काठमाडौँ — आईसीसी क्रिकेट विश्वकपले यस पटक पनि नयाँ विजेता नपाउने निश्चित भएको छ । भारतमा जारी १३ औं संस्करणको विश्वकप क्रिकेटको फाइनलमा पाँच पटकको विश्व विजेता अष्ट्रेलिया र दुई पटकको विजेता भारतले आफ्नो टिकट पक्का गरेसँगै विश्वकपको ट्रफी फेरि पनि पूर्वविजेताहरूकै नाममा लेखिने तय भएको हो । डेढ महिनासम्म चलेको १० राष्ट्रको रस्साकस्सीपछि आगामी आईतबार क्रिकेटले उही पुरानै टिमलाई विश्वविजेताको रुपमा पाउने भएको छ । सेमिफाइनलमा भारतले गत विश्वकपको उपविजेता न्यूजिल्याण्डलाई ७० रनले हराउँदै उपाधि नजिक पुगेको हो । अष्ट्रेलियाले भने साउथ अफ्रिकालाई तीन विकेटले निराश पार्दै फाइनलको यात्रा तय गरेको हो ।
मंसीर ३ गते हुने आईसीसी एकदिवसीय विश्वकप २०२३ को उपाधि फेरि पनि यिनै दुई पूर्वविश्व विजेता भारत र अष्ट्रेलियामध्ये एकको नाममा हुने निश्चित छ । पाँच पटकको विश्व विजेता अष्ट्रेलियाले आठौं पटक विश्वकपको फाइनल खेल्दै गर्दा दुई पटकको विजेता भारतले तेस्रो पटक आफूलाई विश्वकपको फाइनलमा उभ्याएको हो । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोली यस प्रतियोगितामा अपराजित छ । उसले प्रतियोगितामा खेलेको १० खेल जितेको मात्रै छैन, विपक्षीमाथि पुरै हावी हुँदै आएको छ । उच्च लयमा रहेको भारतीय टोली त्यही आत्मबलका साथ उपाधि भिडन्तमा उत्रने छ ।
बलिङ, व्याटिङ र फिल्डिङमा समेत उत्कृष्ट देखिएको भारतीय खेलाडीको प्रर्दशन नै फाइनलका लागि ठूलो हतिहार बनेको छ । त्यसै गरि सुरुवाती दुई खेल हारेर विश्वकपको यात्रामा पाइला टेकेको अष्ट्रेलियाले बाँकी आठ खेलमा लय समातेको छ । ठूला प्रतियोगिता र दवावमा आफूलाई सम्हाल्न सक्ने खुबी भएको अष्ट्रेलियाको नक आउटमा धेरै खतरनाक हुने बलियो पक्ष रहेको छ । एकदिवसीय विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलिया अहिलेसम्म १३ पटक आमनेसामने भएका छन् । अष्ट्रेलियाले ८ खेलमा जित हात पारेको छ भने ५ खेलमा भारत विजयी भएको छ । जितेका ५ खेलमध्ये टिम भारतले तीन खेलमा पहिले ब्याटिङ गर्दै र दुई खेलमा पहिलो स्कोर पछ्याउँदै जित निकालेको थियो ।
अष्ट्रेलियाको हकमा, उसले ८ मध्ये ७ खेलहरू बोर्डमा रन राखेर जितेको छ र पहिलो पछ्याउँदा एक मात्र जितेको छ । २० वर्षअघि पनि भारत र अष्ट्रेलिया विश्वकपको फाइनलमा भिडेका थिए । २००३ को विश्वकप फाइनलमा भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले लगातार दोस्रो पटक विश्वकप आफ्नो नाममा पार्न सफल भएको थियो । संयोग नै भन्नु पर्छ, यस प्रतियोगितामा कुनै पनि राष्ट्रले हल्लाउन नसकेको भारतलाई घरेलु मैदानमा लाखौ दर्शकको अघि अष्ट्रेलियालाई हराउँदै त्यही पीडा दिएर बदला लिने अवसर पनि मिलेको छ ।
अझ रोचक त के छ भने यी दुईको खेल हेर्न दुवै देशको कार्यकारी प्रमुखहरू स्टेडियममा हुने छन् । अहमदावादस्थित विश्वको सबैभन्दा ठूलो नरेन्द्र मोदी स्टेडियममा १ लाख ३२ हजार दर्शकसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका समकक्षी एन्थनी अल्बनीजका साथै उपप्रधानमन्त्री रिचर्ड माल्र्स साक्षी हुने फाइनल खेलमा २० वर्ष अघि जोहानेसवर्गमा भएको इतिहास दोहोरिन्छ वा फेरिन्छ त्यो हेर्न सबै आतुर बनेका छन् ।
प्रतिक्रिया