Breaking

बालेन–रविदेखि पूर्वराजासम्मको दबावमा देउवा–प्रचण्ड र ओली, सक्किने कि सच्चिने ?


काठमाडौँ — पटक पटक सच्चिने कि सक्किनेको बहस छेड्दै अघि बढेका ठूला पार्टी अहिले फेरि त्यसैमा आईपुगेका छन् । आफ्नै पार्टीका युवाको दवावलाई दबाएर अघि बढ्न सफल भए पनि स्वतन्त्र निर्वाचित हुँदै जनता राजावादीप्रति आकर्षित हुँदा परम्परागत राजनीतिज्ञलाई सच्चिन थप दवाव परेको छ । देशमा ठूला–ठूला राजनीतिक परिवर्तनका लागि ज्यानको बाजी राखेको हवाला दिनेहरूकै हातमा अहिले सत्ताको चाँवी छ ।

उनीहरूलाई जनसरोकारको मुद्धा सम्बोधन गर्न मात्र इच्छा शक्ति काफी छ । तर, भुइँमान्छेको मुद्धा बोकेर सत्ता यात्रा गरिरहेकाहरूबाट पनि आम नागरिकले परिवर्तन महसुस गर्न नसक्दा व्यवस्था र यसका सञ्चालकमाथि नै जनताको आक्रोश छ । जसले गर्दा जनआन्दोलनको ब्याज खाएर नेपाली राजनीतिमा रजगज गरिरहेका गणतन्त्रका हिमायती ठान्ने शीर्ष दलका नेतृत्वहरू दवावमा पर्न थालेका छन् । सच्चिने वा सक्किनेमध्ये एक मात्रै विकल्प रहेको बुझेका गणतन्त्रको खातिरदार प्रचण्डजस्तालाई राज्य सञ्चालककै कारण व्यवस्था कमजोर हुँदै जाँदा प्रतिक्रान्तिकारीहरू सलबलाएकोमा पीर पर्न थालेको छ ।

रवि, बालेन र हर्क जस्ताको राजनीतिमा आगमनसँगै धक्का लागेको परम्परागत दलका नेतालाई व्यवस्था विरोधी अभियन्ता दुर्गा प्रसाईंको आन्दोलनले थप दवावमा पारेको छ । जुन दवाव भूकम्प प्रभावित क्षेत्रमा पनि देखियो । पार्टी प्रचारकै लागि भए पनि केन्द्रीय स्तरका नेताहरू पीडितको दैलोमा पुगे भने हजारौंको संख्यामा कार्यकर्ता नै पठाएर दुःखमा साथ दिए ।

प्रसाईंको आन्दोलनमा सहभागी अधिकांश प्रदर्शनकारीहरू व्यवस्था विरोधी भन्दा पनि लघुवित्त, सहकारी, र मीटरव्याजको समस्याले सडकमा उत्रिएका छन् । आफ्नो समस्याको समाधान सरकारबाट हुन नसक्दा उनीहरू प्रसाईंको माध्यमबाट सडकमा आउन बाध्य बनेका मात्र हुन् । त्यसैले अहिलेको परिपेक्षमा व्यवस्थाको विकल्पभन्दा पनि नेता सच्चिन नसक्दा जनताले विकल्प खोजेको दलका नेतालेनै महसुस गर्न थालेकाछन् ।

राजा फर्काउने होइन बरु ठूला नेता सच्चिन आवश्यक भएको निष्कर्षमा सबै शीर्ष नेताहरू पुगेका छन् । तर, उनीहरूको व्यवहार र बोलीमा भने कुनै तारतम्यता मिल्दैन । मजदुर र कृषक वर्गको प्रतिनिधित्व गर्ने भन्दै देशमा ६० प्रतिशत भन्दा बढि अस्तित्व कायम गर्दै कम्युनिष्ट राजनीतिक शक्तिहरू हावी त छन् । तर, तिनै कम्युनिष्ट पार्टीबाटै राष्ट्रिय राजनीतिमा सफल भएर देशको बाग्डोर सम्हाल्नेकै कार्यकालमा शासन व्यवस्था कमजोर हुँदै गएको छ ।

जनचासोको मुद्धालाई अघि सार्दै निरंकुश राजतन्त्रलाई फालेर आफू सत्तामा हुँदा पनि जनताको समस्या अवमूल्यन गर्दा दुर्गा जस्ता व्यक्तिहरूले यसमा खेल्ने मौका पाईरहेका छन् । दुर्गाको आन्दोलनमा देखिएको शक्ति प्रदर्शन पनि नेतृत्वको जवाफ हीनताको परिणाम नै हो । गणतन्त्रको डेढ दशक पार भईसक्दा पनि नेताहरूको भाषणमा मात्र देश समृद्ध बनेको छ ।

जनता राष्ट्रप्रति जिम्मेवार भए पनि शासकहरू बेइमान बनेका छन् । फलतः उनिहरुलाई नै धक्का दिने गरी दुर्गा प्रसाईँले राजाको फोटो गलामा झुण्ड्याई हिडेकाछन् । अब पनि जनतमत लिएर, जनतालाई उपेक्षा गर्ने हो, नेताहरुको खैरात नहुने देखिन्छ ।