Breaking

ओलीलाई टप्ने प्रचण्डको गफ, १५ पटक फेरिए प्रचण्ड, अब नयाँ अवतार कस्तो ? (भिडियोसहित)

प्रचण्ड सफल, देश असफल


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एकवर्षे कार्यकालको फेहरिस्त सुनाएका छन् ।

आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आशातित काम गर्न नसके पनि देश असफल नै हुने अवस्था भने नआएको बताए । एक वर्षमा जनचाहनाअनुसार काम गर्न नसकेका प्रचण्डले बाँकी एक वर्ष उत्पादनमूलक क्षेत्र र रोजगारी वृद्धिको क्षेत्रमा युद्धस्थरमा काम गर्ने अर्को सपना देखाएका छन् ।

प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गरे । जसमा प्रधानमन्त्री प्रचण्डले आफूले यो एक वर्षको अवधिमा गरेका काम र भावी योजना लगायतबारे जानकारी गराए । देशबाट दैनिक हजारौं युवाहरु पलायन, देशमा सम्भावना देख्नै छाड्नु, तथा संविधान र व्यवस्थामाथि प्रश्न उठ्नेलगायत विषयमा प्रधानमन्त्रीको गम्भीरता देखियो ।

आत्मालोचनासहित जनतालाई सम्बोधन गरेका प्रचण्डले सरकार असफल नै भएको स्वीकार गरे पनि आफ्नो हुटहुटीअनुसार काम नभएको तथ्यलाई भने स्वीकारेका छन् । देश कति बन्यो भन्नेमा नभई कति बन्न सक्थ्यो र के भइरहेको छ भन्ने समीक्षामा आफू रहेको उनले बताए । नेपाली समाजमा अत्यन्त चिन्ताजनक, चारैतिर हिनताबोध र नकारात्मकताको डढेलो लगाइएको आरोप उनको छ । ‘सकिँदैन’, ‘बन्दैन’ र ‘हुँदैन’ भन्ने नकारात्मकतालाई मलजल गर्न एकथरी तत्व नै सक्रिय रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डको सम्बोधनमा एक वर्षको अवधिमा उपलब्धि भएको छ भन्दा पनि बढी हुँदैछ, वा गरिंदैछमा केन्द्रित थियो । सरकारले आफ्नो महत्वपूर्ण उपलब्धी विद्युत व्यापारलाई मानेको छ । विद्युत विस्तार र पहुँच बढेसँगै अब देश नै उज्यालो बन्ने दिशामा रहनुलाई उनले लोकतन्त्रको महत्वपूर्ण उपलब्धि मानेका छन् । भारतसँग १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता, बंगलादेशसँग विजुली व्यापारको तयारी तथा नेपाल–चीन जोड्ने चिलिमे–केरुङ २२० केभी प्रसारणलाइन अगाडि बढाउने सहमतिलाई उपलब्धि मानेका छन् । सरकारको विरोध गर्नेहरुलाई निराशावादी बताएका प्रचण्डले अहिले जस्तो आर्थिक सम्भावना नजिक इतिहासमा कहिले थियो र रु भनेर प्रश्न गरेका छन् । चालु खाता बचतमा जानु सरकारको गन्न सकिने उपलब्धि भएको उनको बुझाइ छ ।

हुन त प्रचण्डले प्रधानमन्त्री भएलगत्तै भाषणभन्दा काम धेरै गर्ने र औपचारिक कार्यक्रम उद्घाटन र समापनमा नजाने बताएका थिए । तर प्रचण्डको एक वर्ष कार्यक्रम उद्घाटन–समापन गरेरै सकिएको छ । सम्बोधनमा प्रचण्डले अब भने कार्यशैली बदल्ने बताए । बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको उनको भनाइ छ । सरकारको कार्यशैली बदल्न यो प्रस्थान विन्दु हुने भन्दै उनले यही साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने बताए । सरकारले सुरुवातीदेखि नै भ्रष्टाचारविरोधी अभियान चलाएको थियो । तर आफन्तहरु नै भ्रष्ट देखिन थालेपछि सरकारले सुशासनको तिलाञ्जली नै दिएको थियो । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले सुशासन अभियान कमजोर भएकोबारे बनावटी जवाफ दिए ।

बजेट निर्माणको परम्परागत तवर तरिकाले पुँजीगत खर्चमा ठूलो समस्या रहेकाले बजेट निर्माणको परिपाटी नै बदल्ने तयारीसमेत सुनाए । यस्तै विश्वविद्यालयमा राजनीतिक भागबण्डा रोक्दै प्राविधिक र दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षामा जोड दिने तथा युवा पलायत हुने डरलाग्दो अवस्था रोक्न छिट्टै बहुआयामिक कदम चाल्ने तयारी गरिहरेको समेत उद्घोष गरेका छन् ।

संघीयता गलत र महंगो भयो भन्नेहरुलाई आर्थिक हिसावकिताव नै देखाएका प्रचण्डले संघीयताको सुन्दर पक्ष जाजरकोट भूकम्पमा जनप्रतिनिधिको सक्रियतामा मापन गर्न आग्रह गरे । अहिलेभन्दा हिजो एकात्मक शासन राम्रो थियो भन्ने भाष्य बिलकुल भएको दाबी गरेका प्रचण्डले संघीयतासँग जोडिएका जटीलताहरु चाडै फुकाउँदै जाने बताए । यस्तै प्रधानमन्त्री प्रचण्डले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी भइरहेकोसमेत जनाए ।

मन्त्रीहरुलाई समेत असफल हुन कसैलाई पनि छुट नभएको बताउँदै कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई नैतिकताका आधारमा आफैँ पद छाड्न सार्वजनिक रुपमै चेतावनीसमेत दिए । सकारात्मक आशा जगाउन नसके आफू पनि पद ओगटेर नबस्ने उनले घोषणा गरे ।

आफ्नो सरकार सकेसम्म सफल देखाउन खोज्नु प्रधानमन्त्री र सत्तारुढ दलहरुका लागि जागिर होला । तर जनताका नजरबाट हेर्दा प्रचण्ड सरकारको यो वर्ष आशातित रहेन । देशले नयाँ जनादेश पाए स्थीरता र विकासको लय समात्ने सपना व्यवहारतः मिलेको छैन । निष्पक्ष आँखाबाट हेर्दा सरकारको एक वर्ष हुटहुटी र सपनाको ठूलो जहाजमा सुस्त कार्यसम्पादनको सवारी भएजस्तै देखिन्छ ।

गठबन्धन रिझाउन आफैँलाई असफल बनाएका प्रचण्डको दोस्रो वर्षमा पनि त्यस्तो केही चमात्कार नै हुने अवस्था भने न्यून देखिन्छ । उनले यसअघि पटकपटक गरेको प्रतिबद्धता र यो सम्बोधनमा गरेका उद्घोषलाई कसरी कार्यान्वयन गर्छन् त्यो भने आगामी दिनमा फेरि समीक्षा हुनेनै छ ।