Breaking

लामाबगर नाकाबाट यसरी गरियो ३३ किलो सुन तस्करी


काठमाडौँ – दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्र्याइएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्र्याइएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी गरिएको खुलेको छ । सुन तस्करीमा संलग्न १२ जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखा र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।

सुन तस्करीमा संलग्न व्यक्तिका बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै ६ पटकमा ३३ किलो सुन भित्र्याइएको खुल्न आएको उनले बताए ।
तस्करको समूहले सुन खरिदबापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिना समेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।