Breaking

‘बा’ ब्रान्डलाई चुनौती, ओलीमा १६ वर्षीय ठिटोको जोश जाँगर (भिडियोसहित)

ओलीको सक्रियता अन्य नेताका राम्रो पाठ


काठमाडौँ – बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरू भएको एमालेको समृद्धिका लागि संकल्प यात्रा जारी छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश हुँदै यात्रा गण्डकी प्रदेश पुगेको छ । यो क्रममा एमालेले विभिन्न स्थानमा सभा, सम्मेलन, अन्तक्र्रिया गरेको छ । त्योभन्दा बढी सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्दै अध्यक्ष केपी शर्मा ओलीको ब्राण्डिङ भएको छ ।

कुनै समय सिनेमा चल्नकै लागि भएपनि राजेश हमालको तस्बिर झुण्डाउनुपर्ने हुन्थ्यो भने सिनेमा क्षेत्र भनेकै राजेश हमाल र राजेश हमाल भनेकै सिनेमा जस्तो थियो । पछिल्लो समय राजनीतिमा एमाले भनेकै केपी ओली र केपी ओली भनेकै एमालेजस्तो भएको छ । नेपालमा भएका राजनीतिक दलहरूमध्ये पार्टीको अध्यक्ष मात्र नभएर ब्रान्डको रूपमा नै कोही स्थापित छ भने, केपी ओली नै हो ।

ओली एमाले अध्यक्ष भएकै कारण आम कार्यकर्ताले गौरवका साथ आफू एमाले हुँ भन्न सकेको उनीनिकट नेताहरू बताउँछन् । स्वास्थ्यले त्यतिधेरै साथ नदिए पनि उच्च इच्छाशक्तिले १६ वर्षीय ठिटोको जोश जाँगर निकालेर देश दौडामा लागिरहेका छन् ओली । जुन ठाउँमा ओली उभिन्छन्, त्यहाँ भाषण सुन्न र हेर्नका लागि मानिसको भीड लाग्छ । मै हुँ भन्ने सेलिब्रटी भन्दा कम छैन्न ओली । बालबालिका, युवादेखि वृद्धवृद्धासम्म ओलीलाई हेर्न र सुन्न पुग्छन । सुदूरपश्चिमको झुलाघाट बैतडीदेखि पूर्वको चिवाभञ्ज्याङ पाँचथरसम्म झण्डै १९ सय किलोमिटर मेची महाकाली अभियान निस्केका ओलीले आम नागरिकमा सुखी नेपाली र समृद्धि नेपालको आश्वासन बडो मजासँग बाँडिरहेका छन् ।

ओलीकै कारण सडकमा केपी बा, आईलभ यु लगायतका नारा गुन्जिने गरेको छ । ओली पार्टी अध्यक्षमा मात्रै सिमित नभएर अभिभावकजस्तो बनेका छन् । केही समयअघि मिसन ग्रासरुट अभियान चलाएको एमालेले पश्चिमदेखि पूर्वसम्मको नयाँ यात्रा तय गरेको हो । ओली आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी जनतासँग जोडिरहँदा पार्टीभित्रकै कतिपय नेताहरू भूखै फोरेर भन्न नसके पनि भित्रभित्रै ओलीको सक्रियता देखेर दुःख मनाउ गरिरहेका छन् । अहिलेको समयमा एमालेभित्र ओलीसँग जसले प्रतिस्पर्धा गर्न खोज्छ उसको अवस्था भिम रावलको हुने हो कि भन्ने डरले ओलीको सक्रियता मनमा अमिलोपन भएपनि खुलेर भन्न एमालेका नेताहरुले सकिरहेका छैनन् ।

ओलीले सुदुरपश्चिम पुगेर पूर्वसम्मै धक्का पुग्ने गरी राजावादी र पहिचानवादीमाथि प्रहार गरे । एमालेको समृद्धिका लागि संकल्प यात्रालाई कतिपयले देश घुम्ने मेलोको रुपमा लिएका छन् । विश्लेषकहरूले भने फुर्सदको सदुपयोगको रूप हेरेका छन् ।

ओली आफ्नो सक्रियताका कारण एमाले एमालेजस्तो भएको दाबी गरिरहेका छन्, भने कतिपय नेता कार्यकर्ता भने ओलीकै कारण एमाले कमजोर हुँदै गएको टिप्पणी गर्छन । राजनीतिमा आरोप–प्रत्यारोप र खुट्टा तानातान स्वाभाविक मानिन्छ । ओलीमाथि पनि थुप्रै राजनीतिक आरोप छन् । तर, ती आरोप पचाउँदै ओली आफ्नो मिसनमा निरन्तर क्रियाशील छन् । ओलीको सक्रियता अन्य नेताका लागि पनि एउटा राम्रो पाठ हो ।