Breaking

शेखर-गगन भित्रभित्रै भाँडभैलो : बाहिर मिलेको सन्देश, देउवा–शेखर भिडाउने गगनको दाउ (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आगामी पुस १६ देखि १९ गतेसम्म तय गरिएको महासमिति बैठक सार्न नहुने स्पष्ट अडान अघि सारेको छ ।

आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको शेखर समूहको बैठकले यस्तो धारणा बनाएको हो । यो बैठकले महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाको भेट गराए पनि राष्ट्रियसभा निर्वाचन र मन्त्री बाँडफाँटका लागि मात्रै यो नाटक भएको त होइन भन्ने प्रश्न पनि उठेको छ ।

फरक–फरक गुटकै नेतृत्व गर्ने अवस्थामा पुगेको चर्चाका बिच शेखर–गगनले मंगलबार फेरि कुम जोडे । तर, बुधबार बसेको संस्थापन इतर पक्षको बैठकको सुरुवातमै नेता कोइरालाले सभापति शेरबहादुर देउवाकै शैलीमा बोल्नु पूर्व नेताहरुको मुख टाल्ने प्रयास गरे । कांग्रेस लोकतान्त्रिक पार्टी भएकै कारण बोल्न पाइन्छ, नत्र भीम रावल भइन्छ भन्ने उदाहरण दिने उनैले गगनसँग टसल छ भन्दै बाहिर प्रचार गरेर नहिँड्न नेताहरुलाई आग्रह गरे ।

गगन भने बुधबारको बैठकमा केही असहज महसुस गरिरहेका थिए । शेखरले आफूूलाइ नसोधी एकलौटी निर्णय गरेकोमा गगन असन्तुष्ट छन् । फलतः यसबिचका केही बैठकहरुमा गगन अनुपस्थित भएका थिए भने केहीमा प्रतिनिधि मात्रै पठाएका थिए । बुधबारको बैठकमा नेताहरुले नेतृत्वमा विवाद देखिएको भन्दै मिलेर अघि बढ्न सुझाएका थिए । उनीहरुले दुईजना मिल्न नसके संस्थापन पक्षले झनै पेल्न सक्नेतर्फ सचेत गराएका थिए । कोइरालाले भने गगन र आफूहरुबीच समस्या नभएको बताए पनि उनी मिडियाप्रति भने खनिए । आफूहरु ठिक ढंगले चलिरहेको बताएका उनले देश र कांग्रेस भने ठिक नचलेको बताए ।

शेखर–गगन जसोतसो मिलेपनि तल्लो तहका नेताहरुको नयाँ असन्तुष्टी छताछुल्ल भयो । बैठकमा नेता गुरुराज घिमिरेले कोशीमा आफैँले मुख्यमन्त्री बनाएका केदार कार्कीको कार्यक्षमतामा गम्भीर प्रश्न उठाए । काम गर्नुको साटो उनी महामन्त्री थापालाई गाली गर्दै हिंडेको भन्दै आक्रोश पोखे । कोशीमा एमालेसँग मिल्ने कदमको विरोध गरेका गगनलाई लक्षित गर्दै मुख्यमन्त्री कार्कीले मंसिर १९ गते कांग्रेसको शिर उचो बनाउन विद्रोह गरिए पनि केहीलाई नपचेको भन्दै आलोचना गरेका थिए । बैठकमा गुटका शीर्ष नेताहरु नै समूह भन्दा पनि आफूलाई केन्द्रविन्दु बनाएर बोल्न थालेपछि तल्लो तहका नेताहरु भने मुखै फोरेर बोल्न नसके पनि असन्तुष्टि देखिन्थ्यो । यही अवस्था रहे बलियो समूह बन्न नसक्ने चिन्ता उनीहरुमा छ । उनीहरुले असन्तुष्टि मथ्थर पार्दै दुई नेता मिल्नुको विकल्प नरहेको सुझाएका छन् ।

बैठकमै महामन्त्री थापाले पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्ने बताएका थिए । जसमा शेखर कोइरालालाई नै संसदीय दलको नेता बनाउन प्रयास गर्नुपर्ने उनले बताएका थिए । देउवा नै प्रधानमन्त्री बने २०८२ मा महाधिवेशन हुन नसक्ने विश्लेषण उनको थियो । गत पुुषमा संसदीय दलको निर्वाचन लड्दा शेखर समूहकै साथ नपाएपछि देउवासँग लज्जास्पद हार व्यहोरेका गगन, शेखरले देउवा फकाउन लागेको मेसो पाएपछि उनलाई नै संसदीय दलको नेतामा भिडाउने अर्को चाल चाल्न लागेका छन् । बुधबारको अभिव्यक्तिलाई पनि त्यसैको मानकका रुपमा हेर्न सकिन्छ । शेखर–गगन समूह एकतावद्ध हुन नसकेकोमा असन्तुष्टि जनाएका उनले संवादहीनताले समस्या आएको स्वीकारे ।

यद्यपी बुधबारको बैठकले इतर पक्ष महासमिति बैठक नसार्न देउवालाई दवाव दिने पक्षमा भने एकजुट देखिएको छ । चिसो बढेकै कारण बैठक सार्ने देउवाको तयारीमा उनीहरुले खवरदारी गरेका छन् । यस्तै राष्ट्रियसभाको निर्वाचनमा पनि आफ्नो गूटको दवदावा पार्टीमा बढाउने रणनीतिमा सबै एकजुट बनेका छन् । तर भाग माग्न फेरी देउवाकै शरण पर्नुपर्ने बाध्यता उनीहरुमा छ । फेरिन लागेको सत्ता समीकरणदेखि मन्त्री हेरफेरको चर्चा र निकटमै आएको राष्ट्रियसभा निर्वाचनमा एकजुट भए देउवासँग भाग माग्न सहज हुुने देखेरै एकठाउँमा उभिएको देखिन्छ । सो समूहमा अहिलेपनि गगनसँग नजिकिएका प्रदीप पौडेल र विश्वप्रकाश शर्माजस्ता नेताहरुलाई गुटमा समावेश गर्न नसक्नुले अरु आकर्षित हुने वातावरण पनि देखिँदैन । तत्काल दह्रो भाग खोज्नका लागि मिलेजस्तो देखिएपनि व्यक्ति हावी हुने नेताको बाहुल्यता रहेको इतर पक्षमा निर्वाचनदेखि मन्त्रीको भागवण्डामै कुरा नमिले जे पनि हुनसक्छ ।