Breaking

छोरीका कारण ढल्दैछ प्रचण्ड सरकार ?, बालुवाटारमा के भयो छलफल ? (भिडियोसहित)

भारत–अमेरिका के चाहन्छन् ?


काठमाडौँ – सुशासनको बाजा बजाएर कुशासनको कलंक बोकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रतिको असन्तुष्टी बढ्दो छ । जनतामात्रै नभइ सत्तारुढ गठबन्धन, हुँदाहुँदा अहिले त माओवादीभित्रै पनि प्रचण्डको नेतृत्वलाई लिएर असन्तुष्टी छताछुल्ल हुँदैछ । सत्तारुढ गठबन्धनमै उप–गठबन्धनको प्रयास हुँदासमेत प्रचण्ड भने ‘सेफ जोन’ मै देखिन्छन् ।

सत्ता गठबन्धनको पातलिएको बैठक पछिल्लो एक सातामा तीनपटक बस्नु, चौतर्फी घेराबन्दीमा परेको प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले महसुस गर्नु कतै यो गठबन्धन फेरबदलको प्रयास भइरहेको त छैन भन्ने आशंका उब्जाएको छ । प्रधानमन्त्रीको कुर्सीमा आफू पाँच वर्ष पूरै रहन्छु भन्न भ्याएका प्रचण्ड गठबन्धनमा भएको २ वर्षे सहमतिको एक वर्ष पुग्न नपाउँदै आफ्नो विकल्प खोजिएको भान आफैँलाई हुन थलेको डरमा देखिन्छन् । एक साता अघि मात्रै सम्पादकहरुसँगको छलफलमा आफू भाग्यमानी भएको र गठबन्धन नफुट्ने बताएका प्रचण्ड बोली फेर्न बाध्य भएका छन् ।

बालुवाटारमा गठबन्धन नफुट्ने आत्मविश्वासमा देखिएका प्रचण्ड सोमबार पार्टी कार्यालय पेरिसडाँडा पुग्दा भने सरकार ढाल्ने र गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको भन्दै शशंकित देखिए । सुशासनको स्वर्ण युग बनाउने भनिएको प्रधानमन्त्री प्रचण्डको कार्यकाल सुन तस्करहरुका लागि स्वर्ण समय बन्यो । विगतदेखि नै बिभिन्न प्रकरणमा कलंकको टीका लगाएर बसेकाहरुले प्रचण्डकै कृपाले सफाइ पाए ।

हुँदाहुँदा प्रचण्डको सुशासन उनकै परिवारसम्म पुगेको छ । फलतः टेलिकम माफियाहरुसँग महिनौं रक्सी पार्टी गरेकोदेखि पुत्रीको पावरमा एनसेलमा अर्बौं घोटाला भएको आरोप उनैमाथि लागेको छ । अर्थात आफूलाइ निष्कलंकित बताउने प्रधानमन्त्री प्रचण्ड कलंकै कलंकको टीका लगाएर हिँडिरहेका छन् । यत्ति हु्ँदा पनि प्रचण्डले लाजै पचाएर भएपनि भ्रष्टाचार निवारणमा सरकार दृढ रहेको बताइरहेका छन् । एनसेल प्रकरणमा स्वतन्त्र सांसद अमरेश कुमारसिंह एक्लै भारी पर्दा उठेका प्रश्नको सामना गर्नुको साटो उनको सुरक्षामा खटिएका पीएसओको सुविधा खोसिन्छ । सिंहले झुट बोलिरहेको भए थुन्ने सार्मथ्य राख्नुपर्ने नभएर नैतिकताका आधारमा कुर्सी छोड्नुपर्ने प्रचण्ड अतिवादीहरुले भ्रामक प्रचार गरेकाले प्रतिवाद गर्न कार्यकर्ताहरुलाई निर्देशन दिइरहेका छन् ।

अब प्रश्न उठ्छ यत्तिका कलंकको दाग बोेकेर प्रधानमन्त्री प्रचण्ड कति दिन सत्तामा टिकिरहलान् रु प्रचण्डको सत्ता सञ्चालनबाट गठबन्धनकै दलहरु वाक्क दिक्क भएको बिषय लुकेको छैन । त्यसमाथि राजनीतिक सल्लाहकार बनेको एक वर्ष नपुग्दै हरिबोल गजुरेलले राजीनामा दिनुले पनि माओवादी आफैँमा प्रचण्डप्रति असन्तुष्ट छ भन्ने बुझ्न कठिन छैन ।

गजुरेलले सार्वजनिक रुपमा केही नबताए पनि एनसेल प्रकरणकै कारण राजीनामा दिएको हुनसक्ने गाइगुइँ चलेको छ । हिजो सीसीटीभी प्रकरणमा जर्नादन शर्मा, सुन तस्करी प्रकरणमा बर्षमान पुन लगायतका नेताहरु मुछिदा प्रतिकार गर्न उत्रिएका प्रचण्ड आज एक्लो वृहस्पती जस्तै बनेका छन् । अहिले उनीमाथी टेलिकम माफियाहरुसँग साटगाटको आरोप लाग्दा अरु नेताहरु चुपचाप छन् । यसले पनि प्रचण्डको सत्ताको हिसाब किताब हुन थालेको छ भने कलंकित प्रधानमन्त्रीलाई कांग्रेसले कहिलेसम्म काँध थाप्छ भन्ने प्रश्न पनि उठेको छ ।

सत्ता बार्गेनिङको शक्तिकेन्द्रका रुपमा बनाइएको समाजवादी मोर्चा छिन्नभिन्न छ। मोर्चाको एक घटक नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेतृविक्रम चन्द विप्लवविरुद्ध नै पक्राउ पूर्जी जारी भएपछि प्रचण्ड अर्को तनावमा छन् । प्रचण्डकै हितैसी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नयाँ समीकरणको खोजीमा हिँडेका छन् । जनता जोड्ने नाममा एमाले अध्यक्ष केपी शर्मा ओलीको देश दौडाह त सत्तारुढ दलहरुको आलोचनामै सीमित छ ।

यति, हुँदा पनि प्रचण्ड सेफ जोनमा छन् । निकट भविश्यमै राष्ट्रिय सभामा निर्वाचित १९ सहित एक मनोनीत गरी २० सांसदको कार्यकाल रिक्त हुँदैछ । १९ सिटका लागि हुने निर्वाचनमा हालैको गठबन्धनअनुसार निर्वाचनमा एमाले क्लीनस्वीप हुने पक्का छ । तत्काल प्रचण्डलाई धोका दिएर राष्ट्रिय सभामा करिब आधा दर्जन सांसद गुमाउने जोखिम कांग्रेस पनि उठाउन चाहँदैन । त्यसमाथि हरुवा नेताहरुलाई राष्ट्रिय सभामै भएपनि छिराएर मन्त्री बनाउने अभिष्ट कांग्रेस, माओवादी, एकीकृत समाजवादी सबैको छ । त्यसकारण पनि प्रचण्डको जग तत्काल हल्लिनै देखिँदैन ।

नेपालको सत्ता राजनीतिमा देशी विदेशी सबै शक्तिहरुको प्रभाव नर्कान सकिँदैन । समीकरण परिवर्तन गराउन ठूला दलहरु नै दाउ हेरेर बसेका छन् । राष्ट्रियसभाको निर्वाचनले प्रचण्डको सत्ता संकट टार्न सक्ने भएपनि स्वयं प्रचण्ड नै एक रातमा गठबन्धन हेरफेर भएर प्रधानमन्त्री बनेको तथ्य बिर्सिन सकिँदैन । त्यसकारण सत्ता राजनीति जुनसुकै बेला जे पनि हुन सक्छ ।