Breaking

पतनको बाटोमा माधव नेपाल, ओलीले सिध्याए, प्रचण्डले साथ छोडे, चीनबाट के आयो सन्देश ?


काठमाडौँ — सर्वदलीय बैठकबाट ओली–प्रचण्डको निकटताले माधव नेपाल झस्किएका छन् । जसले गर्दा प्रचण्डलाई नै सर्वेसर्वा ठानेर राजनीतिमा अडिरहेका माधवको छटपटी बढेको छ । साथै, देशमा आइपरेको भूकम्पीय विपद्का कारण राष्ट्रपतिले यूरोप भ्रमण रद्द गर्दा माधवको चीन मोहको स्वार्थ के–का लागि हो भन्ने प्रश्न उब्जिएको छ । नेकपा एमाले फुटदेखि नै केपी शर्मा ओलीलाई एक्ल्याएर कम्युनिष्टहरुलाई एक ठाउँमा उभ्याउने माधवको एकमात्र उद्देश्य सर्वदलीय बैठकबाट तोडिने संकेत गरेको छ । सधैं छटपटीमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सर्वदलीय संयन्त्रबाट प्रचण्ड र ओलीको निकटताले झस्किएका हुन् ।

ओली–प्रचण्ड मिलेको खण्डमा सर्वदलीय सरकार बन्दा आफ्नो पाइरहेको भाग खोसिने डर माधवमा देखिन्छ । जसका कारण हरेक पटक आफूलाई मेलमिलापको सूत्राधार ठान्ने माधव सर्वदलीय बैठकमा ओलीको अनुहार हेर्न नसकेपछि सबैभन्दा पहिले बाहिरिन बाध्य बने । ओली–प्रचण्ड मिलनको आधार तय बन्दै गएको माओवादी नेताहरूले बताइरहँदा प्रचण्डकै पछि लागेर आफ्नो अस्तित्व रक्षा र राजनीतिक भविष्य सुनिश्चित गर्न खोजेका माधवलाई आफ्नै चाल उल्टो पर्ने देखिन्छ ।

आफूले मनै नपराएका ओली सर्वदलीय बैठकबाट राजनीतिक मियो बन्ने छाटकाँट देखिँदा माधव सशंकित बन्दै चीन हानिएका छन् । ओलीको पेलान र खटन खेप्न नसकेर पार्टी फुटाएका माधव फेरि नेपाली कम्युनिष्टहरूलाई एक भएको हेर्न चाहने चीनको शरणमा पुगेका हुन् । स्थापना भएको दुई वर्ष पुग्दा पनि पार्टीको पहिचान र आकार बढाउनेतर्फ भन्दा पनि गठबन्धन दलहरूकै बीचमा माधव रमाइरहेका छन् । संगठन विस्तार र मजबुद बन्नेभन्दा पनि पार्टी रित्तिने अवस्था बन्दै गएको छ ।

एकपछि अर्काे गर्दै समाजवादीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षदेखि स्थानीयस्तरका नेताहरू धमाधम उही पुरानै घर एमालेमा फर्कने क्रम तीव्र छ । वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीसहित ३० केन्द्रीय सदस्य र १३ जना जिल्ला अध्यक्षहरू एमालेमा फर्किसकेका छन् । नेपालको साथ छोडेर एमाले प्रवेश गर्ने जिल्लास्तरीय नेता कार्यकर्ताहरूको लिस्ट पनि लामै छ ।

तर पनि पार्टीको जागरण अभियानका क्रममा तीन लाख ५० हजार जनतासँग सम्पर्क भएको दाबी गर्दै एकीकृत समाजवादीले १० हजारभन्दा बढी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको बताएको छ । माधवले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्दा आफू निकट नेताहरु नै उनीसँग टाढिँदै गएका छन् । पार्टी सरकारमा त छ, तर मन्त्री भएका नै केही गर्न सकिएन भन्दै निरीह बनेका छन् । सत्ता गठबन्धनको आंैलामा माधव नाच्दा पार्टीमै भएकाहरू पनि नेतृत्वसँग सन्तुष्ट छैनन् ।

देशमा आइलागेको विपद्ले राष्ट्रपति रामचन्द्र पौडेलको यूरोप भ्रमण रोकियो । तर यस्तो विषम परिस्थितिमा माधव नेपाल भने चीन उडे । आफूमाथि आईपर्न सक्ने संकटलाई बुझेका उनको चीन मोहलाई अर्थपूर्ण रुपमा बुझ्न सकिन्छ । चिनियाँ कम्युनिष्ट पार्टीबाट केही आश्वासन पाउने आशमा दुखेसो पोख्न त्यसतर्फ लागेका माधवले आगामी भविष्य चीनबाट नै सुनिश्चित गर्न खोजेका त होइनन् भन्ने प्रश्न उठेको छ ।