समाचार

धुलिखेलमा लागेको आगो ३ घण्टापछि नियन्त्रणमा, क्षतिको विवरण आउँन बाँकी


काठमाडौँ – आज (मंगलबार) बिहान उज्यालो नहुँदै काभ्रेको धुलिखेलमा सुरु भएको आगलागी नियन्त्रणमा आएको छ।

धुलिखेल नगरपालिका-११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा बिहान चार बजेदेखि सुरु भएको आगलागी बिहान ६ बजेर ५० मिनेट जाँदा पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आगलागीबाट ढुंगानाका ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घर र एउटा गाईबस्तु बाँध्ने गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ। आगलागीको खबर प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। आगलागी कसरी सुरु भयो, कारण खुलेको छैन। आगलागीबाट अन्नपात र अन्य भौतिक बस्तु जलेर नष्ट भए पनि चौपाया र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।