Breaking

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइँदै


काठमाडौं । सूर्योपासनाको महापर्व छठको मुख्य दिन आज जलाशय किनारमा व्रत, पूजा र कीर्तन गरी मनाइँदैछ ।

आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यको उपासना गरी अघ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठमा ब्रत बसी ऊर्जाको अक्षय स्रोत सूर्यको उपासना गर्दा सुख–समृद्धि र मनोकामना पूर्ण हुने जनविश्वास छ। अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने ब्रतालुले कात्तिक शुक्ल चतुर्थी तिथिमा शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरवा अरुवाइन खाने गर्छन् ।

पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन्। त्यसपछि घरको देवीदेवताको पूजामा चढाइएको खीर प्रसादका रुपमा ब्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ। सूर्यलाई अघ्र्य अर्पण गर्ने ब्रतालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र सो प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन्। त्यसपछि सप्तमी तिथिको बिहानसम्म उपवास बस्नुपर्ने हुन्छ।

षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरिन्छ।भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रुपमा छठ पर्व सम्पन्न हुन्छ।