Breaking

माओवादी प्रचण्डलाई नै घाँडो, बिकेन ब्राण्ड, संकट टार्न विप्लवदेखि बाबुरामको खोजी


काठमाडौँ — सिंगो मुलुक नै परिवर्तन गरी छाड्ने संकल्प बोकेको नेकपा माओवादी केन्द्र आफ्नै पार्टी रुपान्तरण अभियानलाईसमेत नतिजामुखी बनाउन सकिरहेको छैन । जनतामा रुपान्तरण भएर जाने भनेपनि एकपछि अर्को नेतृत्व फेरबदलको शृङखलाका कारण पार्टीपंक्तीमा असन्तुष्टी बढ्दो छ । संसदको तेस्रो शक्ति बनेर पनि सत्ता हत्याउन सफल भएको माओवादीले न त सरकार नै ढंगले चलाइरहेको छ, न त पार्टी नै चलायमान बनाउन सकिरहेको छ ।

संसदको तेस्रो शक्ति भएर पनि अफरमा प्रधानमन्त्री पाएको नेकपा माओवादी केन्द्र पार्टी संगठन सुदृढिकरण र पार्टी चलायमान बनाउने विषयमा भने झन–झन सुस्ताएको छ । तेस्रो पटक प्रधानमन्त्री पद सम्हालेका पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा केहि परिवर्तन गरेरै छाड्न उद्घोष गरे । तर सत्ताको साँचो सम्हालेको ११ महिना पुग्दासम्म कुरा बढी काम कम भएको आरोप लाग्न थालेको छ ।

जनजीविकाको सवालमा पनि सरकारले परिणामुखी काम गर्न सकेको देखिँदैन । आफ्नै नेता कार्यकर्ताको मनसमेत उनले जित्न सकेका छैनन् । सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासम्म नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोज्न तीन महिना अगाडिदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाएको माओवादीको हविगत झनझन ओरालो गतिमा गइरहेको छ ।

सत्ता र पार्टीको तालमेल मिलाउन नसक्दा केन्द्रीय नेताहरु नै नेतृत्वसँग असन्तुष्ट बन्दै गएका छन् । पार्टीको केन्द्रीय तहको नेतृत्व फेरबदल र सत्तासिन हुन नपाउँदाको पीडा नेताहरुमा झाँगिएका कारण पार्टीपंक्तिमा चरम असन्तुष्टिले प्रश्रय पाइरहेको छ । माओवादीका मन्त्री र नेताहरु एकले अर्कालाई सहयोग नगरेको भन्दै जुहारी नै चल्ने गरेको छ । सत्ताको सुविधामा रहेका नेतृत्वले आफ्नो नेता कार्यकर्ताको मन जित्न नसक्दा पार्टी भित्रै मनमुटाव बढ्दै गएको छ । तर पार्टीभित्र असन्तुष्टि बढ्दै गएको कुरालाई माओवादी नेताहरु भने स्वीकार गर्न तयार छैनन् ।

सीमित व्यक्ति सत्ताको रजगजमा रमाउँदा माओवादीको ठुलो पंक्ति आफ्नै माथिल्लो नेतृत्वसँग रुष्ट बन्दै गएको छ । प्रधामन्त्री र माओवादी मन्त्रीहरुले सरकारले गरेका कामको प्रचारप्रसार गर्न नेता, कार्यकर्तालाई आग्रह गर्दै आएका छन् । तर तिनै नेतृत्वबाट होलाहोचोमा पर्दै आएका नेता, कार्यकर्ता भने आफूहरुलाई बेवास्ता गरिएकाले सरकारको गुणगान गर्न उत्साहित छैनन् । पार्टी रुपान्तरण अभियान चलाएको तीन महिना बित्दासमेत माओवादीको आन्तरिक असन्तुष्टिले निकास पाउन सकिरहेको छैन । तथापि माओवादी नेताहरु पार्टी संगठनले अघि सारेको संगठन सुदृढीकरणले पार्टीभित्र छिट्टै रक्त सञ्चार सिर्जना गर्ने विश्वास व्यक्त गर्छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा पहिलो शक्ति बनेको माओवादी त्यसपछि भने निरन्तर क्षयीकरण उन्मुख हुँदै गएको छ । माओवादीबाट छुट्टिएर गएकाहरु अहिले पनि शक्ति आर्जन गर्ने दौडमा छन् । माओवादीबाटै छुट्टिएर आफू चाहिँ सच्चा कम्युनिस्ट भएको भन्दै थुप्रैले स–साना पसल थाप्न भ्याए ।

अहिले तिनै पसलहरुले कम्युनिस्ट एकता गर्नु पर्छ भन्दै एक जुट हुने प्रयासमा छन् । योसँगै पछिल्लो समय मुलुकको वर्तमान व्यवस्थाविरुद्ध असन्तुष्टि जनाउँदै व्यवस्था विरोधी तत्वहरु सलबलाउन थालेका छन् । जसले गर्दा प्रधानमन्त्री दाहाललाई थप चिन्ता बढेको छ । यी सबै चुनौतीहरुलाई चिर्दै माओवादी पार्टी चलायमान कहिले हुन्छ ? यो भने आम मानिसको चासोको विषय बनेको छ ।