Breaking

मन्त्री किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठनले बिहिबार प्रदर्शन गरेको छ ।

बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै संगठनले पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीले मन्त्री किरातीको राजीनामा पनि माग गरेका छन् ।

विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई नमान्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित संघसंस्थाले बिरोध जनाएका छन् ।
नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको बताए ।

उनले भने, ‘उहाँ त्यो पदमा बस्न र रहिरहन उपयुक्त पात्र होइन भनेर विरोध गरेका हौँ ।’ उनले मन्त्री किरातीले सामाजिक सद्भाव बिगार्ने काम गरेको र उनलाई बर्खास्त गर्नुपर्ने पनि बताए । अध्यक्ष पुरुषले पशुपति क्षेत्र विकास कोषमा भएका पछिल्ला नियुक्तिमाथि पनि प्रश्न उठाए । उनले धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिहरुको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने बताए । ‘धार्मिक क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता पठाउने, कमिसन खाने, ठेक्कापट्टामा भाग लिने काम भएको छ । शक्तिपीठहरुमा गैरधार्मिक व्यक्तिहरुको नियुक्ति बन्द गर्नुपर्छ’, उनले भने ।