खेलकुद

भारतले दियो न्युजिल्याण्डलाई बिशाल लक्ष्य


काठमाडौँ — विराट कोहली र श्रेयश अय्यरको शतकमा भारतले एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्डलाई बिशाल लक्ष्य प्रस्तुत गरेको छ । बुधबार वानखडे स्टेडियममा घरेलु टोली भारतले फाइनल प्रवेशका लागि न्युजिल्याण्डलाई ३ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

न्युजिल्याण्डविरुद्ध भारतले उत्कृष्ट ब्याटिङ प्रर्दशन गर्यो । भारतका शीर्ष ब्याट्सम्यानले शानदार रन बनाउँदा मध्यक्रममा दबाब कम भएको थियो । सबैको नजर रहेका विराट कोहलीले वानखडे स्टेडियममा आफुलाई प्रमाणित गरे । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायो ।

कोहलीले कीर्तिमानी ५० औं शतक प्रहार गर्दा श्रेयशले लगातार दोस्रो शतक प्रहार गरे । कोहलीको १ सय १७ रनको इनिङ्समा भारतका लागि श्रेयशले १ सय ५ रन बनाए । ठुलो रनतर्फ अघि बढेका सुभमन गिल ८० रनमा रिटायड हर्ट हुदाँ कप्तान रोहित शर्माले ४७ रन बनाएका थिए ।

केएल राहुलले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए । उनले ५ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् । सुर्यकुमार यादव १ रनमा आउट भएका थिए । न्युजिल्याण्डका टिम साउथीले ३ तथा ट्रेन्ट बोल्टले १ विकेट हात पारेका थिए । विजेता टोली प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ । र उपाधिका लागि अष्ट्रेलिया र साउथ अफ्रिकाबीचको विजेतासँग खेल्नेछ ।