Breaking

प्रचण्डको ओरालो यात्रा ! एक बर्ष सत्ता टिकाउनु नै उपलब्धि, न पार्टी बढ्यो न आफ्नो कद (भिडियोसहित)

प्रचण्डको एक वर्षको उपलब्धि के ?


काठमाडौँ – संसदको अंक गणितको फाइदा उठाँउदै नेतृत्वमा पुगेका पुष्पकमल दाहाल प्रचण्ड पहिलो चोटी एक वर्ष सरकार चलाउन सफल भएका छन् ।

एउटै मात्र पार्टीले सरकार बनाउन नसक्ने अवस्थालाई फाइदाका रुपमा प्रयोग गरे पनि सिहंको सवारी गरेका उनी फाइनल धक्का दिने सोचमा रहेको बताइरहेका छन् । तर गर या मरको अवस्थामा काम देखाउने बाध्यतामा देशको नेतृत्वमा पुगेको दाबी गरेका उनले एक वर्षमा के गर्न भ्याए त ?

आफ्नो कार्यकालको सुरुवात नै सरकारी कार्यालयमा लाइन बस्न नपर्ने निर्णयबाट सुरु गरेका प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले एक बर्ष बिताएका छन् । कांग्रेसमा देखिएको कचपचले एमालेसंग मिलेर सत्तारोहण गरेका उनी सुरुमा प्रतिपक्षीविहीनकै अवस्थामा थिए । कांग्रेसलेसमेत ढोक्सा थाप्न विश्वासको मत दिएपछि आफूलाई सर्वदलीय प्रधानमन्त्री नै मानेका उनले त्यसपछिका अधिकांश समय सत्ता जोगाउनमै खर्चिएका छन । बरु यो बिचमा उनीविरुद्ध सडकमा धेरैको लाइन लाग्दा सरकारी कार्यालयको लाइन हटाउने सुरुकै निर्णय कार्यान्वयन भएको छैन ।

मिटरब्याज पीडितका समस्या समाधानका लागि कानुन बनाउनेदेखि अनियमितताका फायल खोल्ने काम भए पनि अहिले त्यसको नेतृत्व गर्ने गृहमन्त्री नै विभिन्न काण्डले विवादित बने । तेस्रो कार्यकालमा आइपुग्दा विगतमा भन्दा बढी संयमित देखिने रणनीतिका कारण बरु लचकता अपनाउने तर नभिड्ने नीति प्रचण्डले लिएका छन् ।

जसले सत्तामा कायम रहेका उनी एक बर्ष सरकार चलाउन पाएकैमा खुसी देखिएका छन् । साथै गठबन्धन पाँचै वर्ष टिकाउने भन्दामाथि सोच्न सकिरहेका छैनन् । फलत : आफैँले सुशासनप्रतिको प्रतिबद्धताका रुपमा अथ्र्याएको भ्रष्टाचारको फायल खोल्ने कदमसमेत पक्षधरतामै सीमित भएको छ ।

जसले सुन प्रकरणसम्म आइपुग्दा आफ्ना नै समातिने डरमा प्रचण्डले हात उठाएको टिप्पणी भएको छ भने ललितानिवास प्रकरणमा डा।बाबुराम भट्टराई र माधव नेपाल सरकारी साक्षी भएको विषयले फायल खोल्नुको अन्तर्य छर्लङ भइसकेको छ । जसलाई देशमा अराजकता बढाउने सरकारको बाटोका रुपमा प्रमुख प्रतिपक्षी एमालेले आरोप लगाएको छ । प्रचण्ड सरकार पुरापुर फेल भइसकको उनीहरुको टिप्पणी छ ।

यो बिचमा समाजवादी मोर्चा बनाएर होस कि विगतका फायल खोल्छु भनेर होस भड्किएकाहरुलाई एकीकृत गर्दै बलियो बनेका प्रचण्डलाई शेरबहादुर देउवाको मौनताले उक्साइरहेको छ । त्यस्तै रास्वपा जस्ता शक्ति बिटुलाउन सफल हुनु, एमाले बार्गेनिङमा मिल्नु जस्ता कुरा प्रचण्डका लागि त्राण बन्दा खुलेका फाइल देउवाकै घरसम्म सोझिनु अर्को भाग्य बन्यो । सत्ता जोगाउनै रेशम चौधरीदेखि रिगल छुटाउने काम गरेका उनले बाँकी रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सकेका छैनन् ।

त्यस्तै एउटा कानुन बनाएर अधिवेशन अन्त्य हुने संसदको हालतले समेत उनको कार्यकाललाई व्याख्या गर्दा संघीयता र धर्मनिरपेक्षताविरुद्धका आवाज चर्को सुनिन थालिसकेको छ । कांग्रेसलाई मुख्यमन्त्री दिन गरिएको गैरसंवैधानिक हर्कतदेखि त्यही कांग्रेसको गुटको विद्रोहसमेत स्वकार्ने अवस्था उनले भोगे । त्यस्तै उनको परिवार नै विभिन्न काण्डमा मुछिदा पार्टी र आफू दुवैको खस्कदो हैसियत सुधार्ने लक्ष्यले समेत उल्टो परिणाम दिइरहेको छ । यद्यपि ‘प्रचण्ड’ले अर्को क्रमभङ्ग गर्ने बताएका छन् । आफ्नो तेस्रो कार्यकालको पहिलो वर्ष पूरा हुन लागिरहेको भन्दै अब नयाँ ढंगले बढ्ने संकेत उनले गर्दै आएका छन् ।

हुन त मौन बस्ने देउवाकै कारण बलियो बनेका प्रचण्डलाई सत्ता गठबन्धनमा भएको भागबन्डा अनुसारको पालो कटाउन समस्या नरहेको तर्क गर्नेहरु पनि छन् । तर सबैथोक गुमाएर पाएको एकथान प्रधानमन्त्री, के प्रचण्डको पालो पुर्याउनमात्रै हो त भन्ने प्रश्न स्वयम माओवादी भित्रै छ । त्यस्तै कांग्रेसकै एक गुट एमाले भन्दा खरो प्रतिपक्ष जस्तो भूमिकामा देखिँदा वर्तमान अवस्थामा अन्य सहयात्रीसमेत फरक रुपमा प्रस्तुत हुन थालिसकेका छन् । जसोतसो एक वर्ष कटाएका प्रचण्डले रोजेको सत्ता नै सबथोक मान्ने बाटोले अबका दिनमा पनि चमत्कार होला भनेर विश्वास गर्ने आधार भने देखिँदैन ।