काठमाडौँ – समृद्ध नेपाल, सुखी नेपाली, सामाजिक न्याय, सुशासन र समृद्धि जस्ता विषय नारामा सीमित भएका छन् । व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएपछि जनतामा चरम निराशा छाएको छ । नेतृत्वको कार्यशैलीप्रति आक्रोशसँगै व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ ।
नेताहरूको कार्यशैलीका कारण नीतिहरूको पनि प्रमुख नीति मानिने राजनीति लाजनीतिमा परिणत हुँदैछ । आन्दोलनताका नारा केबल नारामै सीमित भएका छन् । नेपाली समाज निराशाको अँध्यारो सुरूङमा फस्दैछ । राजनीति झन् झन् अन्योलग्रस्त हुँदै छ । विवेक, तर्क र सम्झौताको स्थान दम्भ र मुठभेडले लिँदैछ । अर्थतन्त्र तन्नेरी पसिनाको रेमिटेन्समा निर्भर छ । महँगीले जनताको ढाड सेकिएको छ । बौद्धिक वर्ग विभिन्न कित्तामा विभक्त भई आग्रही उपदेश पस्कनमा ब्यस्त छन् । नागरिक समाज राजनीतिक दलका डमी भएका छन् भने जनताको चरम निरासालाई सम्बोधन गर्नुपर्ने नेताहरू गालीगलौजको राजनीतिमा रमाइरहेका छन् ।
नेताको अवस्थासँगै व्यवहार फेरिएको छ । जनताको जीवनस्तर जस्ताको तस्तै छ । व्यवस्था परिवर्तनसँगै जीवनमा आमूल परिवर्तन हुने अपेक्षासहित संघर्षमा होमिएका जनतामा चरम निराशा छाएको छ । सत्तामा पुग्न झुटा आश्वासन दिएका नेताहरूलाई जनताको पीरमर्काप्रति कुनै चिन्ता छैन । कसरी पद जोगाउने र कमाउने भन्नेमा नेताको ध्यान केन्द्रित छ ।
शासक वर्गलाई सबै ठीक लाग्छ । तर, अवस्था निकै प्रतिकुल भइसकेको हुन्छ । शासक वर्गको चरम अत्याचारविरुद्ध जनता संगठित हुन्छन् । सत्तामा रहनेहरूका लागि यहाँ सबै थोक छ । तर, जनता बिहान–बेलुकी हातमुख जोड्न नसक्ने अवस्थामा छट्पटाइरहेका छन् । शासकहरू प्रति औला उठाइरहेका छन् । तर, शासकको घैटोमा घाम लागेको छैन ।
राणा शासन फालेर राजासहितको प्रजातन्त्र, पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था, निरंकुश शाही शासन हुँदै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । यो व्यवस्थामाथि पनि प्रश्न बाक्लिदै गएका छन् । लोकतन्त्रमा भीडतन्त्र र अराजकता हाबी हँुँदै छ । यसको गम्भीर समीक्षा गरेर समाधानमा लाग्नुपर्ने सरकार विरोधका स्वर मत्थर पार्न अग्रसर देखिन्छ । त्यो भनेको आत्मरतिमा रम्नुबाहेक अन्य केही पनि होइन । अझै पनि गम्भीर भएर समस्या समाधानमा लाग्ने हो भने सकारात्मक परिणाम निस्कन सक्छ । तर, नेतृत्वको चेत अझै खुलिसकेको छैन ।
प्रतिक्रिया