Breaking

पार्टी नेतृत्वसँग मुख्यमन्त्री पाण्डेको आक्रोश तपाईंहरुको नालायकीले कानुन नबन्ने, मैले गाली खानुपर्ने


काठमाडौँ — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा लेखेकै कारण कांग्रेसले संघीयता स्वीकारेको हो कि साँच्चै मनैदेखि स्वीकार गरेको हो भन्ने प्रश्न गर्नु भएको छ । अहिले संघीयता र त्यसमा पनि प्रदेश सरकारमाथि प्रहार चौतर्फी प्रहार भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो ।

यो संघीयता संविधानमा लेखेका कारणले मात्रै मानिरहेका छौं कि साँच्चै संघीयतालाई लागु गर्ने पक्षमा दृढतापूर्वक अगाडि बढ्ने अब कांग्रेस पार्टीले प्रष्टताका साथ भन्नुपर्ने उहाको भनाइ छ ।

‘म तपाईंहरुलाई साक्षी राखेर सभापतिज्यू, महामन्त्री र आदरणीय साथीहरु, यो जिम्मेवारी कसको हो संघीय कानुन बनाउने जिम्मेवारी कसको हो ? मुख्यमन्त्री पाण्डेले प्रश्न गरे? ‘तपाईंहरुले कानुन नबनाइदिएका कारणले हामीले कानुन बनाउन सक्या छैनौं । हामीले कानुन नबनाएका कारणले स्थानीय तहले कानुन बनाउन सक्ने छैन । कतिपय हामीले कानुन बनाएका छौं तर संघले कानुन नबनाएका कारणले लागु गर्न सकेका छैनौं । यो जिम्मेवारी तपाईंहरुले लिने कि नलिने ?

यदि कांग्रेस संघीयताको पक्षमा दृढ भए संघीयता बलियो बनाउन चाहिने कानुन छिटो निर्माण गर्न अग्रसर हुनुपर्ने पाण्डेको भनाइ थियो । ‘कानुन तपाईंहरुले नबनाउने, तपाईंहरुको नालायकी, संघीय सरकार र संसदमा बस्ने सांसदहरुको नालायकीका कारणले कानुन नबन्ने अनि सडकमा आएर, अनि मञ्चबाट गाली मैले खानुपर्ने, हामीले खानुपर्ने रु’ उहाले प्रश्न गर्नु भयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा बोल्दै केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले संघीयताबारे अब सबै दल र सांसदले पनि स्पष्टसँग जवाफ दिनुपर्ने धारणा राखे ।

भाषणमा सिंहदरबार घरघर पुर्‍याउँछौं र भने पनि प्रदेश सरकारलाई अधिकार दिने सवालमा संघीय सांसद पनि नबोलेको पाण्डेले बताउनु भयो ।

संघीय सरकारसँग अधिकार माग्न १३ पुसमा प्रदेशका मुख्यमन्त्रीहरुको बैठक राखिएको र यो विषयमा स्पष्टसँग कुरा राख्ने पनि मुख्यमन्त्री पाण्डेले बताउनु भयो। ‘संघीयताप्रति तपाईंहरुको दृष्टिकोण के हो रु यी कानुन नबनाउने हो भने प्रधानमन्त्री र सांसदले प्रस्टताका साथ भन्नुपर्‍यो, संघीयताबारे पुनर्विचार गर्छौं कि खारेज गर्छौं,’ मुख्यमन्त्री पाण्डेले भन्नु भयो ।

पाण्डेले आफू मुख्यमन्त्री भएको ८ महिनामा कांग्रेस कार्यकर्ताले सडकमा हिँड्दा शीर झुकाउनुपर्ने एउटा पनि काम नगरेको र अब पनि नगर्ने प्रतिवद्धता जनाउनु भयो ।