विदेश

विश्वका धनाढ्य एलन मास्कको रहस्य र उतारचढाव, कारदेखि रकेटसम्मको लगानी


काठमाडौँ — एउटा कम्प्युटर गेमबाट १२ वर्षको उमेरमै ५ सय अमेरिकी डलर कमाएका एलन मस्क अहिले विश्वका धनाढ्य व्यक्तिको सूचीमा छन् । जीवनको धेरै उतारचढाव बेहोरेका मस्क यतिखेर महिनौँ अघि हमासले आक्रमण गरेको इजरायलको युद्ध क्षेत्र काफर अजा नामक किबुत्ज अवलोकन गर्न पुगेका छन् । अहिले संसारको चर्चित प्रतिभाशाली धनाढ्य व्यक्तिहरूको नाम लिनुप¥यो भने सायद एलन मस्कको नाम अगाडि आउँछ । एलन मस्क एक भौतिकशास्त्री, इन्जिनियर, अर्थशास्त्री र उद्यमी हुन् । वैज्ञानिक भएकै कारण विकसित प्रविधिबारे उनी राम्रो जानकारी राख्छन् ।

आफैँ अन्वेषण पनि गर्न सक्ने तथा अन्य प्रतिभाशाली व्यक्तिहरूलाई लिएर काम गर्न सक्ने भएकाले प्रविधिको प्रयोग गरेर धनी बन्नेमध्ये उनी अगाडि छन् । एलनलाई चिनाउने पहिलो कम्पनी स्पेस–एक्स हो । यसले रकेट बनाउँछ । तर आममानिसका लागि उनको सबैभन्दा ठूलो पहिचान हो टेस्ला । जसले बिजुलीबाट चल्ने कार बनाउँछ । सन् १९८४ मा आफूले एउटा कम्प्युटर गेमबाट १२ वर्षको उमेरमै ५०० अमेरिकी डलर कमाएका एलन मस्कले अमेरिकामा सन् १९९५ मा भाइसित मिलेर २८ हजार डलरमा जिप टु नामक वेब सफ्टवेयर कम्पनी सुरु गरेका थिए । सन् १९९९ मा त्यो कम्पनीको आफ्नो शेयर बेचेर उनले २२ मिलियन डलर हात पारे । त्यसपछि लगत्तै १० मिलियन डलर लगानी गरेर एक्स डट कम नामक कम्पनी खोले । त्यस्तै प्रकृतिको अर्को कम्पनीसित समायोजन गरेर उनले पे पल नामक कम्पनी बनाए ।

जुन इन्टरनेटमार्फत पैसा तिर्न मिल्ने खालको प्रविधि थियो । उनको कम्पनीले निकै छिट्टो बजार बिस्तार ग¥यो । तर पार्टनरसित खटपट भएपछि अर्को वर्ष आफ्नो शेयर बेचेर उनले १ सय ६५ मिलियन डलर लिए । त्यसपछि उनले सन् २००१ मा अन्तरिक्ष भ्रमणको अवधारणा ल्याए । र रकेट कम्पनीबारे बुझ्न रसिया गएर फर्के । रकेट निर्माण गर्ने प्रविधि निकै महँगो रहेको जानकारी पाए तर उनी चाहन्थे– व्यावसायिक किसिमको आर्थिक हिसाबले पनि थेग्न सकिने रकेटको निर्माण । त्यसपछि उनले स्पेस एक्स नामक रकेट निर्माता कम्पनी सन् २००२ मा १ सय मिलियन डलर लगानी गरेर खोले ।

सन् २००८ मा आर्थिक मन्दीसँगै एनलको असफलताको बाटो देखिन थाल्यो । स्पेस एक्सले बनाएका रकेटहरू पनि अन्तरिक्षमा प्रक्षेपण गरेको केही समयमै नष्ट भए । अर्कोतिर टेस्ला कारको ब्याट्रीको क्षमता सोचेजस्तो हुन नसक्दा मोटर कम्पनी पनि समस्याग्रस्त भयो । एलन मस्क आर्थिक संकटमा पर्दै गए र झण्डै बैंकको कालो सूचीमा पर्ने अवस्थामा पुगे । तर उनको अन्तिम रकेट सन् २००८ को सेप्टेम्बरमा सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण भयो । त्यसपछि नासाले उनीसित १ दशमलव ६ विलियन डलरको सम्झौता ग¥यो । उनको स्पेस एक्सले पाएको सफलताले टेस्लामा पनि लगानीकर्ता थप्न मद्दत पुग्यो । अहिले टेस्ला संसारकै धनी कम्पनीमध्ये पर्छ । एलोन मस्क सामाजिक सञ्जालमा पनि निकै सक्रिय देखिन्छ ।

सक्रियता कै कारण उनले गत वर्ष अक्टोबर २७ मा ४४ अर्ब डलर खर्चेर ट्वीटर नै खरिद गरे । जे होस एलोनले चलाएको कम्पनिले विश्वमा हलचलनै ल्याएको छ । जीवनको लामो उतारचढावसँगै उनी संसारकै धनी व्यक्ति बन्न सफल भएका छन् । उनि समय समयमा विभिन्न देशको भ्रमणमा निस्किने गरेका छन् । पछिल्लो समय भने एलोन इजरायल पुगेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अक्टोबर ७ मा हमास लडाकुले आक्रमण गरेको ठाउँको उनले भ्रमण गरेका छन् । आइरन म्यानको नामले चिनिएका एलन मस्कबाट अहिलेको पुस्ताले सिक्ने कुरा धेरै नै छन् । उनको आविष्कारले कुनै न कुनै रूपमा नेपाल जस्तो मुलुकलाई पनि फाइदा पुगेकै हुन्छ । उनको दृढ संकल्प र त्यही संकल्पबाट प्राप्त सफलताले भने जिवनमा आइपर्ने हारबाट कहिले पछि हट्नु हुँदैन भन्ने सन्देश सबैमा प्रवाह भएकै छ ।