Breaking

समाजवादी मोर्चा माओवादीमा विलय ! माधव, बाबुराम अब माओवादी ? विप्लवको धम्की


काठमाडौँ — जनयुद्धका सहयात्री बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्ड फेरि एक हुने बाटोमा अघि बढेका छन् । हिजो बाबुरामलाई एक्ल्याएर अरु कार्यकर्तालाई माओवादीमा गाभ्ने सपना देखेका प्रचण्डले माओवादी र नेपाल माजवादी पार्टीबीच एकताको प्रकृया अघि बढाएका छन् । गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नै एकै चुनाव चिह्न लिएर होमिए पनि बाबुरामलाई एकता प्रकृयामा नल्याउने प्रचण्डको चाहना थियो । त्यसका लागि प्रचण्डले भगिरथ प्रयास नगरेका पनि होइनन् । नेसपाका उपाध्यक्षसमेत रहेका गंगानारायण श्रेष्ठलाई बागमती प्रदेशको मन्त्री बनाए ।

चीन र भारत भ्रमणमा जादासमेत महेन्द्र राय यादवलाई भ्रमण टोलीमा काखी च्यापे पनि प्रचण्डले बाबुराम बेगर पार्टी एकता गर्न सकेनन् । यद्यपि आइतबार भएको सहमतिले बाबुरामलाई माओवादीमा विलय गराउने अभियानमा प्रचण्डले एक फड्को सफलता लिएका छन् । सत्ता बार्गेनिङका लागि नीतिहीन समाजवादी मोर्चा बनाएका प्रचण्ड अहिले मोर्चाका दलहरुलाई नै माओवादीमा विलय गराउने दाउमा देखिन्छन् । आइतबार रुकुमपूर्व पुगेका प्रचण्डले बाबुराम र विप्लवसँग एकता हुने उद्घोष नै गरे ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको आन्तरिक सकसको फाइदा लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरु एमालेमा फर्काउन थालेपछि प्रचण्डले माधवलाई पनि आफूतिर तान्ने रणनीतिस्वरुप एकता कमिटीलाई सक्रिय बनाएका छन् । अझ पार्टीको नाम र चुनाव चिह्नसम्मै फेर्नेसम्मको सम्झौता गर्न उनी पछि परेका छैनन् । समाजवादी मोर्चा सातै प्रदेशमा दौडेपनि न त त्यसले कार्यकर्ताबीच समन्वय गरायो न त नेताहरुबीच कार्यगत एकताको मार्गदर्शन नै छ ।

यो गञ्जगोलको फाइदा भने कसैगरी माओवादीले नै लिइरहेको छ । त्यसै कारण एकताको आवाज बुलन्द पार्न माओवादी सक्षम भएको देखिए पनि प्रचण्डका पछिल्ला गतिविधिप्रति नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव भने सन्तुष्ट छैनन् । विप्लव जाजरकोटको भूकम्पदेखि टिकटक बन्दसम्मका प्रचण्डको निर्णयमा बिरोध मात्र जनाइरहेका छैनन् कि सत्ता टिकाउनका लागि जे पनि गरेको आरोप लगाइरहेका छन् ।

पटक–पटक २०८४ को निर्वाचनमा पार्टीलाई २०६४ सालकै हैसियतमा माओवादीलाई पहिलो दल बनाउने दाबी प्रचण्डले गर्दै आएका छन् । जसका लागि पूर्वमाओवादी र कम्युनिस्टहरुको एकतालाई नै आधार बनाएको देखिन्छ । विगतमा जनयुद्धमाथि प्रश्न उठेपछि प्रचण्डले बालुवाटारमै पूर्वमाओवादीहरुको भेला गराएर अन्य दलहरुलाई दबाब नदिएका पनि होइनन् । तर सीपी गजुरेल र मोहन बैद्यलगायत नेताहरु अहिलेपनि प्रचण्डलाई पत्याइ हाल्न तयार छैनन् ।

माओवादी सत्तामा रहेका कारण सबैजसो दलहरुले एकताका लागि सकारात्मकता देखाए पनि÷देखिएपनि स्वार्थ केन्द्रित राजनीतिका कारण प्रचण्ड जुनसुकै बेला जता पनि मोडिन सक्छन् भन्ने सबैले बुझेकै कुरा हो । तर पनि मुलुकको वर्तमान राजनीति उनी वरिपरि घुमिरहेको छ भने राजनीतिक मियो बनेर सबैलाई आफू अनुकूल नचाइरहेका छन् ।