Breaking

गठबन्धनभित्र एक्लिए प्रचण्ड, शेखर गगन तगारो, विप्लवले प्रचण्ड निरंकुश देखे


काठमाडौँ — गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हरेक क्षेत्रमा एक्लिन थालेका छन् । सत्तारुढ दल र समाजवादी मोर्चाका नेताहरूबाट समेत प्रचण्डले साथ पाउन छाडेका छन् । सरकारले गर्ने हरेक कदमको विरोध गर्ने अग्रभागमा सत्ता घटकका दलहरू र समाजवादी मोर्चाका नेताहरू देखिन्छन् । त्यसैले प्रचण्डलाई गठबन्धन र समाजवादी मोर्चा नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार भनेजस्तै भएको छ ।

गत पुस १० मा एमालेको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिएपछि पुरानै गठबन्धनमा फर्किएका थिए । तर, सरकारका हरेक कदममा प्रतिपक्ष भन्दा पनि सत्तापक्षबाटै विरोधका आवाज बढी आउने गरेका छन् । प्रचण्डले अहिले पनि सुरक्षित महसुस गरेका छैनन् ।

नयाँ भनिएका दलहरूको सामाजिकमा सञ्जाल क्रेज र राजावादीहरू सलबलाउन थालेपछि प्रचण्डले सामाजिक सञ्जाल ट्वीटर बन्द गरिदिए । त्यसको पनि सत्तारुढ दल र समाजवादी मोर्चाका नेताबाटै बढी आलोचना भयो । सत्ता घटक दलबाटै कोशीमा विद्रोह गरेर एमालेको समर्थनमा आफ्नो पक्षलाई मुख्यमन्त्री बनाउन सफल भएका शेखर कोइराला केन्द्रमा पनि सहमतीय सरकार निर्माण आवश्यक रहेको बताउन थालेका छन् ।

यद्यपि, सहमतीय सरकारको प्रयास कोशीमै विफल भएको छ । लोकतन्त्रमा विरोधको स्वरलाई दबाउन नहुने जिकिर गर्दै विरोधमा उठेका आवाजहरूलाई सम्बोधन गर्दै समस्यालाई पहिचान गरेर समाधान गर्नुपर्ने तर्क कोइरालाको छ । प्रतिपक्ष दल झन् के कम । अहिलेको सबै परिस्थितिको मूल कारण सरकार नै भएको जिकिर गर्न प्रमुख प्रतिपक्ष एमाले पछि पर्दैन । यद्यपि, व्यवस्था जोगाउने अभियानमा भने प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली एकै ठाउँमा देखिन्छन । संसारमा कही पनि व्यवस्थामा उथलपुथल नभएको इतिहास छैन । नेपालमा पनि धेरै पटक व्यवस्था परिवर्तन भइसकेका छन् ।

अहिले पनि व्यवस्था परिवर्तनको बहस चर्किदै गएको छ । राजनीतिक नेतृत्वले कार्यशैलीकै कारण व्यवस्थाप्रति वितृष्ण बढेको तीतो अनुभवलाई नजरअन्दाज गर्न मिल्दैन । नेतृत्वको कार्यशैलीमा परिवर्तन नआउने हो भने जनताले व्यवस्थाको विकल्प नखोज्लान भन्न सकिँदैन ।