विदेश

इजरायल–हमास कसरी पुगे युद्ध विराम सम्झौतामा, अझै युद्ध रोकिने छैन सुनिश्चिता


काठमाडौँ — इजरायल र हमासबीच अस्थायी युद्ध विराम गरी बन्धक रिहा गर्ने सम्झौता भएको छ । युद्ध सुरु भएको डेढ महिनापछि हमासले बन्धक बनाएका इजरायलीलाई रिहा गर्न चार दिन युद्ध विराम गर्ने सहमति भएको हो । यसबापत इजरायली जेलमा रहेका प्यालेस्टिनीलाई पनि इजरायलले छाड्नु पर्नेछ । तर इजरायलका प्रधानमन्त्रीले भने बन्दक रिहा पछि पुनः हमासमाथिको आक्रमण जारी रहने र हमासलाई निमिट्यान्न पारेरै छाड्ने बताए । झण्डै १५ हजारको नरसंहारपछि इजरायल र हमासबीच युद्ध विरामको सम्झौता भएको छ ।

युद्धको ४७ औँ दिन पुग्दा हमासको नियन्त्रणमा रहेको २ सय ४० जना बन्धकमध्ये केहीलाई रिहा गर्ने विषयमा सम्झौता भएको हो । यसका लागि अस्थायी रुपमा ४ दिने युद्ध विराम हुनेछ । यो अवधिमा पहिलो चरणअन्तर्गत हमासको कब्जामा रहेका ५० जना रिहा हुनेछन् । इजरायलको मन्त्रिपरिषद्मा बन्दी रिहाइका लागि हमाससँगको जारी युद्ध रोक्नेबारे मतदान भएको थियो । प्रस्तावित चार दिने युद्ध विरामलाई मन्त्रिपरिषद्ले पारित गरेको थियो । कतारको मध्यस्थतामा अघि बढेको युद्ध विरामको प्रस्तावलाई हमासले पनि सकारात्मक भनेको छ । युद्ध विराम र बन्दी रिहाइमा इजरायली मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै हमासको कब्जामा रहेका दुई सयभन्दा बढी व्यक्तिको रिहाइ प्रक्रिया अघि बढ्ने भएको छ ।

पहिलो चरणमा ५० जना रिहा हुने छन् । नेपाली युवा विपिन जोशीलाई पनि हमासले बन्धक बनाएको इजरायलले जनाएको छ । त्यसबापत इजरायलले पनि एक सय ५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने प्रस्तावमा उल्लेख थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने बन्धक रिहाइ पछि पनि युद्ध जारी रहने बताएका छन् । बन्धकको रिहाइपछि युद्ध रोकिने भनेर चर्चा भइरहेको प्रति खण्डन गर्दै उनले लक्ष्य हासिल नहुन्जेल युद्ध जारी रहने जिकिर गरेका छन् ।

उनले हमासद्वारा बन्धक बनाइएकाहरुलाई फर्काउनु आफ्नो महत्वपूर्ण लक्ष्यमध्ये एक भएको उल्लेख गर्दै हमासको सफाया पनि महत्वपूर्ण अर्को लक्ष्य भएको जनाएका छन् । फेरि इजरायलका लागि खतरा हुने कुनै पनि शक्तिलाई निमिट्यान्न नपारेसम्म गाजामा केही नछाड्ने उनको प्रतिबद्धता छ । इजरायल र हमासबीचको युद्ध ४७ औं दिनमा पुग्दा दुवैतर्फ करिब १५ हजार व्यक्तिको ज्यान गएको छ । तीमध्ये इजरायली आक्रमणमा गाजा क्षेत्रमा मारिने बालबालिकाको संख्या ५ हजारभन्दा बढी पुगेको छ ।