Breaking

एक फोनले सिहंदरबारमा मच्चियो आतंक, प्रचण्डको सात्तो गयो


काठमाडौँ – यतिबेला सत्ता र शक्तिको बागडोर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालिरहेका छन् । तर दश वर्षसम्म आफ्नो ज्यानको बाजी लगाएर उनैबाट निर्देशित लडाकुहरु उपचारको खोजीमा छटपटाइरहेका छन् । यस्तै एक पूर्व लडाकुको चेतावनीले आज सिंहदरबारमा तरंग पैदा भएको छ ।

मंगलबार एकाबिहानै सिंहदरबारमा सनसनी मच्चाउने एक फोन आयो । त्यो फोन सिधैं प्रधानमन्त्रीको सचिवालयलाई थियो ।

फोन गर्ने व्यक्ति एक महिला थिइन् । उनले केही सेकेन्डको फोनकलमा आक्रोश र धम्कीसहित एकै स्वरमा भनेकी थिइन्, ‘विचार गर । आज सिंहदरबारमा अप्रिय घट्ना घट्दैछ ।’ यत्ति भनेर महिलाले फोन राखिन्

महिलासँग दोहोर संवाद गर्न नपाएको प्रधानमन्त्री सचिवालयले सम्पर्क विच्छेद भएलगत्तै हायलकायल भावमा सुरक्षा निकायलाई जानकारी गरायो । अर्थात् मुलुकको प्रमुख प्रशासनिक अड्डा सिंहदरबारमाथि धावा बोलिएको फोन संवाद पछि प्रधानमन्त्रीको सचिवालय ‘हाई अलर्ट’ भयो ।

महिलाको फोनकलले आतंकित बनेको सिंहदरबारमा एकाएक सुरक्षा चेकजाँच बढाईयो । बिहान ८ बजेको फोनसंवाद पछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समेत सुरक्षाकर्मी अलर्ट भएर बसे । यता सिंहदरबार र बालुवाटारमा तैनाथी बढाएको प्रहरीले महिलाको ‘फोन ट्रापिङ’ सुरु ग¥यो ।

सम्भवतः सिंहदरबारलाई अप्रत्यासित अप्रिय घट्ना भनेपछि बम पड्किने डर पैदा भएको हुनुपर्छ । कुनै विध्वंस मच्चिने संकेत पाएको हुनुपर्छ । अथवा प्रधानमन्त्रीमाथि नै कुनै खाले अट्याक हुँदैछ भन्ने अनुमान गरिएको हुनुपर्छ । किनकि जनयुद्धमा कयौंलाई भिडाएर अंगभंग बनाएका उनी शान्तिपूर्ण राजनीतिमा आएपछि पनि पटकपटक धेरैको दूश्मनी ब्यहोर्न बाध्य छन् । तर त्यो फोन कुनै अपरिचित व्यक्तिको नभएर पूर्व माओवादी लडाकु मञ्जु धमलाको थियो ।

उनले मंगलबार बिहान प्रधानमन्त्रीको सचिवालयलाई फोन गरि सिंहदरबारभित्र २ जनाले विष सेवन गर्ने र आफ्नै शरीरमाथि पेट्रोल छर्केर आगो लगाउने चेतावनी दिएकी थिइन् । पूर्वघोषित वाचा अनुसार पुगेकी उनै मञ्जुलाई हामीले मंगलबार दिउँसो सिंहदरबार प्रवेश नपाएको अवस्थामा भेट्टायौं ।
मञ्जु जनयुद्धका बेला कम्पनी कमाण्डर थिइन् । पुष्पकमल दाहाललाई सुप्रिमो प्रचण्ड बनाउँदा उनी कामना उपनामले चर्चित थिइन् । आफ्नै सुप्रिमो अहिले सिंहदरबारको सिंहासनमा विराजमान हुँदा पनि उपचार नपाएर नरकिय जीवन बाँच्नुपरेपछि मंगलबार धम्कीसहितको फोन गर्न बाध्य बनेकी हुन् । जसले एकछिन सिंहदरबारभित्र माओवादीको ब्याजमा बाँचिरहेकाहरुको सात्तो गएको थियो ।

व्यवस्था परिवर्तनका निम्ति पार्टीका कमान्डरको आदेशमा ज्यानको बलि दिन तयार भएकी मञ्जुका जिउभरि बमका छर्रा र गोली छन् । कालिकोटको रास्कोट नगरपालिका–८ बाहुनथानकी मञ्जुको शरीरमा २८ पटक अप्रेसन भयो । शरीर चिरेर छियाछिया भइसक्दा पनि उपचार अभावमा उनी आफुले नरकिय जीवन बाँचेको बताउँछन् । जनयुद्धको त्यो घट्ना अझै पनि ताजै छ । २०६१ साल असोज १६ गते दाङ जिल्लाको धोवीघाटमा नेपाली सेना र माओवादी छापामारहरुबीच भीषण बमबारी चल्यो । रण मैदानमा दुवैका हातहतियारबाट विषालु गोलीहरु बर्सिए । मञ्जुको खुट्टामा गोली लाग्यो । देब्रे खुट्टाको हिपको पछाडिबाट गोली लागेर अगाडि निस्किनुका साथै कम्मरको जोर्नी भाँचिएर नशा पनि चुँडियो । उनले भारतको चण्डीगढमा ३ वटा अप्रेसन गरिन । नेपालमा समेत गरि हालसम्म २८ वटा अप्रेसन भइसके । तर क्षतविक्षत भएको उनको शरीर तंग्रिन सकेन । अझै ३ वटा अप्रेसन गर्नुपर्ने भएपनि प्रचण्ड नेतृत्वकै सरकारले वेवास्ता गर्दा अहिले उनी आफैलाई सिध्याउने मनसायमा छिन् । उनीजस्तै सिंहदरबारभित्र विष खाने योजनामा तनहुँका रेशमप्रसाद घिमिरे पनि छन् ।

रेशमप्रसाद गोर्खाको ताकुकोट, अर्घाखाची र पाल्पाको मित्तल लगायतका ठाउँमा दोहोरो भिडन्त हुँदा घाइते भएका थिए । टाउको दुईचिरा पर्दा बाँचेका उनी आफुलाई जिउँदो शहीद भन्छन् । शरीरै भरि गोलीका छर्रा छन् । अहिले प्रचण्डको बद्लिएको क्रान्ति र कार्यशैलीबाट असन्तुष्ट पूर्वमाओवादीहरु योद्धालाई प्रचण्डले धोका दिएको बताउँछन् ।

बालकैमा हसियाँ हथौडा अंकित झण्डामुनि गोलबद्ध भएर युद्धमा होमिएका उनीहरु जीवन र मृत्युको दोसाँधमा पुगेर बाँचिरहेका छन् । हिजो एउटा थालमा खाएर खोला तर्दा बुँई बोकी हिडेका उनीहरुलाई अहिले प्रचण्डलाई भेट्नु नै युद्ध जिते सरह छ । जेल र जंगल जीवन सँगै बिताएका कसैको जीवनशैली अहिले राजर्षी ठाटमा बितिरहेको छ । कोही पीडाले भित्रभित्रै मन भतभती पोलेर आँशुसमेत बगाउन डराईरहेका छन् ।

जनयुद्धका बेला प्रचण्डले ढाँडमा टेकेर टाउकोमा हान्ने नीति लिएका थिए । बन्धुकको नालबाटै सत्ता कब्जा गर्न सफल भएका उनी अहिले लडाकुकै ढाँडमा टेकेर सिंहदरबारको राजकाजमा छन् । तर सडकमा आँशुका भेल बगाईरहेका योद्धाहरुलाई त्यही भीड छिचोलेर जाँदा गाडीको कालो सिसा खोलेर हेर्ने फुर्सदसम्म छैन । एउटै उमेरका कोही मन्त्री भए, कोही अंगभंग भए । परिवारवादको आहालमा प्रचण्ड डुब्दा मञ्जुकै उमेरकी प्रचण्डपुत्री रेनु दुईदुई पटक महानगरको मेयर भइन्, बुहारी मन्त्री भइन्, ज्वाई पनि मन्त्री भए । तर कमाण्डरको निर्देशन मान्ने लडाकुहरुको यो दृश्यले प्रचण्डलाई प्रत्येक दिन गिज्याईरहेको छ।