Breaking

गगन-शेखर फुट्दा बढ्यो देउवाको दबदबा, महासमिति बैठक टर्दै (भिडियोसहित)

सिटौला र शशांकको मौनता


काठमाडौँ – पार्टीमा सास र आस दुवै हाल्ने ठाउँ नै महासमितिको बैठकले पार्टीलाई एक गति दिने महामन्त्रीद्वयको बुझाई रहँदै आएको थियो । तर, महासमिति बैठकपछि कांग्रेसलाई फरक ढंगबाट चलाउँला भन्ने जमर्को गरिरहेकाहरूले न देउवालाई फकाउन सकेका छन् न त गलाउन सकेका छन् । परिणामतः देउवालाई तह लगाउने एउटै ठाउँ महासमिति बैठक बुझ्दै र आम कार्यकर्तालाई बुझाउँदै आएको इतरसमूह पार्टीमा देउवा नै सर्वेसर्वा भइदिँदा केही महिना फेरि निराश हुनुपर्ने संकेत देखिएको छ ।

नेपालका ठूला राजनीतिक दलहरू सबै पार्टी नेतृत्वको दबदबामा हुने गर्छन् । एमालेमा केपी शर्मा ओलीको बोली अकाट्य हुन्छ भने माओवादी केन्द्रमा प्रचण्डको निर्णय नै सर्वोपरी हुने गरेको छ । त्यसमा पनि संसद्को पहिलो दल नेपाली कांग्रेस अछुतो हुने कुरै आउँदैन । नेपालको पहिलो लोकतान्त्रिक दल कांग्रेसमा सभापति शेरबहादुर देउवाको मनोरथ नै अन्तिम सत्य हुने गर्छ ।

देउवाको चाहनाभन्दा कोही माथि उठ्न नसक्ने अवस्थामा उनी फेरि पटक पटक गरी तीन पटक मिति तोकिसकेको महासमिति बैठक सार्ने मनस्थितिमा छन् । उनको चाहाना नै पार्टीभित्र अन्तिम निर्णय हुने हुँदा महासमित बैठकलाई देउवाको मनपरी तन्त्रलाई परास्त गर्न अन्तिम अस्त्रको रूपमा हेरेका इतर समूह निराश हुनु पर्ने लक्षण देखिँदैछ ।

साउनको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असोजमा नै महासमिति बैठक गर्ने भनेर प्रस्ताव राखे पनि मंसिरको लागि तय गरिएको थियो । तर, जाजरकोटमा गएको भूकम्पलाई कारण देखाएर मंसिरमा नै दुई पटक मिति सारेर पुसमा पु¥याएका देउवाले फेरि पनि पुसमा जाडो हुनेभन्दै गोदावरीमा हल बुक गरिसकेको अवस्थामा पनि महासमिति बैठकलाई दुई महिना पर धकेलेर फागुनमा गर्ने तयारीमा छन् । महासमिति बैठकबाट अधिकार छिन्न लागेको बुझेका देउवा पार्टीमा उर्जा माथिबाट भन्दा पनि ग्रासरुटमा पु¥याएर समर्थन पैदा गर्नु पर्ने भन्दै पन्छिएका छन् ।

देउवाले महासमिति बैठक मात्रै नभएर पछिल्लो समय केन्द्रीय समितिको बैठक पनि राख्न छाडेका छन् । प्रत्येक दुई÷दुई महिनामा बस्ने भनिए पनि अहिले बस्न सकेको छैन । तर, असोजको पहिलो साता बसेको केन्द्रीय समितिको बैठक मंसिरको अन्तिम साता भइसक्दा पनि राख्न नसकेका देउवाले मंसिर २९ मा पार्टीकोे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

देउवाले फेरि पार्टी पुरानै ढंगबाट अघि बढाउन खोजेपछि इतर पक्षको नेतृत्व गरिरहेका डा।शेखर कोइरालाले आफू निकट नेताहरूको बैठक सोमबार राखेका थिए । तर, कोशी विद्रोहपछि टाढिएका महामन्त्री थापा नै त्यसमा सामेल भएनन् । शेखर–गगनको प्यानल बनाएर महाधिवेशनमा चुनाव लडेकाहरू नै अहिले तितरबितर भएका छन् । कांग्रेसभित्र देउवाको बललाई तोड्न विश्वप्रकाश र प्रदीप पौडेललाई समेत आफूतिर तान्न खोजेकाहरू नै टुक्राटुक्रा हुन पुगेका छन् । यद्यपि, देउवासँग शक्ति संघर्ष गरेर नथाकेका शेखर हार नमानी समूहलाई फेरि सक्रिय बनाउन लागि परेका छन् ।

कांग्रेसभित्रका विपक्षीलाई पनि हिन्दूवादीको कार्ड फालेर समर्थन लिन सफल देउवा राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै जाँदा उनी असन्तुष्ट पक्षलाई रिझाउन व्यस्त छन् । देउवाले पार्टीबाट पाउनुसम्म सबै पाइसके । पाँच पटक प्रधानमन्त्री र दुई कार्यकाल पार्टीको नेतृत्वमा विराजमान उनको बहिर्गमनको समय आउँदै गर्दा पार्टी सक्न लागेको इतरसमूहको ठम्याई रहँदै आएको छ । देउवादेखि असन्तुष्ट भएका विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला अब देउवाको उत्तराधिकारी बन्ने होडमा छन् । कुनै समय देउवाको विरोधीहरु नै अहिले उनलाई गलाएर भन्दा फकाएर भाग खान उनको पछि लागेका छन् । देउवाको स्वभाव नै झोक्की खालको भएकाले सबैलाई दबदबामा राख्ने उनको शैली कायमै छ ।

देउवालाई तह लगाउने सामथ्र्य कांग्रेसका कुनै पनि नेतामा देखिँदैन । देउवाको कार्यशैलीबाट थाकेकाहरू सार्वजनिक मञ्चमा उनीमाथि तुष पोख्न बाहेक अरु केही गर्न सक्ने अवस्थामा छैनन् । देउवाको कार्यशैलीप्रति असन्तुष्ट पार्टीका इतरसमूह न देउवालाई गलाउन सक्छन् न नै फकाउन सकेका छन् । सत्ता समीकरणदेखि पार्टीको समीकरणसम्म फेर्न प्रयास गरेकाहरु देउवादेखि हैरान भएका छन् । देउवाप्रतिको आक्रोशले केही दिन चर्चा बटुल्न सफल भए पनि उनलाई झट्का दिन भने कोही कसैको ल्याकत देखिएको छैन ।