डर प्रधानमन्त्रीको सिंहासनमा बसेको एकबर्ष बित्यो ।तर कुर्सी फोहोर भयो, फूर्ति देखिएन । सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउन र गठबन्धनका दल रिझाउन गरेको मरिहत्ते सरकारका काममा गरेको भए जनता खुशी हुने थिए, उनको तेस्रो कार्यकाल स्वर्णिम बन्नेमा शंका थिएन । तर अहिले जनता उनको बहिर्गमनभन्दा अरु पर्खिएका छैन ।

यही एकबर्षमा उनको सुशासन देखियो । सत्ता टिकाउन गरिएका जालझेल र तिकडमहरु छताछुल्ल भए ।आफ्नै नेता तस्करीमा जोडिए, छोरी एनसेल जस्तो बहुराष्ट्रिय घोटाला काण्डमा मुछिइन् । तर आफ्नी छोरीमाथि प्रश्न उठ्दा लोकतन्त्रमाथि हमला भएको देख्ने प्रचण्ड, दिनदिनै उनकै सरकारले जनतामाथि गरेको हमला देख्न चुकिरहेका छन् । यसैकारण पनि जनतालाई उनको बहिगर्मनभन्दा परेको पर्खाई छैन ।

गतबर्षको पुस १० मा बालुवाटारबाट देउवासँग भड्किएर बालकोट हानिएका प्रचण्डले ओलीको बार्दलीमा पुगेर हातमात्रै हल्लाएका थिएनन् । आफ्नै सहयात्री देउवालाई बालुवाटारको राजखानीबाट निकालेर आफु भित्रिएका थिए । सम्भवतः दोस्तीयारी र सम्झौतामा यो भन्दा ठूलो धोका हुनैसक्दैन । तर मिलाई मिलाई अरुलाई डुबाएर शक्तिमा तैरिने बानी परेका उनलाई यो सामान्य मञ्चनजस्तो मात्रै भयो ।

प्रधानमन्त्रीका लागि प्रचण्डले रचेको नाटक कुनै प्रहसनभन्दा कम्तिको थिएन । त्यसको चरम उत्कर्ष राष्ट्रपतिको निर्वाचनमा देखियो । एमालेलाई वचन दिएर बीचमै तोडि काँग्रेसका रामचन्द्र पौडेललाई सिंहासन थमाएका उनले सुवास नेम्वाङलाई पछारेका थिए । सम्भवतः उनकै झट्का पछि कमजोर बनेका नेम्वाङसंयोगले स्वर्गिय बने । देशको पहिलो वरियतामा चढ्ने सपना बुनेका उनी छोटो समयमै स्वर्गबासी भएपछि सम्भवतः प्रचण्डकै धोकाधडीको फाइल पल्टाउँदैछन्।

संसदीय व्यवस्थामा सबैभन्दा ठूलो दलकै नेतृत्वमा सरकार बन्ने पराम्परा छ । जनतालाई जसलाई बढी मत दिन्छ उ नै सरकारको हकदार हो । ३२ सिटे माओवादीका अध्यक्ष प्रचण्ड काँग्रेस र एमालेको मिल्नै नसक्ने धरातलमा टिकेर बाजी हाने ।यसलाई संसदीय व्यवस्थाकै धज्जी उडाएको अर्थमा हेरिएको छ । किनकि अहिले प्रचण्डकै सत्तोसराप गरिरहेको एमाले र सत्तामै बसेर प्रचण्डको हल्लुड बनिरहेको काँग्रेस पनि यसका मतियार हुन् । किनकि यी दुवै मिलेर एकले सत्ताको नेतृत्व गरेको भए अलिकति भएपनि संसदीय मर्यादा कायम हुन्थ्यो । तर उनीहरु यति निरीह बनेकी, प्रचण्डको कुशासन एकबर्षमात्रै होइन, पाँचै बर्ष झेल्ने सम्भावना व्यापक छ । किनकि काँग्रेस सत्तामा जान खोज्दा, प्रचण्ड एमाले खोज्दै भाग्नेछन् । एमाले सत्तामा पुग्न अहिले काँग्रेस तयार छैन ।

यो एक बर्षमा सुशासन प्रचण्डको दन्तबझानमात्रै बन्यो । न सर्वसाधारणको चाप हुने सरकारी निकायमा लाइन व्यवस्थाको अन्त्य गर्न सफल भए । न कुनै सहुलियतको अनुभूति जनताले गरे । ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी र सुन तस्करी जस्ता काण्डमा सुरुमा आक्रामक देखिए । तर आरोपीहरुले उन्मुक्ति पाए ।

अर्थतन्त्र सुधार र संक्रमणकालिन न्यायसम्बन्धी कानुन बनाउन सरकार असफल रह्यो ।प्रधानमन्त्री र अर्थमन्त्रीबीचको टसलले आर्थिक निकासामा समस्या हुँदा राज्यका सबै निकायमा संकटमा परे । प्रचण्डबाट राम्रो भयो भन्ने अर्को दोस्रो व्यक्तिबाट सुनिएको छैन । तर यो सरकारलाई राम्रो भन्ने पहिलो व्यक्ति उनी हुन्, जसले सधैं मपाइत्व गर्दै राम्रो गरिरहेको छु मात्रै भनिरहेका छन् । तसर्थ यो नै उनको अन्तिम भ्रम र अन्तिम अवसर हो भन्नेमा शंका छैन ।