काठमाडौँ — अभियन्ता दुर्गा प्रसाईको आन्दोलन शिथिल बन्न पुगेको छ । बिहीबार राजधानीको बल्खुमा भएको प्रदर्शनपछि हौसिएका प्रसाईंको आन्दोलन समयक्रमसँगै निरन्तर तुहिने अवस्थामा अग्रसर देखिन्छ । यी फरक–फरक दुई दृश्य राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईंको आह्वानमा देखिएको जनप्रदर्शनकोे हो । बिहीबार राजधानीको बल्खु क्षेत्रमा हजारौंको संख्यामा देखिएका प्रदर्शनकारी आईतबारसम्म आईपुग्दा केही सयमा सीमित भएका छन् । व्यवस्था परिवर्तनदेखि लघुवित्त, सहकारी र बैंकको ऋण मिनाहा गर्नु पर्ने जस्ता एजेण्डासहित भएको सडक आन्दोलन चार दिनको अवधिमै शिथिल बन्न पुगेको छ । जसले गर्दा सत्ताको बागडोर सम्हालिरहेका गणतन्त्रवादीहरूमा खुशीयाली छाएको छ ।
पहिलो दिन अभियानले ठूलै भीड जम्मा गर्न सके पनि प्रसाईंले त्यसलाई निरन्तरता दिन भने सकेनन् । साथै यो आन्दोलन अब उनको बहसभन्दा बाहिर गइरहेको बुझ्न सकिन्छ । बल्खुमा बाघ झै गर्जिएको आन्दोलनलाई प्रसाईंले राजनीतिक रंग दिन असमर्थ हुँदा उनका एजेण्डा नै सुस्ताउन थालेको छ । प्रसाईंको आफ्नै कारणले अभियान तुहिने अवस्थामा आइपुगेको हो । २०६२÷०६३ को जनआन्दोलन ताका पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका साथै माधवकुमार नेपाल जस्ता नेताहरू तत्कालिन प्रशासनले घरबाट बाहिर ननिस्कनु भनेर कफ्र्यू लगाउँदा पनि ज्यानको बाजी लगाएर राजतन्त्रविरुद्ध सडकमा उत्रिएको इतिहास अझै ताजै छ ।
तर प्रसाईं भने आफ्नो आन्दोलनको भोलिपल्टदेखि नै स्वघोषित नजरबन्दमा रहँदै दिनभरमा तीन पटक पत्रकार सम्मेलन गर्न भ्याए, यति मात्रै होइन आन्दोलनको नाममा उनी पत्रकार सम्मेलन भन्दै त्यसैमा रमाएर बसे । जसको फाइदा प्रशासनले उठायो । प्रचण्डको चलाखी र गृहको दबदबा रहँदा उनको समर्थनमा आएकाहरू धमाधम धरपकडमा परे । बाटोमा हिँड्ने नागरिकदेखि प्रदर्शनकारी र पार्टी प्यालेसमा बसेकाहरू पनि प्रशासनको नियन्त्रणमा परेपछि प्रसार्इंकै लागि भनेर काठटमाडौं आएकाहरू डरले घरैमा बस्न बाध्य बने ।
आएकै भीडलाई पनि प्रसाईंले व्यवस्थापन गर्न नसक्नु प्रसाईंको कमजोरी देखियो । दुर्गाको अभिव्यक्ति आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने खालेको रणनीतिक हुनु पर्ने थियो । तर उनी रणनीतिकभन्दा बढी नेता कुट्ने जस्ता अराजक अभिव्यक्ति दिन उत्तेजित भए । जसले गर्दा आन्दोलन दबाउन प्रशासनलाई सहज बन्यो । त्यस्तै झापामा प्रसाईंलाई पखेटा हाल्दिएर परेवा उडाएका ज्ञानेन्द्र शाहले झापामा नै उत्रिएर राजेन्द्र लिङ्देनलाई साथ दिएपछि केही राजावादीको टुटफुटको परिदृश्यले अभियानमा प्रभाव पा¥यो ।
जिल्ला जिल्लाबाट पीडितलाई काठमाडौँ उतारे पनि उपत्यकावासीलाई विश्वासमा लिन नसक्दा प्रसाईंको अभियानमा ठूलो धक्का लाग्न पुग्यो । यद्यपि, ऋण काँडेर आफ्नै खर्चमा आएका प्रदर्शनकारी र केही उपत्यकावासीहरू अझै राजतन्त्र फर्कने आशमा प्रसाईंको पछिपछि दौडिरहेका छन् । सडक संघर्षको अग्रस्थानमा उभिएर सबैको नेतृत्व गर्ने नै नेता हुने हो । तर, दुर्गा त्यसमा चुके । राजनीति गर्न राजनीतिक धरातल र नेतृत्व गर्नेको पृष्ठभूमि बलियो हुनुपर्छ । यी दुवै आधारमा प्रसाईं खरो देखिएनन् । साथै प्रशंसा गर्न लायक उनेका राजनीतिक पृष्ठभूमि पनि छैन ।
प्रचण्ड, ओली हुँदै राजाको खातिरदारी गर्ने उनको छवि मेडिकल माफियाको रुपमा चित्रित छ । प्रत्येक भीडलाई सम्हाल्ने नेता आवश्यक हुन्छ, त्यसैले पनि प्रसाईंको आन्दोलनमा त्यो सम्भव भएन । बरु रविन्द्र मिश्रजस्ता राजावादी र व्यवस्थाविरोधीहरू प्रसाईंलाई उचाल्नतर्फ लागे, तर मैदानमा उत्रिएनन् । बल्खु, तीनकुने र सिफल प्रत्येक दिन विरोधको स्थान परिवर्तन हुँदा पनि आन्दोलन बिथोलिने प्रमुख कडी बन्यो ।


प्रतिक्रिया