Breaking

बाघ झै गर्जिने दुर्गा किन डराए ? प्रचण्डसँगको सेटिङ के हो ? समर्थकमाथि दुर्गाकै षड्यन्त्र !


काठमाडौँ — बल्खुमा शक्ति प्रर्दशन गरेर राष्ट्रिय हिरो बनेका दुर्गा प्रसाईंले आफैँ नजरबन्दमा परेको भन्दै सर्वोच्च गुहारेका छन् । प्रहरीले उनलाई नै सुरक्षा दिएको बताइरहे पनि प्रसाईं स्वयंले आफू नजरबन्दमा परेको दाबी गरेका हुन् । यसले प्रसाईं आफैँ आन्दोलन तितरवितर पार्ने षड्यन्त्रमा लागेको विश्लेषण गरेका छन् । बल्खुमा प्रदर्शनकारीको सर्मथनले बाघ बनेका प्रसाईंको गर्जनले धेरैलाई लागेको थियो, शुक्रबारको आन्दोलन अझ डरलाग्दो बन्छ । २८ जनाको टाउको फुटेको चोटसहित प्रर्दशनकारी शुक्रबार तिनकुनेको निषेधाज्ञा तोड्नै तयार थिए । तर केही थान प्रहरी भक्तपुरस्थित प्रसाई निवासमा पुगेपछि प्रर्दशनकारीले बाघ मानेका दुर्गाले भने आफ्नै घरको घेरा तोड्न सकेनन् ।

यता तिनकुनेमा भने दिनभर उनका सर्मथकहरु उनी आएपछि आन्दोलन चर्काउने तयारीमा थिए । तर प्रसाईंले बाहिर निस्किने आँट समेत नगरेपछि सर्मथकहरु निराश बने । सडकको बाटो छोडेर नजरवन्दविरुद्ध अदालतको बाटो रोजेका प्रसाईं यही व्यवस्थाको नियम कानून मानेर व्यवस्था फेर्न लागिपरेका छन् । यद्यपी दिनभर तारन्तर पत्रकार सम्मेलन गरेर हाइसञ्चोमा देखिएका प्रसाईं कस्तो नजरवन्दमा परेका हुन् त्यो भने बुझ्न कठिन छ ।

भाषणले बाघ बनेका प्रसाईं भिड्ने समय आउँदा भने त्यही हालतमा छैनन् । उनका सर्मथकहरु बघिनी बिनाको डमरुजस्तै कहिले तीनकुने त कहिले ठीमितिर भौतारिरहेका छन् । प्रसाईं यस्तो अवस्थामा पुग्नुमा उनकै दोष रहेको प्रशासन बताउँछ । बिहीबार प्रसाईले नेताहरुलाई जहाँ देख्यो त्यही भकुर्नेदेखि सिंहदरवार र संसद भवन कब्जा गर्र्नेसम्मका अभिव्यक्ति दिएका थिए । त्यसै कारण सुरक्षा थ्रेट देखेको प्रशासनलाई कारण देखाएर प्रसाई आफैँ बुढो बाघजस्तो बनेका छन् ।

लोकतन्त्रमा आवाज बन्द गर्नका लागि नजरवन्दमा राख्नेसम्मका क्रियाकलापलाई सर्मथन गर्न सकिँदैन । तर राज्यसंयन्त्र नै कब्जा गर्ने र अराजकता मच्चाउने प्रसाईंका उग्र आतंककारी नियतलाई टुलुटुलु हेरेर बस्न पनि सकिँदैन । यो बहसकै बिषय छ । यद्यपी प्रदर्शनकारीहरुलाई सडकमा उतार्ने तर आफू नजरवन्दका बाहनामा उनीहरुलाई अल्मल्याउने योजना प्रसाईंले बनाएका हुन् भने उनको वास्तविक अनुहार केही दिनमै छरपष्ट हुनेछ । हुँदाहुँदा आफैले जम्मा गरेको हजारौँको भीड तीतरवितर पार्नमा स्वयं प्रसाईं नै लागिरहेका त छैनन् भन्ने प्रश्न पनि उब्जिएको छ ।

यदि प्रसाईं साच्चे नजरवन्दमा परेका थिए भने उनका समर्थकले घरमै पुगेर नाराबाजी गर्दा समेत उनी निथ्रुक्क भिजेको बिरालो जस्तो बन्ने थिएनन् । व्यापार नै संकटमा परेपछि राजनीतिमा होमिएका दुर्गाको उद्येश्य नै व्यापारिक साम्राज्य बिस्तार गर्नु हो । हिजो ओली र प्रचण्डसँग नाफा घाटाको हिसाव नमिलेर मार्सी चामल अड्किएपछि राजावादी बनेका उनी तिनै नेताहरुसँग हिसाव मिले फेरि शरणमा पुग्न सक्ने कतिपयको विश्लेषण छ ।

प्रसाईं आफ्नो आन्दोलनकै प्रभावले राजसंस्था फर्किने वा ऋण मिनाहा भईहाल्छ भन्ने पक्षमा पनि विश्वस्त छैनन् । त्यसमाथि आफ्नै कार्यक्रमलाई समेत व्यवस्थापन गर्न नसकेका प्रसाई जनप्रर्दशनबाटै व्यवस्था परिवर्तन भइहालेपनि अपनत्व लिईदिने राष्ट्रिय प्रजातन्त्र पार्टी र गद्दीमा बस्ने ज्ञानेन्द्र शाहकै साथ नपाउँदा झस्किएका छन् । पूर्वराजा आफै सडकमा उत्रिन्छन् नत्र राजसंस्था बोकिन्न भन्ने प्रसाईंको आन्दोलनमा ज्ञानेन्द्र शाही आए तर ज्ञानेन्द्र शाह आएनन् ।

राजावादी अधिकांस संघसंगठनले साथ नदिनु र मनिषा कोईराला लगायत अपेक्षा गरेका व्यक्तिहरु पनि आन्दोलनमा नजनाउनुले पनि आफ्नो आन्दोलन निष्प्रभावि सावित भएको बुझेका छन् । त्यसै कारण सर्मथकहरुलाई सिंहदरबार कब्जा गर्नेसम्मका उग्र र अराजक निर्देशन दिएर उनी किनारा लागेको हुन सक्ने कतिपयको टिप्पणी छ । त्यसमाथि सामान्य अवस्थामा दुर्गा प्रसाईं र राजावादीहरुको उछितो काटेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली चुप रहनुलाई पनि प्रसाईं कनेक्सनसम्म जोड्न थालिएको छ ।

गणतन्त्रका लागि गोली थापेको बताउने प्रसाईं आफै पनि राजतन्त्र फर्कियोस भन्ने चाहदैनन् र त्यो सम्भव छैन भन्नेमा पनि उनी विश्वस्त छन् । हिजो एमालेमा ओली हजुरबाले टिकट नदिएर नेता बन्नबाट चुकेका प्रसाईंलाई भीड बटुलेर नेता बन्ने ध्याउन्नमा छन् । त्यसैले पनि उनी समाजमा जे बिक्छ त्यही टिपेर हिंडिरहेका छन् ।

राजतन्त्रको एजेण्डा लिएरै चुुनाव लडिरहेको राप्रपाले संसदवादमै सत्तायात्राको आधार पाइरहेको छ । हिजो कम्तिमा एक थान सांसद, मेडिकल कलेजलाई सम्बन्धन पक्का बनाउने आशमा रहेका प्रसाई ७ गतेको शक्ति प्रर्दशनले त्योभन्दा माथिल्लो उचाइमा पुगिसकेका छन् । तर अनेकन आकांक्षा बोकेर आएको भीडले प्रसाईंको वास्तविकता कहिले थाहा पाउँछ र उनको वाहावाही कहिलेसम्म टिक्छ त्यो भने हेर्न बाँकी छ ।